खुद्रा बजेट नपठाउन गण्डकी प्रदेशलाई पालिकाको पत्र

पोखरा । गण्डकी प्रदेशको गाउँपालिका महासंघले खुद्रा बजेट नपठाउन प्रदेश सरकारलाई आग्रह गरेको छ । महासंघका पदाधिकारी सहितको प्रतिनिधि टोलीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर साना आयोजनाले नतिजा निकाल्न नसकिएको भन्दै ठूला आयोजनामा जोड दिन आग्रह गरेको हो ।

‘स–साना आयोजना तथा कार्यक्रममा बजेट पठाउँदा कार्यान्वयनमा दोहोरोपना आउने, व्यवस्थापन लागत बढी लाग्ने र अनुगमन तथा सुपरीवेक्षणमा समेत समस्या परेको छ,’ महासंघ भन्छ, ‘प्रदेश सरकारबाट विनियोजन गर्ने विकास आयोजनाहरुलाई खुद्रा रूपमा नभई ठुला आयोजनामा मात्र जोड दिन आग्रह गर्दछौं । साथै योजना बैंक बनाई तल्लो तहबाट माग भई आएको योजनाहरु प्राथमिकतामा राख्न प्रदेश सरकारको ध्यानाकर्षण गर्दछौं ।’

प्रदेशले सुरु गरेर अधुरा रहेका आयोजना पूरा गरेर मात्रै अरु आयोजनामा लगानी गर्न महासंघको माग छ ।

‘प्रदेश सरकारबाट शुरु गरिएका अधुरा आयोजनाहरु पुरा गरेर मात्र अन्य आयोजनाहरुमा लगानी गर्नुपर्छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘प्रदेश सरकारले सञ्चालन गर्ने आयोजना तथा कार्यक्रमहरु कम्तिमा प्रदेशको गौरब र समग्र विकासमा योगदान पुग्ने प्रकारका हुनुपर्यो ।’

प्रदेशले पालिकालाई दिने समपुरक कोषको आकार बढाउनुपर्ने, सशर्त अनुदान भन्दा समानीकरण अनुदानमा ध्यान दिनुपर्ने, स्थानीय सरकारको कानून निर्माण गर्दा पालिकासँग समन्वय गर्नुपर्ने माग राखेका छन् । यस्तै, प्रदेशभित्र रहेका अन्नपूर्ण संरक्षण क्षेत्रले त्यहाँको प्राकृतिक स्रोत साधन परिचालन तथा संरक्षणमा समस्या पारेको हुँदा स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानिय तहलाई अधिकार दिन संघीय सरकार सँग समन्वय गरिदिन पनि माग गरिएको महासंघका गण्डकी अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

अध्यक्ष ओझासँगै सचिव जोकलाल बुढा र सहसचिव सीता अधिकारी सहितको टोलीले बजेटको पुर्वसन्ध्यामा मुख्यमन्त्रीलाई भेटेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *