कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीले लिए शपथ

विराटनगर । नव नियुक्त कोसी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रवार कोसी प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय पछि मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आजै नियुक्ति पत्र दिँदै पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक कार्यक्रमको बिच मुख्यमन्त्री कार्कीले उप्रेतीलाई शपथ ग्रहण गराएका हुन् । महेन्द्र रत्न क्याम्पस ताहाचलमा कार्यरत रहेका उप्रेतीले त्रिभुवन विश्व विद्यालयको रजिस्ट्रार पदको जिम्मेवारी समेत पुरा गरेका छन् ।

नवनियुक्त उपाध्यक्ष उप्रेतीले प्रदेशलाई अब्बल बनाउन आफू जिम्मेवार पूर्वक लाग्ने बताए ।
सरकार गठन भएको ४ महिना पछि मात्र कोसी प्रदेशमा योजना आयोगको उपाध्यक्ष नियुक्त भएको हो ।

२०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हिकमतकुमार कार्कीले आफूले नियुक्ति गर्न पाउने पद योजना आयोगको पदाधिकारी समेत नियुक्त गर्न सकेका थिएनन् । उपाध्यक्ष उप्रेती नियुक्त भए पनि अन्य सदस्यहरू अझै नियुक्त हुन सकेका छैनन् । कोसी प्रदेशमा योजना आयोगमा एक जना उपाध्यक्ष र २ जना सदस्य नियुक्त गर्ने प्रावधान छ ।

बजेट नीति तथा कार्यक्रम ल्याउन सदन आव्हान गर्न लाग्दै गर्दा सरकारले योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको छ । बजेट ल्याउने तयारी गर्दै गर्दा योजना आयोगका पदाधिकारी खाली हुँदा सरकारका प्राथमिकता, योजना र कार्यक्रमको बारेमा छलफल हुन सकेको थिएन ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशमा रोजगारी बढाउन र राजस्व बढाउन भूमिका खेल्नुपर्ने अवस्था रहेको बताए । उनले प्रदेश योजना आयोगमा अन्य सदस्य गठबन्धनका दलहरूसँगको सहकार्यमा थप गरिने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *