परिवर्तनको रक्षाको संकल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा छु : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन् ।
राजधानीमा शनिवार आयोजित हाफ म्याराथनको शुभारम्भ गर्दै उनले यस्तो कुरा बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यसपटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु । हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरूबीच छलफलमा छौं ।’
उनले शीर्ष नेताहरूबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसद्का विभिन्न समितिहरू, संक्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्नमै केन्द्रित हुने गरेको स्पष्ट गरे । प्रधानमन्त्री प्रचण्डले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेको बताए । उनले भने, ‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्पसहित अगाडि बढेको छ । त्यसमा खेलकुदलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।’