कान्स फिल्म फेस्टिभल २०२३ विशेष

कान्समा बच्चा जस्तो भएर फिल्म हेरिरहेको छु : निर्देशक सामतेन भुटिया (अन्तर्वार्ता)

मैले म्यासेज गर्दा सामतेन भुटिया कान्स फिल्म फेस्टिभलको मुख्य हलमा भर्खरै पुगेका थिए । उनले म्यासेज हेरे र हलभित्र भएको फोटो पठाउँदै भने, ‘फिल्म सकिएपछि भन्छु ल ।’

हलको पर्दा खुल्ला नै थियो । त्यसमा बाहिरका अनेक क्रियाकलाप लाइभ देखाइरहेको थियो । मान्छे भरिँदै थिए । जसै भरिइसके, छोटो एउटा अनाउसमेन्टले फिल्म सुरु हुन लागेको जानकारी दियो । पर्दा लाग्यो । पुनः खुल्दा ‘एनस्लेम’ डकुमेन्ट्रीले पनि घुम्टो खोल्यो । दर्शकदीर्घाबाट ताली परररर बज्यो, उनले पनि बजाए । ‘निर्देशक विम वेन्डर्सलाई त्यति बेला कस्तो भयो होला ?’ कल्पना गरे । ताली बिसिएसँगै फिल्म सुरु भयो ।

त्यसरी सुरु भएको माहौलमा किशोरदेखि बुढासम्म सबै सम्मिलित दर्शकले एउटा भव्य आर्ट डकुमेन्ट्री हेर्‍यो । सबैको मनमा त्यो बेला एकैपल्ट एउटै कलाले राज गर्‍यो । उनलाई लाग्यो त्यो कलाको गहिराइलाई सबैले एउटै माहौलमा उस्तै तरिकाले बुझिरहेका छन् ।

डकुमेन्ट्री सकियो । लगभग पाँच मिनेटसम्म सबै जना उभिएर ताली बजाइरहे । उनले पनि बजाए । बाहिर निस्किए । ‘अब बोल्न मिल्छ’ भनेर मलाई म्यासेज गरे । फेरी हराए । एकछिनमा लेखे, ‘एकछिन अरू ल, यहाँ छोटो अन्तर्वार्ता दिनुपर्ने भयो ।’

त्यसपछि बोल्न खोज्दा उनको वाइफाइले काम गरेन । उनी केही बेर हराए अनि अनलाइन आए । कान्स फिल्म फेस्टिभल हुने भेन्युबाट पाँच मिनेट पर उनलाई राखिएको होटलमा पुगेछन् । त्यहाँको वाइफाइले काम गरेछ । हामीले गफ सुरु गर्‍यौँ । उनले आफ्नो कथा सुरुबाट सुनाउन थाले । मैले सोध्नुपर्ने प्रश्नलाई पर्खिन लगाएँ ।

प्रश्न सोध्न किन हतार गरूँ । के थाहा मैले सोध्ने प्रश्नको जवाफ उनले पहिला नै दिइहाल्छन् कि ?

+++++

सन् १९९५ ताका उनी सिक्किममा रक क्लाइम्बर र जिम्न्यास्ट थिए । केही नाटकहरूमा काम पनि गरेका थिए । त्यसबेलै भारतको प्रतिष्ठित नाट्य संस्था एनएसडीले सिक्किममा एक महिनाको क्यास कोर्स गरायो । उनी र केही साथीहरू छानिए ।

एक जना साथी ‘दारु’ पिउँदा रहेछन् । पहिलो रात नै ट्वाइलेटमा बसेर पिउँदै रहेछन् । हतारमा दौडिएर पिसाब गर्न ट्वाइलेट छिर्दा उनले दारु पिइरहेका  साथिलाई रंगेहात भेटे । तर साथी कडा निस्किए । कतै नहड्बडाइ उनलाई उल्टै प्रस्ताव गर्दै भने ‘पिउनु हुन्छ ?’

दुई भाइ मिलेर रक्सी पिए । रक्सिले ढिलो उठायो । चार बजेको कक्षामा जानुपर्ने साढे सात बजेसम्म सुते ।

कन्हैयालाल नामका सर पढाउन आएका थिए । उनीहरू कक्षाको अगाडि पुगेर ढोका ढकढक्याए । पन्ध्र मिनेट जतिमा बल्ल सरले ढोका खोले । गाली गरेनन् । सिटमा बस्न जाँदै गरेका उनीहरूलाई रोकेर भने, ‘तिमीहरूलाई ढोका खोल्नलाई मैले यहाँबाट दैलोसम्म पुगेँ । त्यहाँबाट फर्किएर यहाँ आएँ । यति गाली गरिरहेको छु । यो सबै गर्दा बितेको मेरो समयको तिमीहरूले पैसा देऊ । नभए कक्षाबाट निस्किएर जाऊ ।’

रुनु न हाँस्नुको अनुहार बोकेर लज्जित उभिइरहँदा उनले एउटा कुरा मनन गरे, ‘मैले अबदेखि अरूको समयको ख्याल गर्नुपर्छ ।’

त्यो कक्षाले उनलाई नयाँ तरिकाले सोच्ने मात्र बनाएन आफू अभिनयको लागि हैन भन्ने पनि निश्चित पार्‍यो । बरु निर्देशनले तान्यो । कलाप्रतिको रुचि सानैदेखिको थियो । स्केच र पेन्टिङ गरिरहेका हुन्थे । निर्देशक बन्नको लागि चाहिने सीपहरू सिक्न थाले । सिनेमाटोग्राफी, एडिटिङ, स्क्रिप्ट राइटिङमा भिज्न थाले । सानोतिनो भिडियो फिल्म बनाए । सन् २००९ मा ‘लेटर’ नामको पहिलो फिचर फिल्म बनाए । त्यसको केही भाग सुट गर्न काठमाडौँ पनि आए । फिल्म बनाइसक्दा आफू धेरै कुरामा कमजोर भएको थाहा भयो ।

त्यसपछि उनको कवि तथा निर्देशक प्रकाश आङदेम्बेसँग मितेरी साइनो जोडियो । आङदेम्बे त्यो बेला ‘देश खोज्दै जाँदा’ फिल्म निर्देशन गर्ने तयारीमा थिए । फिल्म बनाइसकेका मित पाएपछि आङदेम्बेले नयाँ केटाहरू छन् सघाइदिनु न भनेर उनलाई बोलाए । उनले आफ्नो सीपले भ्याएजति टिमलाई सघाए । उपेन्द्र सुब्बा र आङदेम्बेले लेखेको त्यो कथाले भुटानी शरणार्थीको पीडा समेटेको थियो ।

त्यसपछि उनले दयाहाङ राईलाई लिए ‘तान्द्रो’ बनाए । तान्द्रो पछि ‘अनागत’, त्यो पछि सत्यराज आचार्य र मेनुका प्रधानलाई लिएर ‘साढे सात’, लगत्तै सुरक्षा पन्तलाई लिएर फिचर फिल्म ‘सुस्केरा’ अनि मिरुना र आर्यन सिग्देललाई लिएर ‘चच हुई’ । ‘सुस्केरा’ आजसम्म पनि रिलिज भएको छैन । पोस्ट प्रोडक्सनमा पुगेर बजेटले अड्को थापेको छ । उनी कान्समा जाने थाहा पाएपछि सुरक्षाले फेसबुकमा पोस्ट लेख्दै उनलाई सम्झिँदै लेखिन्, ‘तपाईँ कान्स जाने कुराले खुसी छु दाइ । फिल्म बनाउन नछोड्नुहोला ।’

आफ्नो फिल्मबारे सुनाइसकेपछि उनले यतिन्जेल गर्दाको यात्रालाई समेट्दै भने ‘क्रिएटिभ फिल्डमा लाग्नु भनेको हरेक दिन नयाँ बाँच्नु हो । मलाई त्यसैले पनि यो लाइन साह्रो मन पर्छ । हरेक दिन नयाँ कथा भन्नु पाइन्छ । पछि गएर ब्याक फर्किएर हेर्दा खेरी एकदमै खुसी लाग्दोरैछ ।‘

बल्ल मैले उनलाई कान्सको बारेमा सोध्न थालेँ ।

+++++

एक दिन उनलाई सरकारी मेल आयो । त्यसमा लेखिएको थियो– ‘डेलिगेटको रूपमा तपाईँलाई कान्समा पठाउँदै छौँ ।’ उनीसँगै भारतको नर्थइस्टबाट १४ जना जाने भएछन् । सिक्किमबाट उनीसँगै सिक्किम फिल्म बोर्डकी सभापति पूजा शर्मा जाने भइछन् ।

सुरुमा विश्वास नलागेको भए पनि हिँड्ने दिन आयो । उनी फ्रान्सेली सहर कान्स पुगे । यतिन्जेलसम्म मिडियामा देखेको रेड कार्पेटमा हिँडे । त्यत्रो ठुलो फेस्टिभलको रेड कार्पेटमा हिँड्दै गर्दा कसैले के सम्झिन्छ ?

कन्यैयालाल सरलाई फेरि सम्झिए । उनी कक्षा सकेर निस्किनुभन्दा पहिला ‘केही प्रश्नहरू छ ?’ भनेर जहिल्यै सोध्थे । उनीहरूसँग हुन्थेन । सर फेरि भन्थे, ‘म गएपछि तिमीहरूको मनमा प्रश्न जन्मिन्छ । प्रश्नहरू आए लेखिराख्नु ।’ उनले भनेको मिल्यो । कोर्स सकिएपछि सामतेनको दिमागमा धेरै प्रश्नहरू आए । लेखेर जम्मा पारिसकेर उनले सरलाई फोन गरे । सरले ‘अब यो प्रश्नको जवाफ आफैँ खोज्ने’ भनेर फोन राखिदिए ।

सरलाई सम्झिरहँदा उनलाई अर्को कुराले पनि समात्यो । उनी रेडकार्पेटमा त हिँडिरहेका थिए तर भारत सरकारको डेलिगेट भएर । मनमनै सोचे ‘यहाँ छानिएको फिल्मको निर्देशक भएर कहिले हिँडौँला ?’

अरू ठाउँमा फिल्म हेर्नु र त्यहाँ फिल्म हेर्नुको फरक के थियो ?

त्यो फिल्म उनले बुझ्ने भाषाको थिएन । तर त्यसले हेराइलाई फरक पारेन । फिल्ममा भाषा बाहेक हेर्ने कुरा पनि हुन्छ । उनले त्यसलाई युनिभर्सल भाषामा हेरे । उत्सुक र निर्दोष बच्चा जस्तै भएर हेरे । ‘आफ्नो इन्द्रीयहरूले के के बुझ्छ भन्ने कुरा थाहा पाउन त नबुझिने भाषाको फिल्मलाई बच्चा जस्तै भएर हेर्नुपर्ने रहेछ ।’

त्यति खुबी भइरहेको बेलामा कुनै क्षण थियो जसले उनलाई भित्र कतै दुःखी बनाइरहेको थियो ?

उनलाई नेपालको स्क्रिनिङ सम्झना भयो । ‘आर्टलाई रेस्पेक्ट गर्नेहरू बढिरहेका त छन् तर त्यो अझै पुगेको छैन । त्यस्तो जमात अझै बढ्नुपर्छ । हामी नेपालमा बाजे बजूहरूलाई हतपती फिल्म हेर्न लाँदैनौँ । केटाकेटीलाई पनि लाँदैनौँ । त्यसो संस्कृति पनि बढाउनुपर्छ । नेपालमा चाहिँ हरेक उमेर समूहको फिल्म हेर्ने तरिका फरक फरक छ जस्तो लाग्छ । यसरी एउटै माहौलमा हेर्ने संस्कार बन्न अझै समय लाग्ला ।’

उनलाई कान्सको बसाइले धेरै कुरा दिइरहेको छ । विशेषतः आफ्नै कामहरूतिर फेरि फर्किने अनि त्यसमा के गर्न सक्थेँ भन्ने पारिरहेको छ । आफूले गल्ती गरेको ठाउँ चिन्दै अब गर्ने काम यसरी गर्नुपर्छ भन्ने लागिरहेको छ ।

