शेखर र गगनपछि प्रदीप पौडेलले गरे अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णयको विरोध

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णयको विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत संसद्लाई समेत जानकारी नगराई कार्यविधि बनाइएको भन्दै विरोध गरेका हुन् ।

यसले सरकारको काम कारबाही अत्यन्तै अपारदर्शी भएको स्पष्ट देखाएको उनको भनाई छ । ‘गत चैत ८ गते प्रधानमन्त्री स्वयंले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय नभएको विषय सार्वजनिक भएको थियो । तर, संसद्लाई समेत जानकारी नगराई भित्र भित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको सुन्न आएको छ । यसले सरकारको काम कारबाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकट को समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रस्ट देखाउँछ,’ उनले भनेका छन् ।

सांसद पौडेलले देशको आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले पनि सरकारको अक्षमताका संकेत देखाउन थालिसकेको बताए । ‘एकातिर, केही सूचकाङ्कमा मौसमी सहजता देखिए पनि आर्थिक संकट सुधार आइनसकेको विज्ञहरूले बताइरहेका छन् । अर्कोतिर, सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सन समेत दिन नसकेको विषय सार्वजनिक भइरहेका छन्,’ अगाडि भनेका छन्, ‘ यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने, र आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका संकेत देखाउन थालिसकेको छ ।’

जनताको आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न उनले सरकारलाई आग्रह गरे । ‘अहिले चुलिँदै गएको आर्थिक संकटलाई तत्काल हल गर्दै दीर्घकालीन समाधान खोज्नका लागि सबै सरोकार निकायसँग व्यापक छलफल र सहकार्य गर्न आवश्यक छ । आम जनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गर्न चाहन्छु,’ नेता पौडेलले भनेका छन् ।

यसअघि नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले अयोग्य लडाकुहरूलाई पैसा दिने सरकारको निर्णयको विरोध गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *