उद्योगीका समस्या समाधान गर्ने कार्यक्रम बजेटमा ल्याइँदै छ : मन्त्री रिजाल

चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् ।

आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताएका हुन् ।

उनले भने ‘उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था होइन । अहिलेको समस्या समाधान हुन्छ ।’ उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको उनले बताए ।

कानुनले समाधान गर्ने विषय कानुनबाट समाधान हुने बताउँदै उनले भने ‘उद्योगधन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस् भन्नका लागि सरकारले सोचेको छ ।’ सरकारले उद्योगीको हितमा काम गर्ने उनले बताए ।

आर्थिक तरलताका कारण समस्या देखिएको बताउँदै उनले यो तरलता कोभिड–१९ सङ्क्रमण, युक्रेन र रसियाको युद्धका कारण बढी भएको बताए । उद्योगीहरूको समस्या समाधानका लागि राष्ट्र बैंकका गभर्नरसँग छलफल भइरहेको बताउँदै उनले बैंकको ब्याज घटाउन सरकार लागिपरेको बताए ।

यस्तै सस्तोमा व्यवसायीलाई जग्गा उपलब्ध गराएर उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले कार्यक्रम ल्याउन लागेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *