गण्डकीबाट ओलम्पिकमा सहभागी खेलाडीलाई मासिक ५ हजार दिइने

पोखरा । गण्डकी सरकारले प्रदेशभित्रबाट ओलम्पिक खेलकुदमा सहभागी भएका खेलाडीलाई मासिक ५ हजार भत्ता दिने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसदमा नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने क्रममा यस्तो घोषणा गरेका हुन् ।

नेपालले ओलम्पिक खेल्न थालेको ५६ वर्ष पूरा भएको छ । यो अवधीमा गण्डकीबाट ७ जना खेलाडीले ओलम्पिकमा सहभागिता जनाएका छन् । टिका बोगटीले एथ्लेटिक्समा सन् १९८८ को कोरिया र सन् १९९६ एटलान्टामा सहभागिता जनाइन् ।

ज्ञानबहादुर बोहोराले एथलेटिक्समै, सन् २००० को सिड्नी ओलम्पिक, राजेन्द्र भण्डारीले एथलेटिक्स अन्तर्गत सन् २००४ को ग्रिस ओलम्पिकमा सहभागीता जनाए । ऋषि प्रधानले जुडो तर्फ सन् १९८८ कोरिया, भगवती केसीले सुटिङतर्फ सन् २००० सिड्नी, सिताराम शाहीले स्वीमिङतर्फ सन् १९९६ एटलान्टा र नारायण गुरुङले तेक्वान्दो तर्फ सन् १९९२ स्पेन ओलम्पिकमा सहभागीता जनाएका हुन् ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउँदै छ । उक्त बजेट मार्फत ओलम्पिक खेलाडीलाई मासिक भत्ताको घोषणा गरिएको हो । नेपालमा पहिलो पटक सरकारी तर्फबाट ओलम्पियनले भत्ता पाउने घोषणा गण्डकीले गरेको हो । यसका लागि छुट्टै कार्यविधि तयार गरिने मुख्यमन्त्री पाण्डेले जनाए ।

यस्तै, सरकारले बालबालिकाको क्षमता बिकास र प्रतिभा प्रस्फुटनका लागि स्कुलदेखि ओलम्पिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *