नेकपा एसले ९ महिनामा जोड्यो ७ करोडभन्दा बढीको सम्पत्ति

काठमाडौँ । राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने घाटामा चलेको छ ।

नेकपा (एमाले)बाट विभाजित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले नौ महिनामा नै सात करोड रुपियाँभन्दा बढीको सम्पत्ति जोडेको छ । नेकपा (माओवादी केन्द्र) प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा दोस्रो ठूलो दल बने पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । निर्वाचन आयोगमा बुझाइएको आय–व्ययको विवरणअनुसार सो दलको मौज्दात करिब १३ करोड छ । कुल आम्दानी भने करिब ४१ करोड छ ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ८३ वटा राजनीतिक दलले आय–व्ययको लेखापरीक्षण विवरण समयभित्रै बुझाएका छन् । आयोगमा कुल ११६ दल दर्ता छन् ।

नेकपा (एमाले)को असार मसान्तसम्म ४१ करोड ७२ लाख २० हजार ३१७ रुपियाँ आम्दानी रहेकोमा १५ करोड ७० लाख ७६ हजार ९८३ रुपियाँ खर्च छ । कुल आम्दानीमा चल/अचल सम्पत्तिसमेत गरेर ४१ करोड हुन सक्ने आयोग स्रोतले बतायो । प्रतिनिधि सभामा नेकपा (एमाले)ले ७८ सिट जितेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस भने घाटामा रहेको आय–व्ययको विवरणमा जनाइएको छ । प्रतिनिधि सभामा उसको सिट सङ्ख्या ८९ छ ।

आर्थिक वर्ष २०७८/७९ सम्म सो दलले १४ करोड ८९ लाख ९४ हजार ८७ रुपियाँ आम्दानी गरेको छ । तर सो दलको खर्च भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपियाँ छ । आयोगमा बुझाइएको विवरणबमोजिम नेपाली कांग्रेसको तीन करोड ८४ हजार १३५ रुपियाँ दायित्व छ ।

संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) छ तर आयोगमा बुझाइएको विवरणबमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने दोस्रो धनी दल हो । प्रतिनिधि सभामा १४ सिट जितेको सो दलको मौज्दात करिब तीन करोड २१ लाख छ ।

सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)को आय र व्ययको विवरण दुईथरीको पाइएको छ । उक्त दलको आम्दानी नौ करोड ८६ हजार ६४ रुपियाँ छ भने सात करोड ४२ लाख ६४ हजार ४३ रुपियाँ खर्च छ । यसरी सो दलको करिब एक करोड ५८ लाख मौज्दात छ । अर्कोथरीको विवरणबमोजिम ३२ लाख २१ हजार ९७१ रुपियाँ बचत छ ।

नाम उल्लेख नगर्न अनुरोध गर्दै आयोगका एक अधिकारीले दुईथरी विवरण रहेको जानकारी दिए । माओवादी केन्द्रको ३२ सिट छ । २०७८ भदौ १ गते नेकपा (एमाले)बाट विभाजित भएको नेकपा (एकीकृत समाजवादी) भने एक वर्ष नपुग्दै एक करोडभन्दा बढी बचत गरेको छ । आयोगमा सो दलले बुझाएको विवरणअनुसार उसको बचत एक करोड १० लाख ६० हजार ८४८ रुपियाँ छ । छोटो अवधिमै नेकपा (एकीकृत समाजवादी)ले करिब सात करोड रुपियाँभन्दा बढी सम्पत्ति जोडेको छ ।

सङ्घीय संसद्मा प्रतिनिधित्व गरेको र मधेश प्रदेशमा लगातार दोस्रो कार्यकालका लागि नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालको बचत भने अन्य दलको अपेक्षा थोरै देखिएको छ । आयोगमा बुझाएको विवरणमा सो दलको बचत ११ लाख १८ हजार ८६२ रुपियाँ छ । दल दर्ता गरेर छोटो अवधिमै निर्वाचनमा स्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको बचत भने थोरै छ । राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ असार ७ गते निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको थियो । गत असार मसान्तसम्म एक महिनाको आय–व्ययको विवरणमा उसले चार लाख नौ हजार ७६० रुपियाँ आम्दानी देखाएको छ । प्रतिनिधि सभामा सो दलका २१ जना सांसद छन् । जनमत पार्टीले भने एक लाख ९० हजार आम्दानी जनाउँदा ११ लाख ५० हजार खर्च देखाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले राजनीतिक दलले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट गराई एक महिनाभित्र आयोगमा पेस गर्नुपर्ने व्यवस्था छ । –गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *