कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलको बैठक आज
विराटनगर । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम ल्याउने बारेमा छलफल गर्न बैठक बस्न लागेको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।
कोशी प्रदेश सभाको बैठक प्रदेशको नामकरण गरेर स्थगित भएको थियो । नामकरणपछि स्थगित भएको प्रदेशसभाको बैठक बोलाउने बारेमा पनि नेपाली कांग्रेस भित्र दलको धारणा स्पष्ट पार्नको लागि बैठक बोलाउन लागिएको बताइएको छ । प्रदेशको नामकरणपछि भइरहेका आन्दोलन, प्रदेश सभाको बैठक बोलाउनेबारे तथा प्रदेश सरकारले ल्याउने बजेट नीति तथा कार्यक्रमका विषयमा छलफल हुने जनाइएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बैठक एजेन्डा केन्द्रित भन्दा पनि समसामयिक विषयमा छलफल गर्न बोलाइएको बताए । यसअघि नेपाली कांग्रेस संसदीय दलको बैठक काठमाडौँमा बोलाइएको थियो । बैठकले अहिले भइरहेको सरकार ढालेर नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउने बारेमा अन्तिम प्रयास गर्ने निर्णय भएको बताइएको थियो ।
बिहीबार बस्ने भनिएको बैठकमा पनि सरकारको बारेमा छलफल हुने बुझिएको छ । नेपाली काँग्रेस बजेट नीति तथा कार्यक्रम ल्याउन भन्दा पहिला नै कोशी प्रदेशको सरकार ढाल्ने कसरतमा देखिएको छ ।