गण्डकीको आगामी बजेट ३६ अर्ब अनुमान
पोखरा । गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको चरणमा छ । नीति तथा योजना आयोगले आगामी वर्ष ३६ अर्ब हाराहारीको मात्रै बजेट प्रक्षेपण गरेको छ । यसअघि आयोगले मध्यमकालीन खर्च संरचना जारी गर्दै ३६ अर्ब ७ करोड रुपैयाँ बजेट प्रक्षेपण गरेको हो ।
प्रदेशको प्राथमिकता प्राप्त क्षेत्र पर्यटनमा सरकारले आगामी वर्ष ६२ करोड, ऊर्जामा १५ करोड, कृषिमा २ अर्ब ८२ करोड, उद्योगमा ५१ करोड, पूर्वाधारमा १४ अर्ब ४५ करोड, मानव संशाधनमा ६ अर्ब ४३ करोड र सुशासनमा १ अर्ब २५ करोड लगानी हुने अनुमान छ ।
तर आयोगको प्रक्षेपण भन्दा कम बजेट आउने सम्भावना देखिएको छ । चालू वर्षमा अपेक्षाकृत आन्तरिक आम्दानी गर्न नसकेको, संघ सरकारले अनुदान घटाएको र ऋण लिने कानून समेत नबनेकाले बजेट घट्ने अनुमान गरिएको हो ।
आगामी वर्षका लागि करिब साढे १० अर्ब बजेटको पुरानो दायित्व भएकाले नयाँ कार्यक्रम थप्ने सम्भावना पनि निकै कम छ ।