नक्कली भुटानी शरणार्थी प्रकरण : सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गर्ने प्रकरणमा मुछिएका सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । अब उक्त प्रहरीमा उनलाई ३ दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्ने छ ।
बुधबार बेलुकी रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौँ ल्याएर अनुसधानका लागि म्याद लिन प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो । उनलाई बिहीबार बिहान भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको थियो ।
सन्दीप नेकपा एमालेका सचिव एवं अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य ९सांसद० टोपबहादुर रायमाझीका छोरा हुन् । बुधबार उनलाई भैरहवाको प्रहरी हिरासतमा राखिएको थियो ।
जिल्ला अदालतले बुधबार सन्दीप र उनका बुबा टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, टोपबहादुर भने हालसम्म पक्राउ परेका छैनन् ।
नक्कली शरणार्थी बनाउने कार्यमा संलग्ना दिखएको भन्दै प्रहरीले बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ । राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
त्यस्तै उक्त प्रकरणमा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् ।उनीहरुकै बयानका आधारमा प्रहरीले यो प्रकरणमा मुछिएका अन्यलाई पनि पक्राउ गरिरहेको हो ।