भारत जाँदै प्रधानमन्त्री, राम्रो काम गरेर फर्किने दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणमा जाँदैछन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिउँसो १ः२५ बजे भारत प्रस्थान गर्ने समय तालिका रहेको छ । गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत जाँदैछन् । यो उनको पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।उनले भोलि जेठ १८ गते बिहान ११ बजे भारतीय समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन् । अपरान्ह ४ बजे मौलाना आजाद रोडमा रहेको कार्यालयमा उपराष्ट्रपति जगदीप धनखरसँग शिष्टाचार भेट गर्नेछन् ।

जेठ १९ गते अपरान्ह ४ः३५ बजे राष्ट्रपति भवनमा भारतका राष्ट्रपति दौपदी मुर्मुसँग प्रधानमन्त्री दाहालको भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू, उच्चपदस्थ सरकारी अधिकारीहरू र स्वकीय सचिव गंगा दाहाललगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको भन्दै परराष्ट्रमन्त्री एनपी साउदले आमनिर्वाचनपछि प्रधानमन्त्रीको हुन लागेको उच्चस्तरीय भ्रमणले थप सुदृढ र घनिष्ट हुने विश्वास व्यक्त गरे । ‘सरकारका तर्फबाट पर्याप्त तयारी गरेका छौँ । यो तयारीबाट प्रधानमन्त्रीले सरकारको दरिलो प्रतिनिधित्व गर्नु हुनेछ,’ उनले भने, ‘उच्चस्तरीय भ्रमणले थप सुदृढ र घनिष्ट हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको पक्षमा राम्रो काम गरेर आउने बताएका छन् । सकेसम्म राम्रो काम गर्न कोसिस गर्ने, नभए नराम्रो नगर्ने उनको भनाई छ ।

यस्तो छ दिल्लीमा तयारी
बुधबार साँझ प्रधानमन्त्री प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेट गर्दैछन् । प्रचण्ड-मोदीबीच वार्ता बिहीबार बिहान हैदराबाद हाउसमा हुनेछ । प्रधानमन्त्री प्रचण्डसहितका प्रतिनिधिमण्डललाई चाणक्यपुरीको आइसिटी मौर्य होटेलमा बस्ने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *