देश लुट्न पल्किएपछि ठूला दल सत्तामा जुका जस्तै टाँसिए : प्रेम सुवाल (अन्तर्वार्ता)

जनताको आँखा दुरविन जस्तै छन्, भ्रष्ट्राचारीलाई ठेगान लगाएरै छाड्छन्

काठमाडौँ । प्रेम सुवाल नेपाल मजदुर किसान पार्टीका तर्फबाट एक्लो प्रतिनिधि सभा सदस्य हुन् । उनी २०३२ सालदेखि नेपालको राजनीतिमा सक्रिय छन् । भक्तपुर क्षेत्र नं १ चोछें टोलमा उनको जन्म भएका थियो । उनी २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा समानुपातिकबाट सभासद् बनेका थिए । यस्तै २०७४ सालमा पनि उनी सोही स्थानबाट निर्वाचित भएका थिए । सुवालको क्षेत्रमा २०४८ सालयताका पाँचवटा चुनावमा विजयी भएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जित्दै आएका थिए । तर २०७४ पछि सुवाललाई उनले सो क्षेत्रबाट टिकट दिए । त्यसपछिका दुई वटा निर्वाचनमा नै सुवाल विजयी भएका छन् । मंसिर ४ मा भएको प्रतिनिधि निर्वाचनमा पनि उनलाई सो क्षेत्रबाट जित्न कुनै समस्या नै भएन किनकि भक्तपुरमा नेमकिपाले एक खालको किल्ला नै बनाएको छ । सुवाल हाल प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षीको भूमिकामा छन् । उनी नेमकिपाको तर्फबाट एक्लो सदस्य भए पनि प्रतिनिधि सभाको जुनसुकै बैठकमा खरो रूपमा उत्रने गर्छन् । तर उनको कुराको सुनवाइ न सभाले गर्छ न त सांसदले नै । उनी बोल्छन् तर त्यसको कुनै अर्थ नै नभएजस्तो सदन र सरकारले चरम बेवास्ता गरिदिन्छ । यति हुँदा पनि उनले आफ्नो संसदीय धर्म छोडेका छैनन् । शिक्षा, स्वास्थ्य, परराष्ट्र, राजनीति, अर्थतन्त्र, कृषि जस्ता अनेक क्षेत्रका विसङ्गति र र अव्यवस्था तथा अस्तव्यस्तताबारे प्रतिनिधि सभामा खरो रूपमा उत्रिन उनले छाडेका छैनन् । उनै सांसद सुवालसँग मकालुखबरले वर्तमान राजनीतिक अवस्था तथा नेमकिपा पार्टीको भविष्य र उनले प्रतिनिधि सभामा उठाएका विषयमा सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा कतिको समावेश गरेको छ भन्ने विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ उक्त कुराकानीको विस्तृत अंश :

प्रतिनिधि सभाबाट यहाँले विभिन्न विषयमा सरकारलाई निरन्तर खबरदारी गर्दै आउनु भएको छ । सत्ता पक्षले राखेका प्रस्तावमा खुलेर विरोध जनाइरहनु भएको हुन्छ तर त्यसको सुनुवाइ नै हुँदैन । कहिलेकाहीँ मेरो कुरा त देश र जनताको पक्षमा रहेन छ कि जस्तो महसुस हुँदैन ?
मेरो कुराको सुनुवाइ जनताले गरिराख्नु भएको छ । चासो राखेका जनताले मेरो पक्षमा विभिन्न सामाजिक सञ्जालबाट पनि आवाज उठाइरहनु भएको छ । यी नसुन्ने संसद र दलहरूले पनि जनताको भोटले त विजयी भएर आएका हुन् नि । उनीहरूले नसुन्दैमा मलाई फरक पर्दैन । जनताले एक दिन यिनलाई ठेगान लगाएरै छाड्छन् । मेरो आवाज जनताको आवाज हो । आज धान रोप्यो आजै फल्दैन । जनताले सुनेपछि मैले चिन्ता लिनु पर्दैन बरु जनताले नसुनेका भए चिन्ता लिनु पर्ने थियो ।

तपाईँ लोकप्रियता बटुल्न मात्र सदनमा बेल्दै आउनुभएको हो भन्नेहरु पनि छन् नि ?
हैन । मेरो कुरा असङ्ख्य जनताले चासो दिएर सुनिरहनु भएको छ । त्यो नै हाम्रो सुनुवाइ हो । अहिले सिंहदरबार बसेर नसुन्नेहरूलाई जनताले नै एकदिन ठेगान लगाउँछन् । समय आउँछ मैले यो कुरामा चिन्ता लिएको छैन । जनताको पक्षमा वकालत गरेको हुँ ।

यहाँको पार्टी नेमकिपाले प्रतिनिधि सभामा सम्मानजनक उपस्थिति जनाउन सकेको छैन । पुरानो पार्टी भएर पनि जनताको लहर यहाँको पार्टीप्रति देखिएको छैन । २०७४ पछि त झन् झन् नेमकिपा खुम्चँदै गइरहेको छ । अब यो पार्टी कसरी चल्ला त ?
त्यस्तो हुँदैन । ५८ जिल्लामा यो पटक उम्मेदवारी दिएका थियौँ । जनता बिस्तारै बुझ्दै हुनुहुन्छ । अरू पार्टीको पनि त जहाँ जहाँ उम्मेदवारी दिएको छ सबै ठाउँमा जितेका छन् र ? अब बिस्तारै जनताले बुझ्नु भएको छ । पहिला पहिला झुटा आश्वासन दिएर दिएका दलहरू उदाङ्गो हुँदै छन् । ३० वर्षसम्म पालोपालो प्रधानमन्त्री, मन्त्री हुनेहरूको दिन अब समाप्त हुँदै छ । २००७ सालपछि जो जो मन्त्री प्रधानमन्त्री भए, तिनले जनतालाई धोका दिइरहेका छन् । मन्त्री बन्नासाथ खाइहाल्ने, भ्रष्ट्राचार गरिहाल्ने अवस्था देखिएको छ । एउटा पाँच पटक मन्त्री भएको मान्छेले आफ्नो संस्मरणमा लेख्नु भयो– यो मन्त्री पद भनेकै अर्बौँको भ्रष्ट्राचार गर्ने पद हो भनेर । हामीले भेटेर सोधेका थियौँ तपाई पाँच पाँच पटक मन्त्री हुने अनि आफैँ यस्तो लेख्ने ? उनले मैले पाँच पटक मन्त्री भएर थाहा पाएकै यही हो भनेर जवाफ दिएका थिए । त्यो कारण हामीले यो कुरा बुझ्नु पर्दछ की हाम्रो पालो आउँछ अहिले हामी आत्तिएका छैनौँ । जनताहरू शिक्षित हुनुहुन्छ । र नेमकिपाको भविष्य राम्रो छ ।

सरकारमा नगइकन जनताका अपेक्षा पूरा गर्न सकिँदैन । जनताले विश्वास गरेर भोट दिने आधार पनि घट्छ । यहाँलाई सरकारमा गएर मन्त्री हुने सही ढंगले जनताको काम गर्ने हुटहुटी किन भएन ? एक्लै भए पनि अन्य पार्टीले सरकारलाई सहयोग गरिराखेका उदाहरण यहाँकै आँखा अगाडि छ यहाँलाई त्यो रहर किन जागेन ?
यो पुँजीवादी संविधान अन्तर्गतको पुँजीवादी सरकार हो । यसमा हामी जाँदैनौँ । हामी जनताको संविधान बनेपछि जनताको सरकारमा जान्छौँ । यो पुँजीवादी सरकारमा देश र जनताको सेवा गर्ने ठाउँ छैन । संविधान आए पनि पुँजीवादीहरूले घेरा लगाएका छन् । यो संविधान निर्माण हुँदा २०७२ सालमा ७२ वटा धारामा हामीले संशोधन प्रस्ताव राखेका थियौँ । त्यो संशोधन स्वीकार नगर्दा देश र जनतालाई अहिले दुःख भएको छ । त्यसबेला कांग्रेस, एमाले र माओवादी मिलेर तीन वटा दलले हाम्रो संशोधन अस्वीकार गरेको थियो । उदाहरणको लागि माध्यमिक शिक्षा ११ र १२ सम्म निःशुल्क र अनिवार्य गरौँ, विश्वविद्यालय शिक्षा निःशुल्क गरौँ । यो मौलिक हकको रूपमा संविधानमा लेख्यौँ भन्दा हुन्न भनेर हात उठाए यी तीन दलले । यस्तै स्वास्थ्य उपचार निःशुल्क हुनुपर्छ र प्रत्येक वडाको टोलटोलमा शिशु स्याहार केन्द्र र बाल उद्यान केन्द्र खोल्नुपर्छ, ज्येष्ठ नागरिकको लागि निःशुल्क आवास तथा गाँसको व्यवस्था गर्नुपर्छ भन्दा पनि हुन्न भने । यस्तै स्वदेशमा रोजगारी दिनुपर्छ, १८ वर्ष लागेका युवालाई स्वास्थ्य र सैनिक तालिम तालिम दिनुपर्छ भन्दा पनि मानेनन् । यस्ता विषय संविधानमा लेखिसकिएपछि मात्र हामी सरकारमा जान्छौँ ।