‘यो यात्रा खासमा कहिल्यै पनि पूर्ण चाहिँ नहुने रैछ । आज राम्रो लागेको काम भोलि नराम्रो लाग्न थाल्ने रैछ । सन्तुष्टि भन्ने कहिल्यै नहुने रैछ के । फ्युचरमा पनि हुन्छ होला यस्तो चिज । मैले सक्ने भनेको आजको दिनमा सोचलाई राम्रो राखेर सकेसम्म धेरै सिक्ने हो ।’

‘सिक्किमबाट पहिलोपल्ट प्रतिनिधि भएर जानुभएको छ । यो कति ठुलो कुरा हो ?’

‘सिक्किमबाट मात्र हैन नर्थइस्टबाटै पहिलोपल्ट हो । यसले पक्कै पनि राम्रै हुन्छ । यहाँबाट फर्किएर म सिक्किममा ठुलो मिटिङ गर्नेवाला छु । यहाँ सिकेको कुरा विशेषगरि युवा फिल्ममेकरहरूलाई सिकाउने वाला छु । म यता आउनुभन्दा पहिला नै यो कुरा भनेरै आएको छु । म फेस्टिभल सर्किटको बारेमा सुनाउँछु । संसारमा कस्तो कन्सेप्ट र आइडियामा काम भइरहेको छ बुझाउन चाहन्छु । यसले फिल्म मेकिङको स्तरलाई बढाउन सहयोग गर्छ होला । सिक्किम मात्र हैन नेपालमा पनि नयाँ फिल्ममेकरहरू धेरै राम्रो राम्रो आको छ । तीनले राम्रो सोचेको छन् । तीनलाई थोरै बाटो देखाउनु पायो भने भोलिको दिनमा अझै राम्रो बनाउँछ होला जस्ता लाग्छ । हामीले राम्रो अडियन्स बटुल्नु वा त्यसको जमात बढाउन सक्यो भने धेरै कुरा हुन्छ ।’

‘त्यहाँ देखेको कुराले तपाईँलाई भित्र कतै नमिठो पनि लाग्यो कि ?’

‘यहाँ देखाएको जस्तो धेरै फिल्म बनाउँछु भन्यो भने हाम्रोमा धेरैले पैसा हाल्दिँदैन । आर्टलाई रेस्पेक्ट गर्ने काम हाम्रोमा गाह्रो छ । यहाँ कति देशको एकभन्दा धेरै फिल्म आउने रहेछ । त्यति भइसक्दा त यो प्लेटफर्ममार्फत त्यो देशको प्रचार विश्वभर भयो । हामीले हाम्रो देश चिनाउने ठाउँको रूपमा यसलाई देख्न सकेकै छैनौँ । कुनै देशले के सोच्छ भनेर जान्नलाई त्यो देशको सिनेमा हेर्नु भनिन्छ । हामीले आफ्नो कथालाई देशको मुहार बनाउनेगरि पर्याप्त फिल्म बनाउनै सकेका छैनौँ । त्यसैले अरू मान्छेले पनि हामीलाई सीमित तरिकाले मात्र बुझिरहेको छ ।’

‘हामी कहाँ पछि परिरहेका छौँ त ?’

‘आफ्नो लागि अवसर खोज्नुमा होला । यहाँ कान्समा प्रोड्युसरहरू पुरै प्याम्प्लेट लिएर बसेका छन् । हामीलाई फिल्म बनाउन कुनै पनि कुराले रोक्दैन भनिरहेका छन् । तर हामीले यहाँसम्म कथा पुर्‍याउन कति मेहनेत गरेको छौँ त ? बरु उल्टै त्यहाँ एक करोड पैसा निकाल्न माथापच्ची गरिरहेका छौँ । अलिकति मेहनत गरेर स्टोरीमा काम गर्ने हो भने र थोरै युनिभर्सल आइडिया बनाएर, त्यसपछि यस्तो फेस्टिभलहरूमा छिरेर प्रोड्युसरहरू भेट्ने हो भने त काम बनिहाल्यो । त्यसपछि पैसा बनाउने, पैसा त सोच्नै पर्दैन । हाम्रो आँखै अगाडि त्यसरी बनेका नामहरू छन् त मीन भाम, दीपक रौनियारहरू ।’

‘हामीले बनाइरहेका कथाहरू युनिभर्सल हुन कहाँनेर चुक्दा रहेछन् ?’

