प्रदेश सरकारहरुको नेतृत्व आलोपालो गर्नुपर्छ : माधव नेपाल
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने बताएका छन् ।
शुक्रवार समाजवादी प्रेस संगठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा दलहरूका बीचमा आलोपालो हुने बताएका हुन् । उनले प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेका भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताएका हुन् ।
उनले जनमत नै मिलेर सरकार बनाउने उल्लेख गर्दै पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरूका बीचमा बाँडफाँट हुने बताएका हुन् । कुनै एक दलको बहुमत नरहेकाले सरकार निर्माणमा अन्य पार्टीको भावनालाई पनि ध्यान दिनुपर्ने बताए ।
उनले भने ‘कसै कसैले के भन्छन् भने आलोपालो गर्नु हुँदैन । यो संसारमा कहीँ सम्भव छ ? यो कुरा उठाउने मान्छेले पनि मौका पाएको भए छोड्थ्यो ? अरूलाई बडो उपदेश दिने मान्छेहरू । जब जनताले नै भने कि तपाईँहरू मिलेर गर भनिसकेपछि कुनै एउटा पार्टीको बहुमत नहुँदा खेरी गर्छन् के ? किनकि त्यो पार्टीसँग पनि कार्यकर्ता हुन्छन् । जनमत पनि हुन्छ । त्यसो हुनाले अरू पार्टीको भावनालाई पनि ध्यानमा राख्नुपर्छ । नीतिमा मिल्नुपर्छ । नीति र कार्यक्रम मिल्नुप¥यो । त्यसपछि पार्टीको सन्तुलनलाई पनि ध्यानमा राख्नुप¥यो । त्यस कारण हाम्रो पार्टी प्रदेश सरकारहरूमा सहभागी हुनेछ । कसरी हुन्छ ? कति जना हुन्छ ? भन्ने कुराहरू बसेर छलफल भइसकेपछि टुंगो लाग्नेछ । एउटै पार्टीको बहुमत नभएको हुनाले अरू पार्टीको संख्यात्मक कुरालाई ध्यानमा राखेर अरूले पनि दाबी गर्ने स्थितिमा गठबन्धनका अरू घटकले पनि मौका पाउनेछन् । यसमा को–को सहभागी हुने हुन् अझै स्पष्ट छैन ।’
अध्यक्ष नेपालले समाजवादमा प्रतिबद्ध हुने पार्टीहरूका बीचमा समाजवादी मोर्चा बनाउने तयारी रहेको बताए । उनले नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जसपा एकताबद्ध हुने कुरा पनि भइरहेको बताए । उनले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका अन्य पार्टीहरूसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए ।
उनले भने ‘समाजवाद बाहेक नेपालको विकासको अर्को कुनै सम्भावना छैन । समाजवाद भनेको समानता र सामाजिक न्याय, विकास र समृद्धिको अर्को नाम हो । त्यसमा प्रतिबद्ध भएको पार्टीहरूको बीचमा हामी समाजवादी मोर्चा बनाउने सोच बनाइरहेका छौँ । यसको निम्ति नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलाई एकताबद्ध गर्नुको साथसाथै नेकपा विप्लव समूहसँग पनि कुरा भएको छ । अरू पार्टीहरूसँग पनि हामी कुरा गर्न गइरहेका छौँ । यो समाजवादी मोर्चा बनेको खण्डमा एकातर्फ समाजवादप्रतिको हाम्रो प्रतिविद्धतालाई र राज्यमा सुशासनको प्रत्याभूति गर्ने कुरालाई, जनताको पिर मर्कालाई सम्बोधन गर्ने कुरालाई त्यसले केन्द्रबिन्दुमा राख्नेछ । साझा विषयमा सहकार्य गर्न हामी सबैसँग हातेमालो गर्नेछौँ । विचार, सिद्धान्त, नीति मिलेका पार्टीहरूका बिचमा पार्टी एकताको पहल गर्नेछौँ ।’
उनले एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीहरू सँग विलय भने नहुने स्पष्ट पारे । आफूहरू समानताको सिद्धान्तको आधारमा र वैचारिक एकरूपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उनको भनाई छ ।