गण्डकीमा महिलालाई प्राथमिकता, ३ सदस्यीय क्याविनेटमा २ महिला मन्त्री
पोखरा । गण्डकीको मन्त्रीपरिषद् ७ बाट ८ हुँदै १२ सम्म पुग्यो । तर मन्त्रीहरुमा महिलाको संख्या १ बाट बढेन । अहिले गण्डकीमा ७ मन्त्रालय कायम भएको छ । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आँफुसँगै २ मन्त्री नियुक्त गरे । उनले नियुक्त गरेका दुवैजना महिला छन् ।
कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडा मन्त्री बनेकी छिन् । उनीहरू दुवै जना समानुपातिक सांसद हुन् । ‘संख्या बढाउनका लागि महिलालाई प्राथमिकता दिइएको होइन । महिलाले पनि अवसर पाए काम देखाउन सक्नुहुन्छ,’ उनले भने, ‘हामी त्यो पुष्टि गर्न चाहन्छौँ ।’
पाण्डेले १ साताभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । ‘७ मन्त्रालयबाट बढ्दैन । ७ दिनभित्रै मन्त्रीपरिषद् पूर्ण हुन्छ,’ उनी भन्छन्, ‘बजेट र नीति तथा कार्यक्रम निर्माणमा जुट्नुपर्ने छ । धेरै ढिलो गरे सरकारको कार्यसूची बिथोलिन्छ ।’
शुक्रबार शपथ लिएका दुवै जना मन्त्रीको कार्य विभाजन भएको छैन । माओवादीसँग मन्त्रालयको बाँडफाँट नमिलेका कारण मन्त्रीहरूलाई जिम्मेवारी नदिइएको हो । स्रोतका अनुसार माओवादीले भौतिक सहित ३ मन्त्रालयमा दाबी गरेको छ । तर कांग्रेसले २ मन्त्रालय भन्दा बढी दिन नसकिने जवाफ फर्काएको छ ।