पूर्व राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीले गरे मदन भण्डारीको सालिकमा माल्यार्पण
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन् । मदन भण्डारी-जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्व राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन् ।
मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी पूर्व राष्ट्रपति भण्डारीले स्मृति दिवसका अवसरमा तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षारोपण गरिन् । पूर्व राष्ट्रपति भण्डारीले महादेवस्थान नजिक रहेको मदन भण्डारी स्मृति सामुदायिक पुस्तकालयको समेत अवलोकन गरेकी थिइन् ।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले मदननगर बल्खुमा आयोजित मदन-आश्रित स्मृति कार्यक्रममा भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटना परी तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको निधन भएको थियो ।