कलाका गफी खोजिरहेको ‘डुङ्गा चिया घर’
जेठको उखरमाउलाे गर्मी । तातिएको सहर । हप्प पोल्ने तातो हावाको स्पर्श । आलस्य ज्यानले चिसो खोजिरहेको यो समयमा शीतलताको छहारी काठमाडौँमा सजिलै कहाँ भेट्टाउन सकिन्छ र ? सहरको कोलाहलमा ज्यान तातिरहँदा मनभित्र पनि त कैयन कुराहरू गुम्सिएका होलान् ? तीनलाई पोख्ने ठाउँ कहाँ पाइएला ?
कलाकार रवीन्द्र श्रेष्ठले त्यस्तो ठाउँ बनाएका छन् । तपाइँ हाम्रा कुरा एक अर्कालाई सुनाउँदै भलाकुसारी गर्ने ठाउँ । मनलाई शीतल बनाउने ठाउँ । उनी आग्रह गरिरहेका छन्, ‘आउनुहोस् न चिया खाँदै डुङ्गामा सयर गरौँ, कलाका कुरा गरौँ ।’
उनले बोलाइरहेको ठाउँ हो, ‘डुङ्गा चिया घर ।’
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जेठ १५ गते देखि राष्ट्रिय ललितकला प्रदर्शनी चलिरहेको छ । ६ सय ५० भन्दा बढी कलाकृतिहरू त्यहाँ सहभागी छन् । त्यसमध्येको एक हो रवीन्द्रको प्रतिस्थापन कला- ‘डुङ्गा चिया घर’ । उनले भुईँमा काठको डुङ्गा राखेका छन् । त्यसमाथि उनको फिङ्गर प्रिन्ट आर्ट, केही पुस्तक, छन् । गितार पनि छ । डुङ्गाभित्रै गएर बस्न मिल्छ । त्यति मात्र हैन वरपर बस्न मिल्ने केही काठका मुढाहरू पनि छन् । छेउमै चिया पसल पनि छ । उनको यही ‘डुङ्गा चिया घर’मा बसेर गत शुक्रबार प्राध्यापक अभि सुवेदीले कला र शीतलताको रस्वादनसँगै केही भलाकुसारी गरे ।
त्यहाँ आइपुग्ने कला पारखीहरू तातो चियासँगै अग्ला–अग्ला रुखका छहारीमा बस्छन् । एक अर्कालाई कुरा सुनाउँछन् । डुङ्गामै बसेर निर्धक्कले पुस्तक पढ्छन् र गीतका लयहरूमा आफूलाई शान्त स्वरूपमा ढालिरहेका हुन्छन् । श्रेष्ठ ठान्छन्, ‘यो डुङ्गामा विभिन्न कलाका रङ्ग, आकृति र अर्थहरू घुमिरहेका छन् । आखिर मान्छे र उसका स्वरूपहरू कहाँ कलाविहीन छन् र ?’
कलाकार श्रेष्ठ खासमा विषयको अवधारणामा नै समर्पित गरेर त्यसैबाट आम मानिसका लागि पृथक् हुने किसिमको कला प्रस्तुत गर्छन् । अवधारणामा नै आधारित भएर पछिल्लो एक दशकदेखि उनी प्रतिस्थापन कला सिर्जनामा लागिरहेका छन् । उनका कला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुगेका छन् । पुस्तकलाई चक्कुले काटेर प्रस्तुत गरिएको कला होस् वा, मुलुकको जनयुद्धताका माओवादी लडाकु, सेना र स्वयंको रगत प्रयोग गरी दुई आँखा अङ्कित ‘द भ्वाइस अफ द इन्टिग्रेसन’ शीर्षकको चित्र, पछिल्लो महामारीकै समयमा स्वास्थ्य क्षेत्रमा सुशासनका लागि लडेका डाक्टर गोविन्द केसी, अमेरिकाको रङ्गभेदमा मारिएका जर्ज फ्लोएड, जातीय विभेदमा रुकुम नरसंहारमा मारिएका नवराज विकसम्मका घटनाहरूमा आधारित भएर तयार गरिएको ‘औँठाछाप’ क्यानभास होस् या, बृहत् नागरिक आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘नयाँ युगको सुरुवात’ सहितको फोटो छापिएको पत्रिकालाई ‘फर सेल’ लेखी आफ्ना हस्ताक्षरसहित प्रदर्शन र बिक्री गरिएको कला । उनका कलाहरू समसामयिक विषयको चेतसँग नजिक हुन्छन् । जसलाई उनी अवधारणागत कलाका रूपमा स्वीकार्दै कलाकै फर्ममा प्रतिस्थापन गरेर देखाउँछन् ।
धारणासहितको प्रतिस्थापन कला देखाउने कलाकारहरूले विशेषतः कुनै समय, वस्तु, परिवेश तथा परिघटनामाथि अवधारणा बनाउँछन् अनि आफूले छनौट गरेको कुनै वस्तुलाई कलाको शैलीमा ढालिदिन्छन् । यसलाई कलाविज्ञहरुले उत्तरआधुनिक कलाका रूपमा परिभाषित गर्छन् । सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक परिवर्तनसँगै कलामा पनि आधुनिकता हुँदै उत्तरआधुनिक पक्षको प्रभाव देखिन्छ । जसमा कलाकारहरूले विभिन्न माध्यममा कला सिर्जनाको दायरा बढाएका छन् । श्रेष्ठ आफ्ना पछिल्लो प्रदर्शित कलालाई पब्लिक आर्टको रूपमा व्याख्या गर्छन् । भन्छन् ‘कला भन्ने बित्तिकै सामान्य मान्छेले बुझ्न सक्दैनन् भन्ने कन्सेप्ट हुनु हुँदैन । कला त सबैले बुझ्ने खाले हुनुपर्छ ।’ उनको विचारमा सामान्य चिया गफकै क्रममा कलाका थुप्रै विषयहरु आउन सक्छन् । कलासँगै यसैमा मानिसका अनुभूतिहरू समेत जोडिन्छन् ।
‘डुङ्गा नै किन ?’
भाषा, साहित्य कला, सङ्गीतको माहौलले कलालाई अर्को तहसम्म यात्रा गरोस् भन्ने उनको उद्देश्य हो । त्यसैले त उनले यात्राकै प्रतिबिम्बसहित डुङ्गालाई जोडेका छन् । डुङ्गा आफैँमा यात्राको सारथी हो । मानव सभ्यतामा डुङ्गा र मानवबीच यात्रामा जोडिएका थुप्रै कथाहरू अटाएका छन् । ‘यो त आफैँमा यात्राका लागि मेटाफोर हो । यात्राको क्रम धनी, गरिब सबै खाले मान्छेलाई यसले जोडेको छ ।’ उनी भन्छन् ।
डुङ्गालाई नै लिएर बनाएको उनको यो पहिलो प्रतिस्थापन कला भने होइन । डुङ्गालाई मानवता र समस्याको समाधानको बिम्ब बनाएर उनले यसअघि पनि कला प्रस्तुत गरिसकेका छन् । म्यानमारमा सैनिक ‘कु’ पछि ज्यान गुमाएका बर्मेली जनतालाई श्रद्धाञ्जली अर्पण गर्न उनले झन्डै दुई वर्षअघि माइतीघरमा ‘ह्युम्यानिटीः अल वी आर कनेक्टेड’ शीर्षकमा डुङ्गाभरि फूलहरू राखेर आम सहभागीहरूलाई श्रद्धाञ्जली शब्द अर्पण गर्न लगाएका थिए । उक्त कला सिर्जनामा उनले हाम्रो जात, भाषा, भौगोलिक क्षेत्रमा अलग भए पनि हामी मानवताको नातामा एकर्कामा जोडिएका छौँ भन्ने कुरा देखाएका थिए । अहिले पनि दैनिक जसो उनको डुङ्गा कलामा मानिसहरू विभिन्न क्षेत्रबाट एक–अर्कामा जोडिरहेका छन् । तिनै मानिसहरूको बातचित सुन्दै उनी चियाको कप नजिकै राखिदिन्छन् र आफूलाई लागेको कुरा त्यसैमा थपिदिन्छन् । कलालाई आम मानिसको पहुँचमा ल्याइपुर्याउने उनको यो अर्को जमर्को पनि हो । यसलाई उनी आफूले चाहेको स्थानमा स्थानान्तरण गराउने सक्ने ‘मोबाइल आर्ट’ पनि भन्छन् ।
कलाको विभिन्न रूप जस्तै उनको डुङ्गाले पनि विभिन्न स्थान र परिवेशको यात्रा गरिरहेको छ । जेठ ३० गतेपछि उनले यसलाई धुलिखेलको कुनै समथर उचाइमा राखेर हिमाल देखाउन चाहेका छन् । त्यहाँ सहभागीहरूले हिमाल हेर्दै डुङ्गासँगै हिमाल, पर्यावरण र मान्छेका कुरा गरुन् भन्ने उनको आकाङ्क्षा छ ।
‘डुङ्गाको कथा कसरी सुरु भयो ?’
श्रेष्ठको डुङ्गाले उनीसँग सहकार्य गरेको दुई वर्ष पूरा भयो । यो डुङ्गा पोखरास्थित फेवातालको किनारबाट धापाखेलस्थित नागदहमा डेढ दशकअघि आइपुगेको थियो । श्रेष्ठका अनुसार कृष्ण मालीले झन्डै सात वर्ष दहमा डुङ्गा चलाए । त्यसपछि बिदेसिएका उनी फेरि नेपाल फर्केपछि पाँच/छ वर्ष फेरि डुङ्गा खियाउनतिरै लागे । त्यसपछि नागदहमा यो डुङ्गा दुई तीन वर्षसम्म बेवारिसे अवस्थामा रह्यो । हराइरहेको काठ निर्मित डुङ्गाको इतिहासलाई नियालिरहेका श्रेष्ठले यसलाई ब्युताउन कलाको फर्ममा ल्याउने आइडिया दिमागमा ल्याए ।
उनले उपत्यकाभरि खोज्ने क्रममा नागदहमा यो डुङ्गा फेला पारेका थिए । अब डुङ्गाले कलाको मात्र होइन, आफ्नो कथा पनि आम मानिसलाई बताउँदै जानुपर्छ भन्ने उनको सोच छ । ‘डुङ्गाजस्तै हामीले देख्दै आएका कतिपय पुराना कुराहरू हराउँदै गएका छन् । ती कुरा हाम्रो सम्झनामा मात्र छन् । त्यसलाई हामीले खोज्न जरुरी छ।’ उनी भावुक हुन्छन् ।
अहिले धेरै कुरा हराइरहेका छन् । खोला र नदीनाला हिँड्ने बाटाहरू, पीपल र बरका चौतारीहरू, धान फल्ने खेतका फाँटहरू, झ्याउरे गीतका लयहरू, मन्दिरभित्रका विराजमान मूर्तिहरू र अनि ती सबैको संरक्षण गर्नुपर्ने मान्छेहरू, सबै सबै हराइरहेका छन् ।
श्रेष्ठ चाहन्छन् ‘ती सबै कुरालाई कलामार्फत खोजी गरिरहूँ । यात्रा गरिरहूँ ।’