स्थानीय वस्तु उपभोगले अर्थतन्त्रमा पार्ने प्रभाव
अवधारणा
उपभोक्ताले हरेक दिन ठुला व्यापारिक मल तथा डिर्पाटमेन्टल स्टोर वा स्थानीय स्वामित्वमा रहेका व्यवसायबाट सामान र सेवा खरिद गर्ने निर्णय लिइरहेका हुन्छन् । लागत, सुविधा र विविधताले हामीलाई अक्सर यस्ता निर्णय लिन उक्साउँछन् । स्थानीय वस्तु किन्नुका अमूर्त फाइदा हामीले दैनिक सुनिरहेकै हुन्छौँ । नेपालमा केही वर्षपहिले मानिससँग किनमेलको लागि एक मात्र विकल्प स्थानीय वस्तु थिए । हाम्रा हजुरबुबा हजुरआमाले आफ्नो खेतबारीमा उब्जाएको अन्न, तरकारी, फलफूल खानुहुन्थ्यो र आफ्नै ठाउँमा हातले बनाएका कपडा, औजार र अन्य सामान प्रयोग गर्नुहुन्थ्यो । आजको विश्वव्यापी बजारले हाम्रो आफ्नै समुदायमा उपलब्ध नहुने वा अन्यत्र उत्पादन भएका सामान सस्तो मूल्यमा घरैमा डेलिभर गरेर हाम्रो हरेक इच्छा पूरा गर्न थालेका छन् ।
विलासिताका जस्तोसुकै वस्तु जुनसुकै स्थानमा सहज रुपमा पाउनु मानव चतुरताको एउटा प्रमाण हो । आर्थिक रूपमा उथलपुथल भएको र वातावरणमैत्री आजको समयमा धेरै उपभोक्ताले आफ्नै क्षेत्रका उत्पादन आफ्नै गाउँठाउँमा किन्न तत्पर रहेको पाइन्छ । स्थानीय वस्तु प्रयोगसम्बन्धी हालको अवधारणाले व्यवसायीलाई आफ्नै समुदायभित्र अन्य साझेदार व्यवसायलाई समर्थन गर्ने विशेष अवसर प्रदान गर्दछ । पक्कै पनि स्थानीय वस्तु किन्नुका धेरै फाइदा छन् । यद्यपि, यो अवधारणाले मूर्त रुप पाउन कम चुनौतीपूर्ण अवश्य छैन ।
स्थानीय अर्थतन्त्रको माध्यमबाट परिचालित हुने पैसाले प्रत्येक लेनदेनको हिस्सा बन्ने सबैलाई फाइदा गर्छ । स्थानीय वस्तु तथा सेवा प्रयोग गर्नुको अर्थ बाहिरी बजारलाई पर्खाल लगाउनु होइन । यसको अर्थ स्थानीय स्वामित्वमा रहेका व्यवसाय प्रवर्द्धन गर्नु हो, जसले स्थानीय स्रोत दिगो रूपमा प्रयोग, स्थानीय कामदारलाई उचित पारिश्रामिकसहितको रोजगारी र स्थानीय उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्नु पनि हो । स्थानीय स्वामित्वमा रहेका व्यवसायले बिक्रीको परिमाण बढेसँगै कर्मचारी थप गर्दै जाने गरेको विभिन्न अध्ययनले देखाएको छ । यसबाट स्वभाविक रुपमा रोगगारीमा वृद्धि हुन्छ । यसबाहेक, स्थानीय व्यवसायको विस्तारले थप आर्थिक स्थिरता, मन्दीलाई प्रतिरोध गर्न सक्ने स्थानीय अर्थतन्त्रको विकास र समतामूलक समाज निर्माणमा सघाउँछ ।
स्थानीय वस्तु तथा सेवा उपभोगसम्बन्धी रोचक तथ्याङ्क
१. ठूला व्यापारिक घरानाको तुलनामा स्थानीय व्यवसायले प्रतिवर्ग फिटमा ७० प्रतिशतभन्दा बढी स्थानीय व्यापारिक गतिविधिको सिर्जना गर्दछ ।
२. ठूला व्यापारीक घरानामा भन्दा स्थानीय व्यवसायमा हामीले गर्ने खर्चले स्थानीय अर्थतन्त्रको लागि साढे तीन गुणा बढी सम्पत्ति सिर्जना गर्दछ ।
३. स्थानीय व्यवसायहरूमा काम गर्नेले साठी प्रतिशत तथा ठुला व्यापारिक घरानामा काम गर्ने कामदारले ३९ प्रतिशत गुणस्तरीय ग्राहक सेवा प्रदान गर्दछन् ।
४. स्थानीय वस्तु बिक्रेताहरूले आफ्नो आम्दानीको ५२ प्रतिशत र ठूला व्यापारीक घरानाले १४ प्रतिशत मात्र स्थानीय अर्थतन्त्रमा पुनः लगानी गर्ने गर्दछन् ।
स्थानीय वस्तु तथा सेवा उपभोगका फाइदा
(क) स्थानीय अर्थतन्त्रमा वृद्धिः
जब हामी स्थानीय व्यवसायलाई समर्थन गर्छौँ, हाम्रो पैसा हाम्रै समुदायमा पुनः परिक्रमा हुन्छ र गुणक प्रभाव सिर्जना गर्दछ । स्थानीय रूपमा खर्च भएको रूपैँयालाई स्थानीय रूपमा पुनः खर्च गर्न सकिन्छ, आर्थिक गतिविधिको समग्र स्तर बढाउन, थप तलब भुक्तान गर्न, र स्थानीय कर वृद्धिको आधार निर्माण गर्न सकिन्छ । साथै स्थानीय व्यवसायले प्रत्येक रूपैयाँको ठूलो हिस्सा पुनः वितरण गर्दछ, किनकी उनीहरुले स्थानीय स्वामित्वको आपूर्ति श्रृंखला सिर्जना गर्छन् र आफ्ना कर्मचारीमा लगानी गर्छन् । स्थानीय व्यवसायमा खर्च गरिएको प्रत्येक १०० रुपैँयाबाट ६८ रुपैँया स्थानीय अर्थतन्त्रमा नै रहन्छ भन्ने कुरा अध्ययनले समेत देखाएको छ ।
(ख) रोजगारी सिर्जनाः
साना व्यवसायहरू प्रायः हाम्रा समुदायका सबैभन्दा ठूलो रोजगारदाताहरू हुन । स्थानीय वस्तु उपभोग÷ खरिद गर्नु भनेको रोजगारी स्तरहरू स्थिर हुने सम्भावना बढाउनु हो । र स्थानीय बासिन्दालाई उनीहरूको समुदायमा काम र किनमेल गर्ने थप अवसरहरू सिर्जना गर्नु पनि हो ।
(ग) उपभोक्ताको छनोटको अधिकारमा वृद्धिः
स्थानीय व्यवसायसँग सानो उपभोक्ता आधार भएकाले तिनीहरुसँग समुदायको लागि आफ्नो उत्पादन र बिक्री रणनीतिहरू टेलरिङ गर्ने अवसर हुन्छ । यसले स्थानीय उत्पादन र सेवाहरूको विविधता बढाउन र समुदायको मागलाई राम्रोसँग पूरा गर्न मद्दत गर्छ । थप रूपमा, स्थानीय कालिगढहरू वा उत्पादकहरूका उत्पादनहरूले उपभोक्ताहरूलाई विश्वभरका साथी र परिवारसँग आफ्नो समुदायको संस्कृति फैलाउन अवसर प्रदान गर्दछ ।
(घ) सामाजिक मूल्य मान्यतामा वृद्धिः
स्थानीय उत्पादनविनाको संसारको कल्पना गर्न सकिँदैन । तिनीहरूले हाम्रा समुदायलाई जीवित राख्न मद्दत गर्छन् । सफल साना व्यवसायद्वारा सेवा गरिएका समुदायले सामाजिक मूल्यमान्यता बढाउन मद्दत गर्दछन् । यो वृद्धिले नयाँ लगानी आकर्षित गर्न र स्थानीय कर, राजस्वमा वृद्धि गर्न मद्दत गर्छ र बढेको स्थानीय कर राजस्वले हामीलाई पूर्वाधार विकासमा लगानी गर्न मद्दत गर्छ । फस्टाइरहेको साना व्यवसायका फाइदा आर्थिक लाभहरूमा मात्र सीमित हुदैनन् । स्वतन्त्र व्यवसायले समुदायको आत्म–छवि परिभाषित गरी त्यहाँ बस्ने मानिसका लागि गर्वको भावना सिर्जना गर्दछन् । सरल शब्दमा भन्नुपर्दा यी व्यवसायले हाम्रो समुदायको पहिचानलाई आकार दिन्छन् र हामीले खाने, किनमेल गर्ने र रमाइलो गर्ने ठाउँमा समुदायलाई घरजस्तो महसुस गराउने सम्भावना रहन्छ ।
(ङ) स्थानीय उद्यमशीलता प्रवर्द्धनः
स्थानीय उद्यमी सिर्जना भई बाहिरीबाट आउने दक्ष कालिगढ कामदारको सट्टा आफँै सक्षम हुने प्रयत्न गर्दछन् । यसबाट साना व्यवसायी ठूलो र दक्ष व्यवसायी बन्ने सम्भावना रहन्छ । थप रूपमा, स्थानीय आर्थिक वृद्धिले नयाँ प्रतिभा र दक्ष जनशक्तिलाई आकर्षित गर्दछ, जसले स्थानीय उद्यमशीलतालाई प्रवर्द्धन गर्दै हाम्रो स्थानीय अर्थतन्त्रलाई बढाएर आफ्नै व्यवसाय सिर्जना गर्न मद्दत पुर्याउँछ ।
(च) वातावरणीय प्रभाव न्यूनीकरणः
स्थानीय वस्तु तथा सेवा खरिद हाम्रो समुदायका लागि आर्थिक रूपमा बाध्यकारी र वातावरणीय सुरक्षाको लागि प्रभावकारी छ । स्थानीय रूपमा खरिद गर्दा सामान प्याकेजिङ र ढुवानी वापत खर्च हुने समय र इन्धनको बचत हुन्छ साथै फोहोरको उत्पादन र प्रशोधनमा कमी आउँछ, जसले गर्दा वातावरणीय प्रदूषण न्युनीकरणका लागि सहयोग पुग्दछ । साथै स्थानीय उत्पादन खरिदका लागि यातायातका साधन कम प्रयोग गर्नुपर्ने तथा तय गर्नुपर्ने दूरी नजिक हुने हुँदा यातायात व्यवस्थापन साथै ध्वनी र वायु प्रदुषण जस्ता कुरा निराकरणका लागि समेत महत्वपूर्ण हुन्छ ।
स्थानीय वस्तु प्रवर्द्धनमा सरकारी प्रयास
विगतका वर्षदेखि नै स्थानीय वस्तु प्रवर्द्धनमा नेपाल सरकारबाट प्रयत्न नभएको होइन । सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका, २०७१ जारी भई लागू भएको छ । साथै सोही प्रकृतिको विषयमा हालै मात्र मन्त्रिपरिषद्ले सम्भव भएसम्म सबै सरकारी निकायले स्वदेशी वस्तुको उपयोग गर्ने प्रबन्ध मिलाउने भनी निर्णय गरेर सम्बन्धित निकायमा परिपत्र गरेको अवस्था छ । प्रदेश सरकार र स्थानीय तहले प्रतिस्पर्धामा नै स्थानीय वस्तुको उपभोगलाई प्राथमिकता दिन कानून निर्माण तथा निर्णय गरेको देखिन्छ । गत आर्थिक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय आर्थिक विकासका पक्षहरुको समग्र अवस्थाको मूल्याङ्कनका माध्यमबाट स्थानीय आर्थिक विकासको प्रवर्द्धनमा सहयोग पु¥याउन स्थानीय आर्थिक विकास मूल्याङ्कन कार्यविधि, २०७९ जारी गरी सबै स्थानीय तहमा पठाएको अवस्था छ । जसको मूलभुत सार स्थानीय उत्पादनमा वृद्धि गरी रोजगारी र स्थानीय अर्थव्यवस्थामा सुधार गर्नु नै देखिन्छ । तर यसको कार्यान्वयन गर्ने निकायको संलग्नता उत्साहजनक देखिएको छैन । सरकारी तबरमा नीतिगत ब्यवस्था गर्ने होडबाजी चलेता पनि साझेदार निकायबीचको सहकार्य र समन्वय अभाव तथा कार्यान्वयनमा सामन्जस्यता नहुँदा ठोस उपलब्धी हासिल हुन समय लाग्ने देखिन्छ ।
निष्कर्ष
नेपालका स्थानीय तह, निजी क्षेत्र र नागरिक समाजले स्थानीय आर्थिक विकासको आधारशिला हासिल गर्न उपायको खाजी गरिरहेका छन् । व्यापार उदारीकरण, निजीकरण र विस्तारित दूरसञ्चार तथा एकै समयमा ठूलो विकेन्द्रीकरण नीतिका कारण स्थानीय तहले प्रजातान्त्रिक सुधार र अर्थतन्त्रमा परिवर्तनको सामना गरिरहेका छन् । यी परिवर्तनका कारणबाट स्थानीय तह र नागरिकले भयंकर चुनौती, ठूलो अवसर र बढ्दो जिम्मेवारीको सामना गर्दै सहकार्य, साझेदारी र समन्वयमार्फत स्थानीय अर्थव्यवस्थालाई मजबुत र चलायमान गरी नागरिकको जीविकोपार्जन र रोजगारी सिर्जनातर्फ केन्द्रित हुन जरुरी छ । जसका लागि स्थानीय आर्थिक विकास एउटा अपरिहार्य आवश्यकता हो । स्थानीयले समाजको उज्वल भविष्यको अपेक्षासहित स्थानीय व्यवसायमा लगानी गरेका हुन्छन् । जब उपभोक्ताले यस्ता व्यवसायलाई सहयोग र समर्थन गर्दै जान्छन् तब मात्र ब्यवसायले आफ्नो उत्पादन र गुणस्तरमा समेत वृद्धि गर्दै जान्छन्, जसले हाम्रो स्थानीय अर्थतन्त्र जीवित र चलायमान राख्न मद्दत गर्दछ । साथै हाम्रा सामाजिक मूल्य र मान्यताको विकास र विस्तारमा समेत महत्वपूर्ण टेवा पु¥याई स्थानीय सरकारको उपस्थितिलाई सार्थकता प्रदान गर्न ठूलो भूमिका खेल्दछ । (लेखक धनकुटा नगरपालिकामा आर्थिक विकास अधिकृतको रुपमा कार्यरत छन् ।)