‘फेवाताल पुर्ने मतियार बन्यो पोखरा महानगर’
पोखरा । फेवा तालको आसपास सिमसार हो । तर पोखरा महानगरपालिकाले जग्गा वर्गीकरण गर्दा आवास र कृषि प्रयोजनमा छुट्याएको छ ।
सिमसारलाई आवासमा वर्गीकरण गरेपछि किसानहरू आक्रोशित भएका छन् । ‘वर्षौँदेखि खेती गरिएको ठाउँ धमाधम पुरिएको छ । दलदलमा ढुंगामाटो भरिएको छ,’ स्थानीय कूलप्रसाद तिमिल्सिनाले भने, ‘छेवैका कुनै जग्गा आवास भन्छन्, कुनै कृषि योग्य । कसरी फरक पर्यो ?’
पोखरा महानगरपालिकाले कसैलाई काखा र कसैलाई पाखा गरेको उनको गुनासो छ । आवास क्षेत्र भनिएका ठाउँमा पानी जमेर वर्षायाममा समेत काम गर्न नसकिएको तिमिल्सिनाले बताए । ‘अब खेतमा खेतीपाती गर्न सक्ने अवस्था रहेन । प्लटिङ गरेपछि होचो भागमा पानी जमेर पोखरी बन्न थाल्यो,’ उनी भन्छन्, ‘प्लटिङ गरिएका जग्गा पुर्नुपर्यो । नत्र किसान बाँच्ने अवस्था भएन ।’
स्थानीयले महानगर विरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् । जग्गाधनी देवीलाल लामिछानेले पुस्तौँदेखि भोगचलन गर्दै आएको प्राकृतिक रूपमा भएको आफ्नो भूमिमा प्लटिङकै कारण धानखेती गर्न नपाएको बताए । ‘पुर्जा एउटै भएपनि महानगरको नीति फरक फरक भयो । महानगर नै ताल पुर्ने मतियार बन्यो,’ उनले भने । फेवातालको सिमसारलाई आवास क्षेत्रको रूपमा सूचीकृत गरिएपछि यो समस्या आएको हो ।