सेवाग्राही ठग्ने लेखापढी पक्रँदै सुनसरी प्रशासन, अधिकांश सटर बन्द
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ ।
ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असलुको रकम फिर्ता गराउन थालको हो । सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कारबाही सुरु गरेको हो । प्रशासनले पक्राउ परेकाबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताए । उनले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजार सम्म रकम लिएको पाइएको बताए । सो रकम समेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको बताए ।
उनले भने, ‘ठगिएको गुनासा बढ्न थाले । छानबिनको क्रममा पुष्टि भएसँगै ठगी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ । कोही धरौटीमा छुटेका छन् । कसैको मुद्दा चल्ने क्रममा छ र केही खोजीको क्रममा छन् ।’
यसैबिच सुनसरी प्रशासनले लेखापढी व्यवसायीको आचरण र व्यवहारको आधारमा निगरानी बढाइएको समेत जनाएको छ । उसले दर्ता बेगर सञ्चालनमा रहेका पसल तथा फर्म बन्द गरिएको बताएको छ ।