पर्यटनमन्त्रीको खुलासा- प्रधानमन्त्री महाकालेश्वरबाट ल्याएको जल चढाउन पशुपतिनाथ पुगेका हुन्
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाएका हुन् ।
उनलाई पशुपतिमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले स्वागत गरेका थिए । पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री प्रचण्डसँगै भारत भ्रमणको समूहमा रहेका अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्दिर पनि दर्शन गरे ।
पर्यटन किराँतीले भारतको महाकालेश्वरको दर्शन स्वाभाविक भएको बताए । ‘महाकालेश्वरबाट ल्याएको जल पशुपतिमा चढाउनु पनि थियो । पशुपतिनाथको दर्शन गर्नु पनि थियो । सम्माननीय प्रधानमन्त्री संरक्षक पनि हो, यो सबै सिलसिला मिलाएर जानुभएको हो,’ उनले प्राइम टेलिभिजनसँगको अन्तरवार्तामा भने, ‘धर्मप्रतिको मोह र अमोह हाेइन, राष्ट्रको प्रमुख भइसकेपछि धर्मनिरपेक्ष राष्ट्रमा सबै धर्म संस्कृति समान हुन्छन् । प्रधानमन्त्री ज्यु त्यसको निम्ति जानुभएको हो र जानैपर्छ । यसले नराम्रो गरेको छैन राम्रो गरेको छ ।’