बाचेनन् आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका गोविन्द
काठमाडौं । आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका वृद्धको उपचारका क्रममा विराटनगरको रेड प्लेस अस्पताल एन्ड ट्रमा सेन्टरमा मृत्यु भएको छ । विराटनगर महानगरपालिका-४ तित्रिगाछीमा पेट्रोल खन्याएर शरीरमा आगो लगाएका मोरङको लेटाङ नगरपालिका-७ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालले मृत्यु भएको हो ।
शरीरका अधिकांश भाग जलेका वृद्धको शुक्रबार बिहानका राति २:२५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार बिहीबार बिहान १०:४० बजेतिर ग्यालेनमा पेट्रोल लिएर आएका वृद्धले आफ्नै शरीरमा खन्याएर आगो लगाएका थिए ।
पानी हालेर आगो निभाउँदै उद्धार गरेर उनलाई उपचारका लागि स्थानीयले अस्पताल पुर्याए। आगोले वृद्धको शरीरका अधिकांश भाग, लगाएको कपडा र जुत्ता डढेको थियो । साथमा बोकेको झोलामा फेला परेको नागरिकताका आधारमा उनको पहिचान खुलेको हो । उनको शव पोस्टमार्टमपछि अन्त्येष्टिका लागि शुक्रबार परिवारका सदस्यको जिम्मा लगाएको छ । विराटनगरको कोसी अस्पतालमा शवको पोस्टमार्टम गरिएको हो ।