महिला अस्तित्वको वकालत गर्दै ‘डाकिनी’
के हुन्छ होला हामीलाई डाकिनीले पछ्याउँदा ? दिवासपनाले सताइरहँदा । एकोहोरिरहँदा । उसले लगाएको पाउजुको छन् छन् लगातार कानमा बजेपछि । त्यही कुराले बटारेर मस्तिष्क शून्य भइरहँदा । अझ तपाईं उसलाई देख्नुहुन्छ तर उसलाई कसैले देख्दैन भने नि ?
फिल्म ‘डाकिनी’ मा यस्तै अवस्थाबाट गुज्रिरहेको तेन्जिङ नामका एक पुरुष पात्र छन् । उसको साथी छन् रवीन्द्र । उनीहरू क्याफे खोल्ने योजनामा छन् । साथीले नजानु भन्दा पनि भुईँचालोमा भत्किएको देवीको शक्ति पिठमा प्रवेश गरेको तेन्जिङलाई त्यसपछि डाकिनीले सताउन थाल्छे । सधैँ हँसिलो रहने र साथीभाइसँग रमाउने तेन्जिङ बिस्तारै एक्लो बन्न थाल्छ । निराशाको सिकार हुन थाल्छ । ऊ आफ्ना दिवासपनाहरूसँग अनविज्ञ छ । र उस्तै अनविज्ञ छ, ‘डाकिनी’सँग पनि ।
बौद्ध ग्रन्थमा बज्रयोगिनी, तारा देवीहरूजस्तै ‘डाकिनी’ पनि एक देवीको नाम हो, जसका लामालामा दाह्रा र तीन नेत्र हुन्छन् । नेपाली र तिब्बती बौद्ध धर्ममा डाकिनीलाई प्रबुद्ध ऊर्जाको उग्र देखिने महिला अवतार र आध्यात्मिक विकास भएका मानव महिलाका रूपमा वर्णन गरिएको छ । डाकिनीको आर्शिवादविना बुद्ध धर्मको फल असम्भव छ, भन्ने गरिन्छ । फिल्ममा डाकिनीलाई एक अत्यन्त सुन्दर पनि, डरलाग्दो पनि र शक्तिशाली देवीको रूपमा पनि चिनाइएको छ । तर त्यो चिनारी अक्सर संवादमा आउँछ, प्रस्तुतिमा आउँदैन ।
चलचित्रमा सधैँ जसो तेन्जिङ सङ्गीत अभ्यास गर्न साथीको घरमा पुग्ने गर्दछ । त्यस दिन पनि उनीहरू सँगै बसेर सङ्गीत अभ्यास गरिरहँदा एक्कासि तेन्जिङलाई उही एकोहोरोपनले सताउँछ । उनीहरूले सिकिरहेको बेला पनि उसको ध्यान भड्किन्छ । ऊ त्यसपछि चुल्ठो बाँधेको, करिब ८ वर्षको बालिकालाई देख्छ, जसले सयपत्रीको फुलहरू टिपिरहेकी हुन्छे । त्यही समयमा तेन्जिङलाई साथीले बोलाउँदा सपनाबाट बिउँझिन्छन् ।
उसले सपनामा देखेको कुरा सम्झिएको र संगीत सिकिरहेको बेला उसको लागि मिश्रित भएको समयलाई त्यसबेला आउने पार्श्व ध्वनीले साथ दिएको छ । ऊ संगीत सिकेको ठाउँमा हुँदा ब्याकग्राउण्ड साउण्ड आउँछ तर सपनामा जाँदा पुरै शान्त बन्छ । यस्तो सिफ्ट फिल्मको अन्य केही ठाउँमा पनि छ ।
उसले आफ्नो समस्या कसैलाई पनि सुनाउँदैन । संगीत अभ्यास सकिएपछि तेन्जिङ बाइक पछाडि साथीलाई राखेर घर फर्किरहेको बेला बाटोमा उही बालिकालाई खेलिरहेको देख्छ । सपना र वास्तविकतालाई छुट्याउन तेन्जिङ पुनः पछाडि फर्केर हेर्दा त्यहाँ बालिकालाई पाउँदैन ।
आफ्नो अवस्थाबारे कसैलाई स्पष्ट गरी नभन्दा तेन्जिङ एक्लै अन्तरमनतर्फको यात्रा गर्दछ ।
केहिसमयपछि आफूसँग भइरहेको अवस्थाबारे थाहा पाउन तेन्जिङ एउटा ‘लामा’ (सन्यासी) कहाँ पुग्दछ । उसले लामालाई सबै कुरा सुनाएपछि डाकिनीले सताएको रहेछ, भनी थाहा पाउँछ । लामाले उसलाई डाकिनीले सताएको व्यक्तिको सातदिनपछि मृत्यु हुने बताएपछि तेन्जिङ झनै चिन्तित अवस्थामा पुग्दछ ।
सुरुमा उसलाई ती लामाको कुरा विश्वास लाग्दैन । विश्वास लाग्ने प्रमाणहरू पनि त थिएनन् । तर झनझन समस्या बढ्दै गएपछि ऊसँग विश्वास गर्नुबाहेक अर्को कुनै विकल्प देखिँदैन । हामीसँग बाँच्नका लागि ७ दिन मात्र छ भन्ने थाहा पाउँदा हुने मानसिक पिडालाई यस चलचित्रमा तेन्जिङको माध्यमबाट देखाइएको छ । यस अवस्थालाई चलचित्रमा साथीहरूबाट टाढिएको, ताछेर खान लागेको स्याउ फ्याँकिएको, एक्लै एताउति भौँतारिएको दृश्यद्वारा तेन्जिङको मनमा भएका मानसिक पीडालाई देखाइएको छ ।
