मकालु रिभ्यु

जब हर्क वा बालेन जस्तै एक मेयर आफ्नै शहरको फुटपाथमा असुरक्षित हुन्छन्

यो डकुमेन्ट्री एउटा नक्साबाट सुरु हुन्छ । नक्सामा इजरायल र प्यालेस्टाइन देखिन्छन् । अनि देखिन्छ रामाल्ला शहर । त्यो प्यालेस्टाइनको राजधानी (जसलाई इजरायलले पनि आफ्नो हिस्सा भन्छ) जेरुसलम नजिकै छ । नक्सामा नजिकै देखिने ती क्षेत्र खासमा कति धेरै टाढा छन् । नक्सामा नजिकै देखिने कति देशहरू खासमा एक आपसबाट कति धेरै टाढा छन् । युक्रेन र रसियालाई नै हेर्नु न । 

त्यसमा केही अक्षरहरू देखिन्छन् । तीनले त्यो शहरको कथा भन्छन् । अनि अन्तिममा लेखिन्छ ‘यो रूपान्तरण हुँदै गरेको शहर हो ।’ रूपान्तर हुँदै गरेको तर कस्तो रूपान्तरण ? खासमा धेरै सहर आफूले चाहेको जसरी रूपान्तरण हुन पाउँदैनन् । युक्रेनका शहरहरू के त्यसरी नै रूपान्तरण हुन चाहेका थिए होला ?

त्यसपछि मेयर देखिन्छन् । उनी वरपरका सबैले चिन्ने मान्छे हुन् । सबैसँग मिल्छन् । सबैसँग आदर पाउँछन् । सुरुवातकै एउटा दृश्यमा उनी हिँड्दै अफिस जाँदै छन् । उनलाई सडकको कारमा रहेको एक बच्चाले बोलाउँछन् । ‘म कसरी तिमीलाई मद्दत गरौँ?’ मेयर सोध्छन् । ‘हेल्लो भनिदिएर ।’ बच्चा भन्छन् । 

त्यो शहर त्यति बेलासम्म कति ढुक्कले बसिरहेको थियो भन्ने कुरा त्यो संवादले भन्छ । उनी शहरवासीको लागि कति प्रिय छन् त्यसले देखाउँछ । उनी त्यसपछि अफिस पुग्छन् । जाँदै गर्दा बाटोमा शहरको ठूलो नाम लेखिएको बोर्ड आउँछ । त्यसमा ‘वि रामाल्ला’ अर्थात् ‘हामी रामाल्ला’ लेखिएको हुन्छ । उनी त्यसलाई एकछिन हेर्छन् अनि अफिस पुग्छन् । 

अफिसमा सहरलाई ब्राण्डिङ गर्नुपर्ने कुरा आइरहेको हुन्छ । उनका सहकर्मीहरू सहरलाई के के हिसाबले ब्रान्डिङ गर्न सकिएला भनी बताउँछन् । कोही यस्तो सहर त कोही उस्तो सहर भनिबस्छन् । उनी तीनले भनेका सबै कुरा बाह्य नारा हुन् भन्दै भन्छन् ‘यदि कसैले सहरको ब्राण्डिङको कुरा गर्छ भने त्यहाँ ट्राफिक लाइट, फुटपाथ, रुखहरू, स्ट्रिट साइनहरू पर्नुपर्छ ।’ उनको जोड सहरका आधारभूत कुराहरूमा रहन्छ । सबैभन्दा पहिला मान्छे ठोक्किने प्रणालीमा रहन्छ ।

उनी भन्छन् ‘मान्छेहरू हाम्रो सेवा नभई धेरै थोक गर्न सक्दैनन् ।’ उनले भनेको यो कुराले कुनै सहर व्यवस्थित हुन अनि त्यहाँ स्थानीय तह भएको आभास गर्न कति नजिकसम्म पुगेर शहरको प्रशासनले काम गर्नुपर्छ भन्ने झल्किन्छ ।   

केही दृश्यहरूमा उनी स्कुल निरीक्षणमा जान्छन् । स्कुलका ढोकाहरू हेर्छन् । केही ढोका नलाग्ने भएका हुन्छन् । उनी तीनलाई अर्को पल्ट आउँदा लाग्ने बनाउनु भन्ने निर्देशन पनि दिन्छन् । त्यो दृश्यले कुनै शहर राम्रो हुनु छ भने शिक्षाको ढोका राम्रो र बलियो हुनुपर्छ भन्ने कुरा भनेको जस्तो लाग्छ । 

यी सबै कुरा भइरहँदा काठमाडौँका बालेन शाह वा धरानका हर्क साङ्पाङको याद आइरहन्छ । धरानमा हर्कले खानेपानीलाई जसरी प्रमुख मुद्दा बनाएका छन् अनि काठमाडौँमा बालेनले जसरी विद्यालय लक्षित कामहरू गरिरहेका छन्, तीनको काम र डकुमेन्ट्रीका मेयरको कामको सोचाइ मिल्छ । 

तर यो सबैमा मिल्दैन पनि । 

उनीहरू एउटा खुला ठाउँमा जान्छन् । भर्खरै बनाइएको नयाँ खुला ठाउँमा त्यहाँ बेन्च लगाउने कुरा भइरहेको हुन्छ । त्यो ठाउँ ठुलो हुँदै गरेकोमा त्यसमा लाग्ने स्थानीय खुसी हुन्छन् । उनको खुसीमा मेयर पनि खुसी हुन्छन् । त्यसलाई पार्क बनाउने कुरा भइरहँदा पार्क बनाउनेमध्येको एउटा मान्छे आफूले पार्क बढाउनलाई अलिक परको कुनै सानो घर भत्काउँदै छु भनेर सुनाउँछ । मेयर भन्छन् ‘त्यो त महिलाको बाथरुम हो । यो मान्छेको सम्पत्ति हो । हामीले त्यसलाई भत्काउन पाउँदैनौँ ।’

त्यसपछि उक्त युवकले ‘तपाईँले पुरानो शहर पुरै परिवर्तन गरिदिनुभयो’ भन्दा मेयर खासै उज्यालो अनुहार लाउँदैनन् । सबै पुरानो भत्काएर नयाँ शहर बनाउन सकिँदैन भन्ने कुरा उसको अनुहारले भनेको जस्तो लाग्छ । 

मेयर बाटोमा गइरहेको बेला कसैले फोहोरमा आगो लगाएको छ । त्यसको धुवाँ पत्पती गनाइरहेको छ । वायुमण्डल दूषित भइरहेको छ । उनी फेरी खुसी हुँदैनन् । शहरमा बस्नेले आफ्नो ठाउँ मात्र सफा पारेर हुँदैन । आफ्नो वरपरको स्थानलाई सफा पार्ने नाममा बालिने आगोले समग्र सहरलाई नै प्रभावित पार्छ । 

सहरमा सफाइ कार्यक्रम पनि भइरहेको छ। एक अभियन्ता महिला सहभागीहरूलाई सम्बोधन गर्दै भनिरहेकी छन् ‘सडकमा फोहोर फ्याँक्नेहरू सम्झिनु । तपाईँहरूकै अंकल वा दाजुभाइ त्यसलाई टिपिरहेका हुन सक्छन् । कुनै दिन यस्तो अवस्था आओस् कि फोहोर सफा गर्नुपर्ने पेसा नै नहोस् ।’ 

तर यसरी सबैथोक ठिक चलिरहेको बेलामा रामाल्ला शहरले नयाँ कुरा झेल्नुपर्छ । उसले केही गरेको हैन । त्यहाँ केही भएको हैन । तर भूराजनीतिक झमेलामा देश पर्दा त्यसको मूल्य पनि त्यो शान्त सहरले चुकाउनुपर्छ । 

डोनाल्ड ट्रम्पले इजरायलको राजधानी जेरुसलममा सारेको घोषणा गर्छन् । अमेरिकी राजदूतावास पनि त्यहाँ नै सर्छ । जेरुसलम त्यतिन्जेल प्यालेस्टाइनको राजधानी थियो । दुवै देशले खासमा यसलाई आफ्नो भनिरहेका थिए । दुवै देशले आफ्नो भनेको ठाउँ कहिल्यै शान्त रहँदैन । काश्मीरलाई नै हेर्नु न । रामाल्ला सहरबाट १० माइल मात्र टाढा रहेको छिमेकी सहर थियो जेरुसलम । ओल्लो घर पल्लो घर जस्तो थियो । विश्वको शक्तिशाली देशले आफ्नो शक्तिको बलमा कसैलाई काखा गर्दा पाखा परेको अर्को शहरले त्यसको मूल्य चुकाउनुपर्‍यो । 

अमेरिका देशसँग खेल्ने पनि अनि यसरी देशमै बस्ने पनि । डकुमेन्ट्रीमा यस्ता धेरै दृश्य छन् जसले अमेरिकाको दोधारे नीतिलाई ब्यंग गर्छन् ।

विश्वका शक्तिशालीहरूको जुधाइमा यसरी नै कति धेरै बाच्छाजस्ता सहरहरू मिचिइरहेका छन् । 

मेयरले हेर्दा हेर्दै प्रदर्शनकारीलाई नजिकैबाट देख्नुपर्ने अवस्था आउँछ । सेनाले उनीहरूलाई खुट्टामा गोली हानेको देख्नुपर्ने अवस्था आउँछ ।

उनी आफ्नो शहरको मुद्दा लिएर विश्वका धेरै फोरमहरूमा पनि पुग्छन् । अमेरिकामा नै पुगेर तिमीहरू जे लाई आधारभूत अधिकार भनिरहेका छौ ती नै हामीले पाउँदैनौँ भनिभ्याउँछन् ।

उनी ह्वाइट हाउस अगाडी पुगेको एउटा दृश्यमा उनले त्यसलाई हेर्दै आफ्नो सहरको अवस्था कल्पिएको जस्तो लाग्छ । त्यहाँबाट फर्किएपछि उनी भन्छन् ‘मलाई अरू शहरहरूमा जाँदा ईर्ष्या लाग्छ । उनीहरू ती धेरै कुरा गर्न सक्छन् जुन हामी गर्न सक्दैनौँ । हामीले गर्न नचाहेर हैन, तर त्यो कुरा हाम्रो हातमा छैन ।’

उनले हातमा छैन भनेको कुरा फेरी पनि भूराजनीति हो । फेरी पनि तत्कालै नदेखिएका तर भोली कुनै पनि बेला असर गर्न सक्ने कुराहरू हुन् । ती कुराहरूले कति चाँडै कुनै ठाउँको शान्तिलाई बिथोल्न सक्छन् भन्ने कुरा पनि यो डकुमेन्ट्रीले देखाएको छ । त्यहाँ क्रिसमस मनाउने तयारी भइरहेको हुन्छ । त्यो पनि हुन पाउँदैन । उनीहरूले फाउन्टेन बनाइरहेका हुन्छन् । आन्दोलनका क्रममा हानिएका डुङ्गाले त्यसलाई पनि लाग्छ । 

अन्तिममा कस्तो पनि हुन्छ भने मेयर भएकै बिल्डिङ बाहिरसम्म सेना आइपुग्छन् । उनीहरू मान्छेहरूलाई धरपकड गर्छन् । 

घरको छतमा बसेर मेयरका परिवार परको डाँडाका घरतिर हेर्दै भन्छन् ‘उनीहरूले केही गरेका छैनन् र पनि हामी निसास्सिइरहेका छौँ ।’

शहरका स्कुल फेरिन्छन् । डकुमेन्ट्रीमा स्कुलहरू जेलजस्तो देखिन थालेको कुरा पनि सुनिन्छ ।

+++++

ती मेयर र नेपालमा चर्चा कमाइरहेका दुई मेयर बालेन र हर्क साङपाङमा धेरै समानता छन् । तर सँगै केही भिन्नता पनि छन् । पक्कै पनि त्यो सहर र यो सहरको विशेषताहरू धेरै फरक छन् । यहाँ त्यहाँ जस्तो भूराजनीतिक अवस्था पक्कै पनि नरहला । तर डकुमेन्ट्रीले देखाएको जस्तो सहरको अवस्था जुनसुकै बेला जे कुराले पनि बिग्रिन सक्छ । यदि कुनै संवेदनशील मुद्दालाई पर्याप्त छलफल नगरी बढाउन खोजियो भने त्यसले ठुलो मूल्य चुकाउनुपर्ने अवस्था पनि ल्याउन सक्छ । 

ती मेयर जस्तै यी मेयर जनताको प्रिय छन् । सबैसँग नजिकिन्छन् । तर पत्रकारिताबाट भाग्छन् । प्रश्नहरूको जवाफ भरसक नदिन खोज्छन् । आफू मात्र सही हो भन्ने कुरा बेलाबेला पार्न चाहिरहन्छन् । तीनले अरूको कुरा पनि सुन्नुपर्छ । 

एउटा दृश्यमा राजधानी फेरिएलगत्तै कसरी प्रतिक्रिया जनाउने भन्ने कुरामा मेयरको टिमसँग छलफल भइरहेको हुन्छ । उनको एक महिला सहयोगी कुनै प्रस्ताव ल्याउँदै त्यसले राजनैतिक सन्देश जाने कुरा बताउँछिन् । उनलाई सम्झाउँदै मेयर भन्छन् ‘हाम्रो भूमिका नगरपालिकाको सेवाहरू दिने कुरामा हो राजनैतिक सन्देश दिने कुरामा हैन ।’

उनीहरू बेलाबेला मेयरले धान्ने भन्दा धेरै राजनैतिक सन्देश दिन खोजिरहेका हुन्छन् । तर हामीलाई चाहिएको खास सन्देश त नगरपालिकामा उनीहरूले गरेको कामको हो । धरानमा हर्कले ल्याएको पानीको हो । काठमाडौँमा बालेनले टेकु वरपर हिँड्न लायक पारेको प्रगतिको हो । 

अनि सँगै यो पनि हो कि हामीले पाएको जस्तो वातावरण संसारका धेरै नगरहरूले पाएका छैनन् । यो अवसरलाई किन प्रयोग नगर्ने ?

@SurajWritesNP

मेयर डकुमेन्ट्रीको ट्रेलर :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *