गण्डकीका मुख्यमन्त्रीले सिडिओलाई भने- ‘मलाई सलामी दिनुपर्दैन, सीमामा लिन आउनु पर्दैन’
पोखरा । अघिपछि प्रहरीको स्कर्टिङ, जिल्ला छिरेपछि पिर्कै माथि भएपनि सलामी । खाली सडकमा पनि साइरन बजाउँदै हुइँकिने परम्परा नेपाली सत्ता राजनीतिमा छ ।
मन्त्रीहरू जिल्ला जाँदा प्रमुख जिल्ला अधिकारी लगायत कर्मचारीहरू सीमानामा लिन नआए जागिर समेत जाने पुराना नजिरहरू छन् । बिहीबार गण्डकीका मुख्यमन्त्री लमजुङ गए । कास्की र लमजुङको सीमाना भोर्लेटारसम्म सिडिओ लिन आए । दिनभर मुख्यमन्त्रीको अघिपछि कर्मचारीहरू डुलिरहे, जिल्ला प्रशासन कार्यालयमा छिर्दा सलामी दिए ।
त्यसपछि जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई सलामी नदिन र सीमानासम्म लिन जाने परम्परा हटाउन सिडिओलाई निर्देशन नै दिए । त्यसअघि नै सलामीका लागि राखिएको पिर्का हटाउन लगाएका थिए । सकेसम्म सलामी नदिन पहिले नै भनिसकेका थिए । पाण्डेले भने, ‘परम्परागत कुराहरूलाई चिर्नुपर्ने छ । यो सलामी दिनुपर्छ कि पर्दैन मलाई थाहा छैन । यो अनिवार्य हो जस्तो लागेको छैन । अरूले के गर्छन् मलाई वास्ता भएन, कम्तीमा म आउँदा सलामी दिने परम्परा हटाइदिनुस् ।’
भीआइपी आउँदा सीमासम्म लिन जाने परम्परा ठिक नभएको उनले बताए । ‘गृह मन्त्रालय आउँदा त्यो नगरेको कारणले जागिर जान्छ भने गरिदिनुस्, म आउँदा पर्दैन । पहिलेदेखिको प्रचलन भीआइपी आउँदा जिल्लाको सीमानासम्म लिन जाने परम्परा पनि हटाउनुस्,’ उनी भन्छन्, ‘तपाईँहरू अनावश्यक रूपमा सीमानामा मलाई लिन जाँदा समय पनि खर्च भयो, उपलब्धि पनि केही छैन । सेवाग्राही मर्कामा पर्छन् ।’
नेताहरूले पुराना शैली फेर्न नसकेका कारण संघीयतामाथि झन् प्रश्न बढेको भन्दै उनले सेवामा तल्लीन रहन आग्रह गरे । ‘हामी संघीयतालाई सम्मानित गराउन चाहन्छौँ । तपाईँहरूको सेवा प्रवाहमा यो जोडिएको छ,’ पाण्डे अघि भन्छन्, ‘सरकारको तर्फबाट गर्नुपर्ने सबै काम गर्छौँ । बाँकी काम तपाईँहरूले जिम्मा लिनुपर्छ ।’ तत्काल नागरिकले महसुस गर्ने खालका काममा सरकारले बजेट तय गर्ने उनले बताए ।