भलै फिल्मले मृत्युसँगको उसको भयलाई उति नजिकैबाट देखाउँदैन । त्यसैले उसलाई आफ्नो नजिकैबाट महसुस गर्न सकिँदैन । बरु ऊ फिल्मको पात्र हो भन्ने गरी परैबाट हेरिन्छ ।
चलचित्रमा तेन्जिङले बाँच्नका लागि सात दिनभित्र गरेका संघर्षहरू सुस्त छन् । उसले ती सात दिनलाई अन्त कुनै कुरामा लगानी नगरी ‘डाकिनी’ लाई खोज्न मठ–मन्दिर र सडक, गल्ली चहारेका छन्, ठ्याक्कै निर्देशकले यसै गर्नु है भनेको जस्तै ।
तर ‘डाकिनी’ को हुन् भनेर देखाउने क्रममा जति पनि महिलाहरू आएका छन्ती, भने बलिया नै छन् । लेखकले बौद्ध ग्रन्थमा भएका मिथकीय पात्रको माध्यमद्वारा हाम्रो समाजमा भएका महिलालाई शक्तिशालि पात्रको रुपका देखाएका छन् । जस्तो कि चिया पकाउने महिला र उनकी आमा आफैँले केही गरिरहेका मान्छे हुन् । उनीहरूको प्रस्तुति बलियो छ । सँगै उनीसँगै संगीत सिक्ने युवतीले पनि धेरै ठाउँमा आफ्नो निर्णय आफैँ गरेकी छन् । यसरी हेर्दा ‘डाकिनी’ लाई महिला अस्तित्वको पक्षमा बोलेको सिनेमा भन्न मिल्छ ।
चलचित्रमा गल्लीहरूलाई सयपत्री फूलले सजाइएको छ । चलचित्रमा प्रयोग भएका ट्ङ्ना, धुपौरो, परेवा र लामा (सन्यासी) पात्रहरूले बौद्ध ग्रन्थको सुन्दर आयामलाई देखाइएको छ । त्यसैसरि तिब्बती संगीतलाई चलचित्रमा प्रयोग गरिएको छ । तर बेलाबेला काठमाण्डौको आयामलाई बौद्ध धर्मको फ्रेमले मात्र हेर्न खोज्दा कतिपय अवस्थामा फ्रेमहरू जबरजस्ती राखिएको जस्तो पनि लाग्छ ।
चलचित्रको शक्ति यसको खिचाइ हो । कथाले समात्न नसकेको बेला पनि सिनेमेटोग्राफरले आफ्नो कला मार्फत यताउता भाग्न दिँदैनन् । केही दृश्यमा मान्छे नदेखिएर संवाद मात्र आउँछ । विशेष गरी तेन्जिङले डाकिनीको बारेमा थाहा पाएको बेला उनीहरू दुवै जना दुई ध्रुवमा छन् भने जसरी फ्रेमिङ गरिएको छ । बौद्ध, स्वयम्भू, पाटन र काभ्रे–पनौतीमा छायांकन गरिएको फिल्ममा धेरै दृश्य बाइकमा छन् । मुभमेन्टको बेलामा शहरलाई देखाउन रहेको चुनौती पनि फिल्मले सहज बनाएको छ । चलचित्रमा पाटनका गल्लीहरू, मठ–मन्दिर र पहाडबाट अस्ताउन लागेको घामसँगै बसेर कुराकानी गरिरहेको दृश्य साँच्चै लोभलाग्दो पाराले देखाइएको छ । काभ्रेको यात्रा गर्दैगर्दा बसको झ्यालबाट देखिने पहाड बिच हुँदै भुईँ छोइएका बादलका दृश्य पनि यसमा देखाइएको छ । कतिपय दृश्य हेर्दा त कसैले भित्तामा राखेका चित्रकला जस्ता नै लाग्छन् ।
मार्क ली पिङले ‘इन द मुड फर लभ’मा पनि शहर खिचेका थिए । उनको शहरको कन्ट्रास्ट खिच्ने शैली पनि यहाँ देखिन्छ । त्यसमा विशेषतः शहरका धेरै विशेषताहरू सजेसनमा आउँथे । यहाँ पनि आउँछन् । अझै पुराना घर तथा मन्दिरका निधालहरू पनि पटक पटक चरित्रहरूको बिचमा आउँछन् । ती सुन्दर छन् ।
फिल्ममा भियतनामका छिरिङ ताशीले नायक र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले नायिकाको भूमिका निभाएकी छिन् । नेपाली कलाकार कर्म, दिव्य देव र रवीन्द्र सिसन बानियाँले समेत यस फिल्ममा अभिनय गरेका छन् । भलै रवीन्द्र सिंह बानियाँले निभाएको चरित्रबाहेक बाँकी चरित्रमा ती कलाकार हुनु र नहुनुको खासै ठुलो असर देखिँदैन । अझ तीनको उपस्थिति फिका नै लाग्छ । फिल्मको लेखन तथा निर्देशन अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बौद्ध धमैगुरु जोङसार खिन्से रिन्पोछे (खिन्से नोर्बु) ले गरेका भए पनि यो उनको कमजोर फिल्ममध्येको एक हो । यसमा धेरै ठाउँमा उनको ग्रिप छुटेको महसुस हुन्छ । अक्सर आध्यात्मिक यात्रा गराउने उनले यो फिल्ममा चरित्रको माध्यमबाट मनमा छुनेगरी यात्रा गराउन भने चुकेका छन् ।