संविधान अनुसार सरकारले काम गर्ने हो । यिनीहरुले संविधानमा यस्ता कुरा नलेखी गए र सरकारमा गएर जनताको पक्षमा काम गरेनन् । उनीहरूको ध्यान दूरबिन कब्जा गर्ने र काठमाडौँ र मुख्य मुख्य सहरमा घर जग्गा र घडेरी जोड्ने काममा भयो । हाल १११ जना प्रतिनिधि सभा सदस्यको काठमाडौँमा घर छ । त्यो कहाँबाट आयो ? निर्वाचन चाहिँ दूर दराजको गरिब जनताको मत लिएर जित्ने घर चाहिँ काठमाडौँमा रु हामीले उच्च अधिकारी, प्रधानमन्त्री, मन्त्रीलगायतले आ–आफ्ना क्षेत्रको विकास गर्नुपर्छ । विद्यालय कलेज अस्पताल खोलेर त्यहाँको विकास गर्नुपर्छ भन्दा होइन हामी काठमाडौँबाट नै सेवा लिने बाटो बनाउँछौँ भन्नु हुन्छ । यस्ता मानिसबाट देश विकास हुन्छ भन्ने कल्पना गर्नै सकिन्न । कानुन बनाएर संसदहरु आफ्नो क्षेत्रका जनतासँग बस्ने नियम लागू गरौँ भन्ने हाम्रो माग हो । जनताको भोट पाएर जितिसकेपछि सदरमुकाम र राजधानीमा आएर भ्रष्टाचार गर्ने होइन । जित्न करोड–करोड खर्च गर्ने तर जनताको काम नगर्ने सरकारमा गएर हामीलाई फाइदा छैन । हामी जनतालाई यही सम्झाइरहेका छौँ ।

यहाँहरूलाई तपाईँ सरकारमा आउनु हामी माग सम्बोधन गर्छौं भनेर कुनै दलले भनेनन् ?
सुरुदेखि नै मलाई सरकारमा लान जादु त गरेका थिए । तर हामी त्यो फोहोरी राजनीतिको जालोमा पर्न जाने कुनै मनसायमा थिएनौँ र बनाएनौँ । २०४६ सालपछि नै पटक-पटक प्रयास भयो । बहुदल आउने बित्तिकै हामीले पञ्चायतविरुद्ध बाम मोर्चा र नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गरेका थियौँ । यसपछि पञ्चायत ढल्यो वाम मोर्चाको तर्फबाट मन्त्री बन्ने कुरा आयो । हामीलाई त्यो बेला पनि अफर आएको थियो । हामी गएनौँ तर यिनीहरू गए । गएर अहिले खान पल्किएपछि जुका जस्तो टाँसिएको टाँसिएकै छन् । चुनावमा पैसा बाँड्ने र सरकारमा गएर उठाउने त्यस्ता पार्टीले सिंहदरबार कब्जा गरेसम्म देशहित हुँदैन । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भनेर करोड करोड भ्रष्टाचार गर्ने । यसमा जोडिएको त सिंहदरबार कब्जा गर्ने पार्टीका मान्छेहरू छन् । आरोपीलाई बयान समेत लिएको छैन । लिनु पर्यो नि ।

 यहाँको बुझाइमा शरणार्थी  प्रकरणामा जो-जो आरोपी छन् उनीहरूलाई किन बयान नलिएको होला ? सरकारले जोगाएको हो ?
मिडियामा आए अनुसार शेरबहादुर देउवा जीले आफ्नो श्रीमतीको नाम सार्वजनिक नगर्नु भनेर पाँच पटक फोन गर्नु भयो रे । तीन दल काँग्रेस एमाले र माओवादीका नेताहरू बसेर यसको सहमति गरे भन्ने कुरा पनि आएको छ । यो कुरा भोलि सबै स्पष्ट हुन्छ नि यिनीहरूले अपराध गरेका छन् । त्यो अपराधको पोको खुलेर जान्छ । जनताको आँखा दूरबिन सरह हुन्छ त्यो खुलेर जान्छ ।

यहाँहरूले उठाएका विषय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको छ कि छैन ?
समावेश गरेको छैन । हामीले १२ कक्षा सम्म निःशुल्क शिक्षा गरौँ भनेका थियौँ । स्वास्थ्य सेवा निःशुल्क दिऊ, रोजगार स्वदेशमा नै उत्पादन गरौँ । नेपालीको सम्पत्ति सीमाङ्कन गरौँ । विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गरौँ । भनेर मैले पटक पटक आवाज उठाएको थिएँ । यहाँ त सामान्य मान्छेले दुई चार लाख लोन पाउँदैनन् । बैंकले अर्बौँ पैसा भएको व्यक्तिलाई लोन दिन्छ । यो त गिरोहले सञ्चालन गरेका छन् । एउटा मन्त्रीले सभामा नै भन्नुभएको थियो म मन्त्री हुँ मलाई कसले सञ्चालन गर्छ मलाई नै थाहा छैन । के भयो यो देश भनेर उहाँले भन्नुभएको थियो । हामी कामना गर्छौं यसरी गलत काममा फस्नु हुन्न । यो स्थिति टुङ्ग्याउने किसिमको नीति तथा कार्यक्रम र बजेट आएन । नीति तथा कार्यक्रम नै राम्रो छैन बजेट त झन् कसरी जनताको पक्षमा आउँछ त । यो बजेट र नीति तथा कार्यक्रमप्रति मेरो समर्थन छैन । मैले १७८ बुँदामा ५० बुँदा संशोधन प्रस्ताव राखेको थिए । एउटा बुँदा पनि संशोधन भएन जे नीति तथा कार्यक्रम आयो त्यो पास भयो । उहाँहरू सरकारमा जानु नै देश र जनताको लागि होइन । घर जोड्न र आफ्नो मान्छेलाई कमाउन दिन सरकारमा गएका हुन् ।

यहाँहरूका कुरा सुनुवाइ हुने गरी प्रतिनिधि सभामा यहाँको पार्टीको उपस्थित बलियो कहिले बनाउने ? त्यो संशोधन गर्न चाहिने संख्या कहिले पर्याउनु हुन्छ ?

एक बाली लाउने भने धान रोप्ने हो । धेरै वर्षपछि निरन्तर खाने हो भने फलफूल लगाउने हो । देशलाई नै माथि उठाउने हो भने शिक्षामा लगानी गर्नुपर्छ । हतार मानेर हुँदैन । हतार मानेर जनताले छिटो बुझ्न सक्दैन । हामी बिस्तारै आउँछौँ ।

तर यहाँले यसो भनिरहँदा रास्वपाले पार्टी स्थापना भएको ६ महिनामै २० सिट प्रतिनिधि सभामा उपस्थित गराएको छ । यहाँको पार्टी त पुरानो हो । जनताको तपाईंहरुमाथि आरोप के छ भने नेमकिपा अब सकिन्छ यसको कुनै तुक छैन । के भन्नुहुन्छ ?
हामीले बुझेको राजनीति भनेको ह्वातै प्रगति हुने कुरा होइन । राजनीति भनेको जनतालाई बुझाउँदै जाने कुरा हो । राजनीति सुझबुझमा अगाडि बढ्ने हो । कसैले वाह, वाह गरेको आधारमा राजनीति अगाडि बढ्दैन । र छिटो प्रगतिले मान्छे मातिन्छ । हामी जहाँ जहाँ जान्छौँ जनताले, तपाईँहरूजस्ता मिडियाले राम्रो भूमिका निर्वाह गर्नु भएको छ भन्नु हुन्छ । हामी बिस्तारै सहयोग गर्छौं चिन्ता मान्नु पर्दैन भनेर हामीलाई जनताले सकारात्मक अभिव्यक्ति दिनु भएको छ । जनताले नेगेटिभ कुरा गर्नु भएको छैन । कुनै दलका साथीहरूले गरेको होला । जनता निराश हुनुपर्ने कुनै कारण नै छैन । राजनीतिमा हतार मान्नु हुँदैन पाँच वर्ष १५ वर्ष २० वर्ष समय लाग्छ । जनतालाई हामीले राजनीतिक रूपले सचेत गराउनु पर्ने भएकाले यसरी ह्वारह्वार आगो जस्तो राजनीति हुँदैन । पञ्चायत ढाल्न ३० वर्ष लागेको थियो । राणा शासन १०४ वर्षमा ढल्यो । राणाविरुद्ध लाग्नेहरूलाई पनि एकै दिनमा ढाल्न मन थियो होला नि तर समय त लाग्छ । जनता बुझ्दै हुनुहुन्छ एक दिन यो पल्टन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *