संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पारित ३ दलबीच सहमति
टीआरसीका लागि विशेष समिति गठन गर्ने सहमति
काठमाडौँ । प्रमुख ३ दलका शीर्ष नेताबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट पारित गर्ने सहमति भएको छ । यसबारे छलफल गर्न प्रधानमन्त्री कार्यालय सिंहदबारमा बसेको ३ दलको बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारमा भएको छलफलमा यस्तो सहमति भएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए ।
त्यस्तै, उक्त छलफलमा तीन नेताले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न संसदीय विशेष समितिसमेत गठन गर्ने सहमति गरेका छन् ।
प्रमुख सचेतक गिरीका अनुसार सत्य सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐनको संशोधन विधेयकमाथि छलफल गर्न विशेष समिति गठन गर्ने सहमति गरेको हो । उक्त विधेयक हाल प्रतिनिधिसभामा विचाराधीन अवस्थामा छ ।
सत्ता गठबन्धनले फास्ट ट्रयाकबाट पारित गर्न खोजेको भए पनि एमालेले भने छलफल गरेर मात्रै विधेयक अघि बढाउनु पर्ने अडान लिएको थियो ।