पिएसजीले जित्यो लिग वानको उपाधि, मेस्सीको कीर्तिमानी
काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा स्ट्रासबर्गसँग १-१ गोलको बराबरी खेलेसँगै पिएसजीले यस सिजनको फ्रेन्च लिग वानको उपाधि जितेको हो ।
यो यस खेलमा पिएसजीका लागि लियोनेल मेस्सीले गोल गरेका थिए भने स्ट्रासबर्गका लागि केभिन गामेरियोले बराबरी गोल गरेका थिए । लिग वानमा मेस्सीको यो ७४ खेलमा ३२औं गोल हो । यस गोलसँगै मेस्सीले युरोपको शीर्ष पाँच लिगमा रोनाल्डोले राखेको गोलको कीर्तिमानलाई तोडेका छन् । मेस्सीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल पूरा गरेका छन् । यसअघि यो कीर्तिमान क्रिष्टियानो रोनाल्डोको नाममा ४९५ रहेको थियो ।
यो जितपछि पिएसजीको ३७ खेलमा ८५ अंक भएको छ र एक खेल अघि नै लिगको उपाधि जितेको छ । पिएसजीले योसहित ११औं पटक लिग वनको उपाधि जितेको छ । पिएसजी यो जितपछि सबैभन्दा बढी पटक लिग वानको उपाधि जित्ने क्लब बनेको छ । यस अघि पिएसजी र सेन्ट एटीएन्नेले १०-१० पटक उपाधि जितेका थिए । मार्सेलीले ९ पटक, मानाको र नान्तेजले ८-८ पटक लिग वानको उपाधि जितेका छन् ।