गोकुलमले गर्यो आइलिग उपाधिमा ह्याट्रिक, साम्बा बनिन् सर्वाधिक गोलकर्ता
नेपाली स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)को शानदार प्रर्दशनमा गोकुलम केरला फुटबल क्लबले भारतीय महिला लिगको उपाधिमा ह्याट्रिक गरेको छ।
लगातार तेस्रो पटक उपाधि जित्ने क्रममा आइतबार साँझ सम्पन्न फाइनलमा साम्बाको टोली गोकुलमले किकस्टार फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पाखा लगायो।
किकस्टारमा नेपाली टोलीकै मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित छन्।
खेलको पाँचौँ मिनेटमा साम्बाको गोलमा गोकुलमले सुरुवाती अग्रता बनाएको थियो। २२ औँ मिनेटमा सन्ध्या रंगनानाथको गोलमा गोकुलमले अग्रता दोब्बर पार्यो। ३५ औँ मिनेटमा सन्ध्याले पेनाल्टीमा गोल गर्दै गोकुमललाई ३–० को अग्रता दिलाइन्।
दोस्रो हाफमा गोकुलमले २ गोल थप्यो। ५३ औँ मिनेटमा साम्बाको क्रसमा सन्ध्याले गोल गरिन्। ८१ औँ मिनेटमा साम्बाकै पासमा रोजादेवीले गोल गर्दै गोकुलमलाई ५–० को सानदार जित दिलाइन्।
सन् २०१९–२० मा सेथुबाट गोकुलम पुगेकी साम्बाले १६ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी साम्बाले यो सिजन २९ गोल गरिन्। यो सिजन पनि साम्बा लिगको सर्वाधिक गोलकर्ता हुन्।