एकसाता अघिमात्रै गृहप्रवेश गरेकी थिइन् कार दुर्घटनामा परेकी डाक्टर सञ्जु
काठमाडौँ । बाँकेमा भएको कार दुर्घटनामा ज्यान गुमाएकी डाक्टर सञ्जु खाती खड्का एकसाता अघि मात्रै गृहप्रवेश गरेको खुलेको छ । उनको परिवारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ इतपुरमा नयाँ घर बनाएका थिए ।
सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक डम्बर खड्काकी श्रीमती हुन् । उनी एकसाता अघि मात्रै गृहप्रवेश गरी काठमाडौँ फर्किएकी थिइन् । मंगलबार काठमाडौँबाट घर जाँदै गरेकी उनको कार दुर्घटनामा परी मृत्यु भएको हो ।
मृतक सञ्जु उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी हुन् । डम्बर उपप्रधानमन्त्री खड्काका माइला भाइ हुन् । उनको खड्काको शव सुर्खेत लगिएको छ ।
मंगलबार साँझ ५ बजे उनी सवार बा १३ च ८२५३ नम्बरको कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका-८ मगुवा खोला नजिकै मे १ ख ३३३५ नम्बरको बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी सञ्जुको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । चालक आँपिपल, गोरखाका ३७ वर्षीय सुवास अधिकारीको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।
दुर्घटनामा बसमा सवार ६ जना घाइते भएका छन् । उनीहरू खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारी जानकारी दिए । कार र बस दुवै तीव्र गतिमा भएका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
सम्बन्धित समाचार
कार दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी भाइबुहारीको मृत्यु, चालक पनि बिते