‘आगो बाल्ने’ अभिव्यक्तिले विवादित एलिजा
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतम विवादित बनेकी छन् । ४ महिनाअघि पार्टीमा आएकी अभिनेत्री तथा मोडल गौतम रेशम चौधरीको विषयमा दिएको अभिव्यक्ति विवादित बनेकी हुन् ।
सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी चौधरीलाई जन्मकैदको फैसला यथावत् राखेपछि नागरिक उन्मुक्ति पार्टीले मंगलबार साँझ आयोजना विरोध प्रदर्शनका क्रममा उनले ‘रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बल्ने’ बताएकी थिइन् । उनको अभिव्यक्ति राजनीतिक अज्ञानताको पराकाष्ठा भएको कतिपयको टिप्पणी छ । कतिपयले भने एलिजाको अभिव्यक्ति अदालतको मानहानि भएको भन्दै आलोचना गरेका छन् ।
राजनीतिज्ञ भइसकेपछि उनले विधिको शासनलाई मान्नुपर्छ भन्ने हेक्का राख्नुपर्छ भन्ने अधिकांशको सुझाव छ । सर्वोच्चको फैसलाबारे स्वयं रेशम चौधरीले भने फैसला स्वीकार गरेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै उनले सर्वोच्चको फैसला शीरोपर गर्ने बताएका हुन् ।