‘म मेरो आफ्नै उदाहरण दिन्छु । मैले गरेका काम नै उस्तै भएछन् । मैले सुरुमै भनेँ हामीले केवल एउटा वा दुई वटा इन्द्रीयलाई मात्र बिचार गरेर फिल्म बनायौँ । त्यसैले हाम्रोमा संवाद हाबी भए । हाम्रो प्रेजेन्टेसन अलिक गलत भइदिन्छ । मेरोमा त्यस्तो खामियाहरू धेरै रहेछ । बिम्बहरूमा काम गर्न थाल्यो भने मान्छेले पागल भनिहाल्ने डर । त्यसैले हामी इशाराले कम र संवादले धेरै बोल्छौँ । हाम्रो अगाडि कोही धेरै बोल्ने मान्छे छ भने उ बोलेको पन्ध्र मिनेट मजा लाग्ला तर आधा घण्टामा नै तपाईँ काबु हुनुहुन्छ । हाम्रो फिल्मको संवादले इरिटेट गर्छ । हामी स्कुल गइरहेको बच्चालाई सोध्छौँ ‘स्कुल गाको नानी?’ अनि उसले जवाफ दिन्छ, ‘हजुर स्कुल गाको ।’ हाम्रो सिनेमा कल्चर त्यसले नै बनायो ।’

उनी कान्समा आफूलाई चिनाउँदा नेपाली फिल्म उद्योगको प्रतिनिधित्व गर्छु भनेर चिनाइरहेका छन् । नेपाली फिल्म नेपालमा मात्र हैन नेपालबाहिर पनि बन्छ भनिरहेका छन् । त्यसो भन्दै गर्दा उनलाई त्यो जमात अझै बढेको हेर्न मन छ । फिल्म बुझ्ने अडियन्स अझै थपिएको हेर्न मन छ । नयाँ आइडियाहरू आइरहोस् भन्ने छ ।

‘हाम्रोमा धेरै कुरा रिपिट हुने आदत छ । त्यो रिपिट भएको कुरा हेर्ने आदत छ । त्यसले हामीलाई लामो समयमा कतै पुर्याउँदैन । यदि हामी भोलिको दिनमा वर्ल्ड सिनेमामा नाम छाप्नु छ भने त्यता ध्यान दिनैपर्छ । हामी डलरदेखि डराउँछौँ । कुनै फेस्टिभलमा एप्लाइ गर्न ३५ डलर इन्ट्री लाग्छ । त्यो तिर्दैनौँ तर बेलुका आठ हजारको रक्सी खान्छौँ । सबैको हकमा नहोला तर धेरैको साङ्केतिक रूपमा हाम्रो अवस्था यही हो । यसमा हामी सुध्रिनुपर्छ ।’

+++++

‘ल दाइ मज्जाले फिल्म हेर्नुहोस् ।’ मध्यरात हुनै लाग्दा मैले कुरा बिट मारेँ । उनलाई हामी बोल्दै गर्दा पनि केहीले पार्टीमा जाऊँ भन्दै थिए । उनी नगई बसेका थिए । कसैलाई ‘अल द बेस्ट’ भन्दै पठाउँदै थिए । ‘को हुन् दाइ ?’ मैले सोधेँ ।

‘खै मलाई नाम खासै याद हुन्न । यो आयुषमान खुरानाको नयाँ फिल्म छ नि, त्यसको हिरोइन हो । मलाई जाऊँ भन्दैछन् । तर मलाई त्यसमा खासै रुचि छैन ।’

‘केही फोटो पठाइदिनुहोला है त ।’

‘लु फोटो खिच्नु खुब लाज लाग्छ । लाज लागेन भने है त।’

मैले कुरा बिट मारेँ । अनि लेख्न थालेँ ।

Twitter: @SurajWritesNP

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *