विराटनगरका १७ जना कर्मचारीले राजीनामा दिएपछि उपमेयर पुगिन् मुख्यमन्त्री भेट्न

विराटनगर । प्रदेश सरकारले हालै ल्याएको स्थानीय सेवा गठन, सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशप्रति विराटनगर महानगरले असन्तुष्टि व्यक्त गरेको छ । केही दिन अघि मात्र विराटनगर महानगरपालिकाका १७ जना कर्मचारीले राजीनामा दिइसकेका छन् ।

विराटनगर महानगरपालिकाका कार्यवाहक मेयर शिल्पा कार्कीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटेर अध्यादेश प्रति असन्तुष्टि जनाएकी हुन् ।

महानगरपालिकाका कर्मचारीहरू सहित गएको टोलीले अध्यादेशले कर्मचारी तन्त्रमा खैलाबैला ल्याएको बारेमा मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएकी हुन् । ‘सरकारले ल्याएको अध्यादेशका कारण कर्मचारीहरूले धमाधम राजीनामा दिइरहेका छ’ उनले मुख्यमन्त्री कार्कीलाई भनिन्, ‘सरकारको नीतिका कारण महानगरको कार्यसम्पादनमा समस्या सिर्जना भएको छ।’

कार्यवाहक मेयर कार्कीले स्थानीय सरकारसित छलफल र परामर्श नगरी ल्याएको अध्यादेश संशोधन हुनुपर्ने बताएको उनकै स्वकीय सचिव निश्चल मायालु न्यौपानेले जानकारी दिए ।

विराटनगर महानगरमा प्रदेश सरकारले ल्याएको अध्यादेश पछि १७ जना कर्मचारीले राजीनामा दिइसकेका छन् । यसरी राजीनामा दिने कर्मचारीहरूमा डिल्लीप्रसाद धिमाल, अधिकृत सातौँ, मुकुन्दचन्द्र उपाध्याय अधिकृत सातौँ, इन्जिनियर भरत र घनश्याम काफ्ले छन् ।

त्यस्तै अधिकृत छैटौँ तहका लक्ष्मी धिमाल, सहायक पाँचौँ तहका दिनकर मण्डल, सहायक चौथो तहका विश्वराज कट्टेल र सोमानन्द कार्की रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । नगर प्रहरी तर्फ असई रेवत दुलाल, भारी सवारी चालक कृष्णप्रसाद दाहाल छन् ।

अन्य नगर प्रहरीहरूमा असोक कामत, चिरञ्जीवी नेपाल, यज्ञ भण्डारी , रिता रोक्का, सालिकग्राम कोइराला र अरुण यादवले शुक्रबार बुझाएको राजीनामा स्वीकृत भएको छ । सबैभन्दा कम समयमा राजीनामा दिनेमा घनश्याम काफ्ले ९ वर्षदेखि इन्जिनियरको रूपमा कार्यरत रहेका थिए ।

सबैभन्दा बढी स्थानीय तहमा काम गर्ने डिल्ली धिमाल हुन् । अध्यादेशका कारण सेवासुबिधा कटौती हुने भएपछि अहिलेसम्म काम गरेको सेवाको उपदान प्राप्त गर्नकोलागि राजीनामा दिनेहरू धेरै रहेको विराटनगर महानगरपालिका कर्मचारी प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।

अध्यादेशका कारण सेवा सुविधामा समस्या भएको भन्दै अरू कर्मचारी समेत राजीनामा दिने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *