जातीय मुक्ति समाज पर्वतको जिल्ला सम्मेलनद्वारा चन्द्र विकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौँ । नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्माले नेपाल राज्य निर्माणका लागि इतिहासमा भएका सबैजसो आन्दोलनमा दलित तथा उत्पीडित समुदायका नेपालीहरूले महत्त्वपूर्ण योगदान गरेको बताएका छन् । नेपाल जातीय मुक्ति समाज पर्वतको छैटौँ जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले राज्य एकीकरण, प्रजातान्त्रिक आन्दोलन, गणतन्त्र र लोकतन्त्रजस्ता हरेक परिवर्तनका लागि भएका आन्दोलनमा दलित, उत्पीडित समुदायका व्यक्तिको सक्रिय सहभागिता रहेको बताए । व्यवस्था परिवर्तनका लागि दलित तथा उत्पीडित समुदायले योगदान गरेको भए पनि अझै दलित तथा उत्पीडितको अवस्था भने परिवर्तन हुन नसकेको उनले बताए । त्यही अवस्था परिवर्तन गर्न र मुक्तिका लागि मुक्ति आन्दोलन आफूहरूले अघि बढाइरहेको उनले बताए ।
‘हामीले आज भोग्नु परेको विभेद र उत्पीडन हाम्रा भोलिका पुस्ताले भोग्नु नपरोस्,’ उनले भने, ‘त्यो अवस्था हामीले परिवर्तन गर्नुपर्छ ।’ समाजमा स्वरूप परिवर्तन भएर दलितहरूमाथिको विभेद कायम नै रहेकोले यस्तो विभेद हटाउन मुक्ति आन्दोलनलाई सशक्त बनाएर लानुपर्ने उनले बताए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी पर्वतका अध्यक्ष राजु पौडेलले जातीय विभेदविरुद्ध संगठित रूपमा आवाज उठाउने र हिजो दलीय व्यवस्था नहुँदा (पञ्चायत काल)मा पनि दलित तथा उत्पीडित समुदायलाई सङ्गठित गर्ने कार्य कम्युनिस्ट आन्दोलन खास गरी त्यतिबेलाको मालेले गरेको बताए । ‘अब कुनै पनि पार्टीले दलितलाई मुक्ति दिन सक्दैनन्, त्यो गर्ने काम एमालेको हो, एमालेले मात्रै सक्छ,’ उनले भने, ‘मुक्ति आन्दोलनलाई अझ सशक्त बनाएर लानुको विकल्प छैन ।’
नेकपा एमालेका नेता कार्यकर्ताले दलित समुदायलाई विभेद गरेको देखे पार्टीभित्रै विरोध र विद्रोह गर्नुपर्ने उनले बताए । गाउँगाउँमा मुक्ति आन्दोलन चलाउनु पर्ने उनले बताए ।
उपाध्यक्ष पदमपाणि शर्माले नेपालमा दलित, उत्पीडित र श्रमिक, मजदुरको पक्षमा सबैभन्दा बढी आवाज उठाउन पार्टी नेकपा एमाले भएको बताए । सामाजिक जागरणको कुरा गरिरहेको एमालेले मानव–मानवबिचको विभेद हटाउन मुक्ति समाजमार्फत आन्दोलन अघि बढाइरहेको बताए । जातका आधारमा छुवाछुत आज कानुनी हिसाबमा नरहेको भन्दै उनले व्यवहारमा देखिएको विभेदलाई पनि मुक्त समाजले आन्दोलनमार्फत परास्त गर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी पर्वतका सचिव गोविन्द पहाडीले संसारभरि जुन जाती, देश वा परिवारमा जन्मिए पनि त्यो व्यक्तिले अधिकार ५ किसिमका अधिकार अनिवार्य रूपमा पाउनु पर्ने बताए ।
‘जुनसुकै जात, परिवार वा देशमा जन्मेको मान्छे होस् उनले ५ वटा अधिकार पाउनुपर्छ,’ उनले भने, ‘राजनीतिक, नागरिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार पाउनुपर्छ । अहिले हामीले कुन अधिकारी प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने छ । त्यता केन्द्रित हुनुपर्छ ।’
उनले संविधानमार्फत जातका आधारमा गरिने विभेद अन्त्यका लागि कानुन बनिसकेकोले विभेद अन्त्यका लागि नीति निर्माणको काम भइसकेको उनले बताए । अब मानसिकता परिवर्तनका लागि मुक्ति समाजले आफ्नो आन्दोलन केन्द्रित गर्नुपर्ने उनले बताए ।
त्यस्तै, कार्यक्रममा एमाले गण्डकी प्रदेश सदस्य हिरादेवी शर्माले दलित तथा उत्पीडित समुदायका व्यावसायिक सीप र ज्ञानलाई प्रविधिसँग जोडेर आर्थिक उत्पादन र मुलुककै समृद्धिमा योगदान गर्ने सक्ने बनाउनु पर्ने बताइन् । उनले हरेक राजनीतिक आन्दोलनमा दलित तथा उत्पीडित समुदायका आम नागरिकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।
मुक्ति समाज केन्द्रीय कमिटीका सचिव धनबहादुर नेपालीले पर्वत जिल्लाले जातीय मुक्ति आन्दोलनको नेतृत्व गर्ने थुप्रै नेतालाई जन्माउन सफल भएको बताए । ‘मुक्ति आन्दोलनका केन्द्रीय अध्यक्ष कमरेड मनोहर यही जिल्लाले जन्माएको हो,’ उनले भने, ‘अहिले उहाँले पूरै देशको मुक्ति आन्दोलनलाई नेतृत्व गरिरहनु भएको छ ।’
उनले नेपालमा राजनीतिक व्यवस्था दबिलिएपछि जातीय छुवाछुतको अवस्था बदल्न नसकेको भन्दै त्यसका लागि थप आन्दोलनको आवश्यकता रहेको बताए । त्यस्तै, नेकपा एमालेले केही समयअघि सञ्चालन गरेको ग्रास रुट अभियान वास्तवमै उत्पीडित र आधारभूत तहमा जान नसकेको समीक्षा भइरहेको बताए । त्यसो हुँदा पार्टीले आफ्ना कामलाई आधारभूत तहसँग जोडेर अघि बढाउनु पर्ने बताए ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य मेघनाथ सुवेदीले जातीय छुवाछुत जस्तो कुसंस्कारलाई जरैदेखि उखेल्न नेकपा एमालेले नै अभियान चलाइरहेको बताए । जन्मले मानव समान भएपछि हिजोका शासक वर्गले मानिस–मानिसबिच विभेद सिर्जना गरेको बताए । जातीय मुक्ति आन्दोलनमा लागेका सहकर्मी नेताहरू थाक्ने छुट नभएको उनले बताए ।
सम्मेलनले चन्द्र विकको अध्यक्षतामा मुक्ति समाज पर्वतकाे ३५ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ । नवगिठत कमिटीकाे उपाध्यक्षमा निर्मल नेपाली र देवेन्द्र नेपाली चयन भएका छन् । त्यस्तै, सचिवमा भीमसेन बराइली, उपसचिवमा कुलबहादुर हिताङ र सृजना बराइली चयन भएका छन् भने काेषाध्यक्षमा धनसुवा विक चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष विकले आफ्नो कार्यकालमा मुक्ति आन्दोलनलाई सबैको साथ र सहयोगमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्षहरूलाइ सम्मान समेत गरिएकाे थियाे । कार्यक्रमकाे अध्यक्षता संयोजक कविता विश्वकर्माले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव चन्द्र विकले गरेका थिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *