नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : विमलेन्द्र निधि
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उहाँले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रूपमा कुनै पनि बाधा अड्चन नभएको दाबी समेत गरे ।
उनले संघीय सांसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सुझाव दिए ।
नेता निधिले भने, ‘आजको समाचार पत्रहरूमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरूको बीचमा नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरू सुन्यौँ । यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरू खोज्नु भएको छ अरे भनेर सुनेको छु । म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने र यो संसदमा प्रतिपक्षका सांसदहरूले पनि बोल्नु भएको छ । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद् नै हुन्छ । अव त्यो सांसदबाट दुई दुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन । र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ । मन्त्रीपरिषद्ले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन । यो संविधानसम्मत कुरा नै हो । त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाँही सम्पूर्ण रूपमा सक्रिय भइदिनु प¥यो भन्ने कुरा राख्न चाहन्छु ।’
नेता निधिले संघीय सांसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरी संसदमा आउन नहुने समेत बताए ।