राजनीति सफा नगरी देश परिवर्तन सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश परिवर्तन गर्न नसकिने बताएका छन् ।

आइतबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्र नभएका कारण देशपछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यक्ता पूर्ति गर्न नसकिएको उल्लेख गरे । उनले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताए । उनले राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने स्पष्ट पारे ।

उनले भने, ‘लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर हामीले लडेर लोकतन्त्र ल्यायौँ । यति धेरै लोकतन्त्रका निम्ति संघर्ष भएको देश पनि कमै छन् । ६ दशक निरन्तर संघर्ष, एक पटक थोरै परिवर्तन, फेरि प्रतिगमन, फेरि परिवर्तनका लागि हामीले संघर्ष गरेका थियौँ । लोकतन्त्रपछि पनि जति जनतालाई डेलिभरि दिनुपर्ने हो त्यो हुन सकेन । आजको समस्या त्यो हो । यो राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने नेतृत्वको कमजोरी हो । त्यो कमजोरी पोलिटिक्समा छ । राजनीतिलाई सफा नगरीकन यो देशमा परिवर्तन गर्न सकिँदैन । त्यो जिम्मा हामीमा छ, साथै सबै नागरिकमा छ । राजनीतिबाट भागेर होइन, राजनीतिमै रहेर हामीले बनाउने की बर्बाद गर्ने भन्ने यसमै निहीत छ ।’

मन्त्री श्रेष्ठल १२ कक्षा पास गरिसकेपछि विदेश जाने क्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेको उल्लेख गरे । उनले विकास र विज्ञानलाई मिसाएर नेपालको संस्कृतिको रक्षा गर्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *