जनमत पार्टीकाे प्रश्न– मतगणनाकाे लाइभ गर्न डर किन ?
काठमाडाैँ । सीके राउत नेतृत्वकाे जनमत पार्टीले उपनिर्वाचनकाे मतगणनाकाे प्रत्यक्ष प्रसारण (लाइभ) गर्नबाट निर्वाचन आयाेग र दलहरू डराएकाे भन्दै असन्तुष्टी जनाएकाे छ ।
पारदर्शिताबाट डर किन ? भन्ने प्रश्न गर्दै पार्टी अध्यक्ष राउतकाे सचिवालयले भनेकाे छ– ‘मतगणना स्थलको लाइभ गरिनु पर्ने हाम्रो मागविपरीत मोबाइल फोनसमेत निषेध गरी मतगणना गर्नुको रहस्य के ? प्रहरी, प्रशासन र निर्वाचन अधिकृतको मिलेमतो हिजो पनि बूथहरूमा देखिएकै हो, मतपत्रबाहिर छयाप्छ्याप्ती भेटिएकै थिए, अब मतपेटिकाको सील पनि तोडिएको छ, अनि गोप्य रूपले गणना गरिँदै छ ।’
धाँधलीकाे कुनै प्रमाण बाहिर नआओस् भनेर लाइभ गर्न डराएकाे हाे भन्ने प्रश्न समेत सचिवालयले गरेकाे छ ।
‘लाइभ त अचेल एउटा मोबाइलबाट पनि जो सुकैले गर्न सक्छन्,’ सिकेकाे सचिवालयले भनेकाे छ, ‘त्यहाँ उल्टा लाइभ गरिनुको साटो मोबाइल पनि निषेध गरियो । किन ? ताकि धाँधलीको कुनै प्रमाण बाहिर नआओस् भनेर ? त्यहाँ भएका मतगणना प्रतिनिधिहरूलाई त हाम्रा बूथ प्रतिनिधिहरूलाई डरत्रास देखाएर जसरी चुप गराइएका थिए, त्यसरी नै गराउने त होला।’