चुकुल लगाएर लुकेका खाँणलाई ढाेका फाेरेर घरभित्रबाट निकालेको थियो प्रहरीले

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाका काम तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणकै निर्देशनमा गरेको बयान तत्कालित गृहसचिव टेकनारायण पाण्डेले दिएपछि प्रहरीले बुधबार खाँडलाई पक्राउ गर्यो । तर, खाँण पनि सहजै प्रहरीलाई यो प्रकरणमा सघाउन तयार देखिएनन् ।

बुधबार उनलाई पक्राउ गर्न खाँण निवास चावहिलस्थित मैजुबहाल प्रहरी पुगेको थाहा पाएपछि निवासमै रहेका खाँण ढोका थुनेर लुकेका थिए । तर, प्रहरी जबरजस्ती उनको घरभित्र प्रवेश गरेर उनलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई घरभित्र छिरेर बोलाएपछि एकैछिनमा आउँछु भन्दै उनले भित्र पसेर ढोकाको चुकुल लगाएर बसे । प्रहरीले बोलाउन छोडेन । उनले प्रहरीसँग नजाने अडान लिए । पछि प्रहरीले ढोका फोरेर नै उनलाई भेटे । त्यसपछि पनि जाऊँ भन्ने अनुरोध नमानेपछि प्रहरीले उनलाई बल प्रयोग गरेर नै घरबाट निकालेर गाडीमा हाल्यो र जिल्ला प्रहरी परिसर टेकु लग्यो । उनीसँगै उनका निजी सहयोग नरेन्द्र केसीलाई पनि पक्राउ गरेर लगेको छ ।

२० वैशाखमा पक्राउ परेका पाण्डेले खाँणकै निर्देशनमा उक्त कार्य गरेको बयान दिएपछि खाँणलाई पक्राउ गर्न प्रहरी बाध्य भएको हो ।

त्यसो त यही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको छ । उनको सातदोबाटोस्थित घरमा पनि प्रहरीले छापा मारेको थियो । तर, उनलाई फेला पार्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *