चर्पी बनाउन पठाएको रकम प्रधानाध्यापकको खल्तीमा, अख्तियारले हाल्यो अदालतमा मुद्दा
पोखरा । कास्कीका एक प्रधानाध्यापक विरुद्ध विद्यालयको शौचालय निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्दा दायर भएको छ । माछापुच्छ्रे गाउँपालिका-६ मा रहेको कैलाश टेत्सुओ आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीमाथि आर्थिक वर्ष २०६७/६८ मा विद्यालयको शौचालय निर्माण गर्न निकासा भएको रकम हिनामिना गरेको आरोप छ । बैंकबाट रकम झिकेर शौचालय निर्माण नगरेको अख्तियारको आरोप छ । शौचालय नबनेपछि जिल्ला शिक्षा कार्यालयबाट पटक पटक बेरुजु खातामा दाखिला गर्न निर्देशन दिइएको थियो । तर पौडेलले रकम फिर्ता गरेनन् ।
शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी जम्मा ३ लाख १२ हजार उनले हिनामिना गरेको आरोप छ । उक्त रकम पौडेलबाटै असुल उपर गर्न मागदावी पनि गरिएको छ ।