मकालु फिल्म रिभ्यु

‘सिर्फ एक बन्दा काफी नही है’

यो फिल्म उत्कृष्ट फिल्म भने हैन । 

भारतीय कोर्ट ड्रामाका केही साझा समस्या छन् । ती समस्याको मुख्य कारण भारतीय दर्शक पनि हुन् । उनीहरूलाई धेरै कुरा जबरजस्ती बुझाइदिनुपर्छ । यो कुरामा भावुक हुने हो भनेर बलजफती सेन्टिमेन्टल म्युजिक घुसाइदिनुपर्छ । अनि विषयलाई यति धेरै नाटकीय बनाइदिनुपर्छ जहाँ एउटा कुनै वकिल नायक होस् । उ यस्तरी जितोस् कि मजा आओस् । उ अदालतको टेबल ठटाओस् । उसको छेउमा उभिएको वकिल खराब होस् । उनीहरूलाई चरित्रले भोगेको पीडा पनि अक्सर कि त आँसुमा देखाउनुपर्छ । कि त संवादमा । यस्तै यस्तै । 

अपूर्व सिंह कार्की निर्देशित ‘सिर्फ एक बन्दा काफी है’ मा पनि यी समस्या छन् । फिल्म तुलनात्मक रूपमा ढिलो गतिको छ । थाहा भइसकेको कुरा भन्न समय लगाउँछ । केही अनावश्यक स्लो मोसन दृश्य छन् जुन हुनु र नहुनले खासै फरक पार्दैन । कतिपय दृश्यहरू मान्छेको इमोसन तान्नकै लागि लगाइएको जस्तो लाग्छ । अदालतमा बयान दिन आएको मान्छेबाट साँचो बोलाउन र्याखर्याख्ती पार्ने र झुक्किएर साँचो कुरा झार्ने ‘अदालत’ सिरियलवाला केही दृश्य पनि छँदै छन् । अनि त्यसमा पनि बलियो साक्षी भनिएका मान्छेलाई मारेका प्रसंग त कहाँ छुट्नु ।  

तर यति हुँदाहुँदै पनि फिल्मले यो फिल्मले त्यस्तो विषयको बारेमा कुरा गरेको छ जसले त्यो विषयलाई यसरी पब्लिक बहसमा ल्याएकै कारण पनि धेरै कुरा माफी पाउँछ । सन् २०१२ मा दिल्लीमा भएको ग्याङ रेप केस (निर्भया केस) पछि बनाइएको नयाँ कानूनले भेट्ने घटना वरिपरि यो फिल्म घुम्छ ।

यो एक किशोरीको कथा हो । आफूले र परिवारले मानेको एक धर्मगुरुले उनलाई यौन दुर्व्यवहार गर्छन् । आफ्नो कोठामा बोलाएर उनको गोप्य अङ्गहरू चलाउँछन् । विक्षिप्त बनेकी युवती घरमा सुनाउँछिन् । धन्न उनको परिवारले उनलाई यो कुरा लुकाउनु भन्दैनन् । धन्न उनले यस्तो गर्नै सक्दैनन् भनेर उल्टै गुरुको बचाउ गर्दैनन् । उनीहरू प्रहरीकोमा रिपोर्ट लेखाउन जान्छन् । 

उनी प्रहरीकोमा रिपोर्ट देखाउन गएसँगै फिल्म सुरु हुन्छ । उनले लेखाउँदा लेखाउँदै प्रहरी महिला ‘सर हाइप्रोलाइल केस हो’ भन्दै म्यासेज गर्छिन् । त्यस्तो गर्नुपर्ने अवस्था आखिर कसले बनायो ? प्रहरीकोमा आइपुगेको केस जसको भए पनि अपराधको केस हुनुपर्ने । तर हाम्रो समाज यस्तै छ । ठुलो मान्छेले गरेको अपराध देख्नुभन्दा पहिला षड्यन्त्र देख्छ । जसरी यो फिल्ममा पनि गुरुले गरेको क्रियाकलापलाई उनका अनुयायीहरू फसाएको षड्यन्त्र बुझ्छन् । उनीहरूलाई बचाउन प्रहरी चौकी घेरा गर्छ । समाजमा अनेकौँ कुरीति व्याप्त छन् । अनेकौँ समस्या व्याप्त छन् । तीनमा त्यो भिड उति ध्यान दिँदैन । बरु आफूले भगवान् बनाएको कोही मान्छेलाई कसैले अपराधी हो भनिहाल्छन् कि भनेझैँ सधैँ चनाखो बस्छ ।

प्रहरीले गुरुलाई गिरफ्तार गरेको दृश्यमा उनको पछिपछि गएको भिड र केही समय पहिला नेपालमा भएका उस्तै प्रकारका घटनामा पीडकको पक्षमा लागेको भिड उस्तै उस्तै लाग्छ । चाहे पल शाह विरुद्धको केस, वा सन्दीप लामिछाने विरुद्धको केस वा केही समय पहिला रामबहादुर बम्जनको केस । वा अहिले चलिरहेको नक्कली शरणार्थी प्रकरणमा हाइप्रोफाइलहरूको प्रकरण । केही वर्ष पहिला खुमबहादुर खड्का जेलबाट छुट्दाको केस । हामीले कसरी अपराधी वा पीडकको पक्षमा जनलहर खुल्ने गरिएको समाज बनाएका छौँ झलझली याद हुन्छ ।

यो फिल्ममा देखाइएका कतिपय दृश्यहरू हेरिरहँदा हामीले पीडितलाई पत्याउनु पहिला पिडकलाई पत्याउने गरी बनाएको सामाजिक अवस्था उदाङ्गो भइरहन्छ ।

पक्राउ परेपछि गुरु ले आफ्ना समर्थकतिर फर्किएर हाँस्दै अभिवादन गरेको एउटा दृश्य हेर्दा त झन् गएको हप्ता नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीको हँसिलो अनुहार झल्झल्ती याद आउँछ । फिल्ममा गुरु यसरी हात हल्लाइरहेका छन् कि यौन दुर्व्यवहारको आरोपमा पक्राउ पर्नु उनको जीवनको सबैभन्दा ठुलो सफलता हो । यता टोपबहादुर यसरी हात उठाइरहेका थिए कि मानौँ उनी भर्खरै चुनाव जितेर बधाई थाप्न आएका हुन् ।

फिल्ममा गुरुको पक्षमा जति पनि आवाज उठ्छ, उनलाई बचाउन जति पनि मान्छे लाग्छन् वा उनी निर्दोष छन् भनेर पत्याउने अनि पैसाको लागि किशोरीले त्यसो गरिन् भन्न लगाउने ती सबै मान्छे हरेकदिन ठुलो ओहोदामा भएकालाई अपराध गर्न सक्ने मान्छेभन्दा माथि देख्ने हाम्रो नेपाली समाजको झल्को आइरहन्छ । यस्तो लाग्छ यो यति बेला नेपालमा भइरहेको कुनै घटना हो ।

फिल्मको एउटा दृश्यमा वकिल बनेका मनोज बाजपेयी किशोरीलाई के के भएको हो सुनाउन लगाउँछन् । उनी सुनाउन थाल्छिन् । जसै भगवान् जस्तो मानिएका गुरुले आफ्नो गोप्य अङ्गहरू छोएको कुरा किशोरी सुनाउँछिन्, उनले लेखिरहेको डटपेन टक्क अडिन्छ । त्यो त्यस्तो घटना हो जो भयो होला भनेर सोच्न पनि सकिँदैन । तर अक्सर अपराधीहरू यस्ता नै हुन्छन् जो कसैले अपराध गरेको सोच्न नै नसक्ने भएर बस्छन् । केही वर्ष पहिला आफैँले हत्या गरेकी युवतीको हत्यारा पत्ता लगाऊ भन्दै आन्दोलनमा पुगेको युवक याद छ ?

किशोरी फिल्मभर सलले अनुहार ढाक्छिन् । उनी किन अनुहार ढाक्छिन् ? गोपनीयताको लागि पक्कै हो । तर एउटा पीडितलाई अनुहार ढाकेर मात्र बस्न सक्ने सामाजिक परिवेश कसले बनाएको ?

फिल्म कोर्टमा पुगेपछि त झन् अझै धेरै नेपालमा चलिरहेका मुद्दाहरूको नजिक पुग्छ । सन्दीप लामिछाने विरुद्धको मुद्दामा जस्तै यहाँ पनि किशोरी बालिग नभएको बनाउने बहस चल्छ । धेरै वटा जन्ममिती देखाएर उमेर कन्फ्युज पार्न खोजिन्छ । ती सबै कुरा फिल्ममा त बाजपेयीले निभाएको चरित्रले जित्दै जान्छ । तर यहाँ केस अड्किएको अड्कियै छ । यस्ता घटनाहरूलाई अदालतले कसरी हेर्नुपर्छ भन्ने सन्दर्भमा बाजपेयीले बोलेको एउटा संवादले भनिदिएको छ । उनी जजलाई भन्छन् ‘यो त्यस्तो घटना हो जसमा को सही छ भन्दा पनि के सही छ भन्ने कुरा ध्यान दिनुपर्छ ।’

यो फिल्मले बलात्कार पीडितप्रति हाम्रो समाज कति अनुदार छ भन्ने देखाउँछ । वकिल युवतीलाई प्रश्न सोध्दा सामान्य संवेदना पनि पुर्‍याउँदैनन् । उनी उनको जवाफलाई बाबुको कारणले गरेको देखाउन खोज्छन् मतलब युवतीले भोगेको कुराप्रति बेवास्ता गर्छन् । उनी तीनको पीडाको गहनतालाई पनि बेवास्ता गर्छन् । एक दृश्यमा किशोरी भन्छिन् ‘म मान्छेको अगाडी खेलौना बनिसकेको छु । जो कोही यसरी हेर्छन् कि मानौँ मैले नै कुनै पाप गरेकी छु ।’ सलले मुख छोप्दा देखिएको उनको आँखामा बेलाबेला भरिइरहने आँसुले उनले बोलेको संवादको अर्थ अझै गहन बनाइदिन्छ ।

फिल्मले सिर्फ एक बन्दा काफी है नाम राखेको छ । तर फिल्ममा उ जे जे सँग लड्छ, जति जति समस्याहरूसँग भिड्छ । त्यसबाट स्वाभाविक रूपमा भन्न सकिन्छ कि यदि बलात्कारजस्तो जघन्य अपराध गरेर अपराधी नजोगिने व्यवस्था ल्याउने हो वा पीडक पक्ष भएर हैन पीडित पक्ष भएर सोच्ने समाज बनाउने हो भने सिर्फ एक बन्दा काफी नही है । यदि फिल्मको एक दृश्यमा किशोरीले उजुरी दिँदै गर्दा उनकी आमाको अनुहार जसरी डराएको छ, त्यसरी नै पीडित नडराउने समाज र न्यायप्रणाली बनाउने हो भने सिर्फ एक बन्दा काफी नही है ।

किनकि पीडकलाई पीडा दिने व्यवस्था हाम्रोमा धेरै छन् । एउटा पीडाको बारेमा लड्न खोज्दा थप पीडा थपिने डरले लड्न छोड्नेहरू धेरै छन् । त्यसैले यदि भगवान् बनाइएकाले गर्ने अपराधको विरुद्ध लड्ने हो भने, लडिराख्ने हो भने, सिर्फ एक बन्दा काफी नही है । 

फिल्मको ट्रेलर: https://www.youtube.com/watch?v=nw8DWUJjirI

Twitter: @SurajWritesNP

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *