टोपबहादुरलाई पक्रन प्रहरी ‘हाइ अलर्ट’मा, सन्दीपलाई अदालत पेश गरिँदै
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा बुटवलबाट पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिने भएको छ ।
रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।
पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्नका लागि ‘हाइ अलर्ट’ रहेको पनि जनाइएको छ । रायमाझी बुधबार अर्घाखाँचीमा आयोजित एउटा कार्यक्रममा सहभागी भएयता मोबाइल अफ गरेर सम्पर्कविहीन रहेका छन् । उनी छोरा सन्दीप पक्राउ परेपछि मोबाइल अफ गरेर ‘फरार’ भएको जनाइएको छ ।
यसअघि प्रहरीले उनीहरू बाबुछोराका साथै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी लिइसकेको छ । पूर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।