संसदमा आरजुको आक्रोश– मेरो चरित्रमाथि बलात्कार भयो
काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी कांग्रेस नेतृ तथा समानुपातिक सांसद आरजु राणाले आफ्नो नाममा ‘फेक अडिओ’ बनाएको भन्दै संसदमा आक्रोश व्यक्त गरेकी छन् ।
उनले आफ्नोबारेमा ‘फेक अडिओ’ मात्रै नभई ‘सिंगापुर भागेको’ भनेर भ्रमपूर्ण समाचार समेत केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले भाइरल बनाएको भन्दै त्यसको छानविन गर्न उनले माग गरेकी छन् ।
‘फेक न्युज’को अहिले निकै ठूलो समस्या रहेछ,’ उनले भनिन्, ‘फेक अडिओ बनाउनेलाई र फेक न्युज लेख्नेलाई कारावही गर्न मैले उजुरी दिँदा प्रहरीले उजुरी समेत दिन आनाकानी गर्यो । उजुरी दर्ता भएको ५ दिनसम्म पनि त्यसबारेको कारबाही कहाँ पुग्यो केही खुलाइएको छैन ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो मात्रै नाम भाइरल गरिएको तर उक्त प्रकरणमा अरुको पनि नाम भएकोमा उनीहरुबारे किन केही न्युज नआएको भनेर समेत उनले प्रश्न गरेकी छन् ।
उनले फेक न्युज बनाएर आफ्नो चरित्रमाथि बलात्कार गरिएको समेत बताइन् । उनले भनिन्– ‘मेरो क्यारेक्टरमाथि रेप भएको छ । दिस इज ए रेप अन माई क्यारेक्टर ।’
नक्कली भुटानी शरणार्थी बनाएर मानव बेचविखन गर्नु अपराध भएको भन्दै उनले उक्त प्रकरणमा दोषीलाई छानविन गर्न माग गरिन् ।