एमालेले छोराछोरी अभियान चलाउने
नेकपा एमालेले छोराछोरी अभियान चलाउने भएको छ।
बिहीबारदेखि सुरू भएको केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ। उक्त बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष सुनाए पछि छुट्टै अभियान थाल्ने निर्णय बैठकले गरेको हो।
कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए।
त्यसैलाई लक्षित गरेर एमालेले छोराछोरी अभियान सुरू गर्ने निर्णय लिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
‘पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको हो,’ उनले भने।
यो अभियानअन्तर्गत पार्टीका नेता, कार्यकर्ता र सदस्यका छोराछोरीलाई पार्टीमा जोड्ने, त्यसका लागि राजनीतिक, वैचारिक प्रशिक्षण चलाइने रिजालले जानकारी दिए।