मकालु फोटोकथा

ड्रोनको आँखाबाट सगरमाथाका क्याम्प (फोटोकथा)

‘कस्तो भयो त सगरमाथा यात्रा ?,’ गएको वर्ष मैले मनिष महर्जनलाई यो प्रश्न सोधेको थिएँ । त्यसबेला उनी भर्खरै सगरमाथा आरोहण गरेर फर्किएका थिए । अनुहारमा हिमालले दिएको दाग बाँकी नै थियो ।

‘अरू त ठिकै भयो, चुचुरोबाट ड्रोन उडाउने सपना भने पूरा भएन दाइ,’ उनले जवाफ दिएका थिए । हामी कान्तिपुर टेलिभिजनमा आउने ‘इम्याजिन नेपाल’ कार्यक्रममार्फत भेटिएका थियौँ । 

कुरैकुरामा थाहा भयो, चुचुरोबाट फर्किने बेलामा उनको अक्सिजन सकिएछ । सगरमाथामा अक्सिजन सकिनु भनेको कस्तो हो मलाई थाहा थियो । तर मैले सोधेको खबरमा उनले त्यो भन्दा पहिला ड्रोन उडाउन नपाएको दुःख पोखेका थिए । 

उनी पहिलाबाट नै ड्रोन उडाउने मान्छे भने हैनन् । एसएलसी सकेपछि खुब घुम्न मनपर्थ्यो । साइक्लिङ गर्नुपर्थ्यो । त्यो क्रममा पश्चिम नेपालका धेरै ठाउँहरूमा पुगे । धेरै मान्छे भेटे । 

उनको यात्रा नजिकैबाट देखिरहेका राम शाक्य नामका एक जना दाइले भनिदिए, ‘तिमी यसरी घुमिरहेका हुन्छौ, ड्रोन चलाऊ न ।’ ती दाइ पनि साइक्लिङ गर्थे । उनीसँग भेट भएको पनि हैन । उनी वैदेशिक रोजगारीमा रहेछन् । उनलाई पनि साइकल चलाउन मन रहेछ । तिनै दाइले उनको पहिलो ड्रोन किन्न पैसा सापटी दिए । 

त्यसरी ड्रोन हातमा आयो । जमिनबाट हेरिरहेको चिजलाई माथिबाट हेर्ने क्रम सुरु भयो । पहिलोपल्ट घरको छतबाट उडाउँदा अचम्ममा परे । अचानक नयाँ कोणबाट हेर्दा ‘आफ्नो घर भएको ठाउँ यस्तो रहेछ’ भन्ने भयो । 

त्यो सन् २०१७ तिरको कुरा । ऊ बेला ड्रोन अहिलेजस्ता धेरै थिएनन् । 

उनको ड्रोनसँगको सङ्गत बढ्न थाल्यो । कहिले कामले त कहिले प्यासनले, कहिले प्यासन मिसिएको कामले उनले नयाँ नयाँ मान्छे भेट्दै गए । त्यस्तैमा पोखरा साइक्लिङमा जाँदा उनले खिचेको सटहरू देखेर मान्छेले सुझाए ‘व्यवसायीक रूपमा काम गर तिमी यार ।’

थाहा नै नपाई उनी व्यवसायिक रुपमा ड्रोन उडाउने मान्छे भए । 

बेसक्याम्प र सगरमाथा एउटै फ्रेममा

पहिला पहिला सामान्य ठाउँतिर उडाउँथे, त्यसैले यसको झन्झट धेरै थिएन । अहिले धेरै राष्ट्रिय निकुञ्जहरूतिर उडाउने भएकाले गाह्रो छ । ड्रोन परमिटको झमेला पनि छँदै छ । अरू देशको तुलनामा गाह्रो भएको भनेर धेरैले भनिरहेका हुन्छन् ।  फ्लाइट लग लिएर अनुगमन गर्दा हुनेमा सरकारले पुरानो प्रणाली अपनाएका कारण हुने कागजी झमेलामा ड्रोन चलाउनेहरू परिरहन्छन् । 

ड्रोन उडाउँदा उडाउँदै उनी सामाजिक काममा पनि सक्रिय थिए । त्यसै क्रममा सामाजिक कामहरूकै दौरान छेवाङ शेर्पासँग उनको परिचय भयो । छेवाङ हिमाल आरोहणको क्रममा बितेका शेर्पाका श्रीमतीहरूको बारेमा डकुमेन्ट्री बनाउने योजनामा रहेछन् । उनी पनि त्यसमा जोडिए । पहिलोपल्ट त्यहाँ यही प्रोजेक्टमार्फत उनले सगरमाथामा ड्रोन उडाए । 

सगरमाथाले राम्रै जाँच लियो । त्यति उचाइमा ड्रोन उडाउनु सामान्य काम हैन रहेछ । त्यहाँको हावा अर्कै हुने रहेछ । बटारिएर आउँदो रहेछ । पहिलोपल्टमै दिङबोचेमा ड्रोन क्रयास भयो । 

ड्रोन उडाउँदा सगरमाथा नजिकबाट कति भव्य छ भन्ने पनि थाहा  भयो । हिमालमा त अझ बसिरहेको ठाउँभन्दा ५०० मिटर माथिबाट हेर्न थाल्दा नै धेरै थोक फरक देखिन थाल्दो रहेछ । 

सगरमाथाको सङ्गतले सेभेन्थ समिटमा उनी थिए । त्यसपछि सगरमाथा चढ्ने मेसो मिल्यो । चुचुरोबाट उडाउन नपाए पनि ८००० मिटरमा अवस्थित क्याम्प फोरबाट ड्रोन उडाए । 

यसपालि उनी हिमाल चढ्न हैन सेभेन्थ समिटको लागि फोटोग्राफर भएर गएका थिए । 

सेभेन्थ समिटको लागि काम गर्नेगरी गएका उनी क्याम्प २ सम्म गए । ड्रोन त्यहाँबाट नै उडाए । 

उनलाई ड्रोन उडाउनुको मजा लाग्ने भनेको नै यसले धेरै अगाडि देख्न पाइन्छ । अझ गगल्सलाई आँखामा लगाएर हेर्दा त आफू नजिकै पुगेको जस्तो नै हुन्छ । उनी अगाडि भएको बाटो हेर्नुपर्दा पनि यसलाई प्रयोग गरिहेर्छन् । एकपल्ट मनास्लुमा हराएका आरोहीलाई खोज्न पनि प्रयोग गरिहेरे तर सफलता मिलेन । 

उनलाई एभरेष्टमा समय एकदमै छिटो बित्छ जस्तो लाग्छ । बेलुका ६ बजे सबै जना सुतिसक्छन् । अनि यहीँ नजिकै देखिएको ठाउँ पनि पुग्न समय लाग्छ । 

यसपालि उनले खिचेका फोटाेहरू चर्चित भए । चर्चित नेपाली पेज ‘रुटिन अफ नेपाल बन्द’ ले उनले खिचेको बेसक्याम्पको फाेटाे हालेपछि उनको फोटोको चर्चा भयो । ती त उनका ड्रोन फोटोहरूको कुरा भयो । टाढाबाट देखिएका फोटोहरू । तर यसपल्ट त्यहाँ पुग्दा उनले एभरेष्टका धेरै अरू पक्ष पनि देखे । धेरै शेर्पाहरूको मृत्यु भयो । क्लाइम्बरहरू पनि पहिलाभन्दा धेरै थिए । क्याप ४ बाट एक जनाको रेस्क्यु गरेको छ, जुन अत्यन्तै दुर्लभ हो । अनि यसपालि रोप फिक्सिङ टिममा पनि क्षति भयो । 

‘रुटिन अफ नेपाल बन्द’ ले हालेको चर्चित फोटो

उनलाई लाग्छ सगरमाथालाई टाढा र नजिक दुवैतिरबाट हेर्नुपर्छ । परबाट देखिएका फोटोहरू हेरेर रोमाञ्चित त भइएला सँगै त्यहाँ भएका अनेकौँ कुराहरू नछोपिउन् भनेर सोच्नुपर्छ । ड्रोनले स्याड कुरा हतपती देखिँदैन । तर त्यसलाई सेलिब्रेसनभन्दा पर गएर हेर्नुपर्छ ।  

यी फोटोहरूलाई पनि तपाईँहरू सुन्दर मानेर हेर्नु तर सुन्दर छ भनेर ढुक्क नभइहाल्नु है । 

दक्षिणपट्टिबाट देखिने सगरमाथा बेसक्याम्प
बेसक्याम्पमा घाम छायाको लुकामारी
हिमाल चढ्नुभन्दा पहिला गरिने अभ्यास हुने बेसक्याम्प नजिकैको स्थान
बेसक्याम्पबाट पश्चिमतिरको दृश्य
सगरमाथा जाने बाटोमा पर्ने क्याम्प २
सगरमाथा जाने बाटोमा पर्ने क्याम्प ३
सगरमाथा जाने बाटोमा पर्ने क्याम्प ४ । यो क्याम्पबाट माथि लागेपछि ‘डेथ जोन’ सुरु हुन्छ ।

सगरमाथा

क्याम्प २ मा सेभेन्थ समिटको रोप फिक्सिङ टिम जसमा भर्खरै २६ पल्ट सगरमाथा चढेका चर्चित आरोही कामिरिता शेर्पा पनि छन्
मनिष महर्जन

फोटोहरू: मनिष महर्जन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *