प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कुकुरको बिगबिगी

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ । फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या वर्षौंदेखिको हो ।

कुकुरका कारण विशिष्ट व्यक्तिको आगमनमा समस्या हुनुका साथै सवारीसाधनलाई लखेट्ने, सडकपेटीमै सुत्ने, जथाभाबी दिसा-पिसाब गरेर फोहोर गर्ने, सिंहदरबारभित्र फोहोर सङ्कलन तथा सरसफाइ गर्नेलाई टोक्न खोज्नेजस्ता समस्या देखिए पनि त्यसको व्यवस्थापनका लागि कुनै पनि निकाय जिम्मेवार र तत्पर देखिएका छैनन् । कुकुरले कतिपय मन्त्रालयका भर्याङमा दिसा गर्ने गरेका छन् ।

सिंहदरबारभित्र रहेका कुकुरको यकिन तथ्याङ्क छैन । कुकुरलाई कुनै सङ्केत चिह्न नलगाइएकाले सङ्ख्या यकिन गर्न सकिँदैन । सिंहदरबारभित्र रहेका कुकुरको खानपान, औषधोपचारलगायतको व्यवस्थापन गर्ने गरिएको छैन । सिंहदरबारभित्रका चमेनागृह तथा खाजाघरका उब्रिएका र फालिएका खानेकुरा कुकुरका आहारा हुन् ।

सिंहदरबारको पूर्वाधार निर्माण तथा व्यवस्थापनको जिम्मा पाएका सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार शाहले सिंहदरबारभित्रका कुकुरको व्यवस्थापनसम्बन्धी सचिवालयमा कुनै बजेट तथा कार्यक्रम नरहेको बताए । उनले करिब २५० वटा कुकुर रहेको अनुमान गरिएको बताए । उनका अनुसार बेला-बेलामा सिंहदरबारभित्रका कुकुरको बन्ध्याकरण तथा रेबिजको खोप लगाइए पनि भित्र-बाहिर आउजाउ गर्ने गरेकाले तिनीहरूको पहिचान गर्न सकिएको छैन ।

सिंहदरबारसहित महानगरपालिकाभरिका कुकुर व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९-८० मा ५० लाख रुपियाँ विनियोजन गरे पनि कुकुरको ‘फिडिङ जोन’ निर्धारण गरिएको देखिँदैन । काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार सधैँ बाहिर-भित्र गरिरहेकाले सिंहदरबारभित्रका कुकुरको सङ्ख्या यकिन गर्न सक्ने अवस्था छैन । –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *