कोशी प्रदेशको बजेट अधिबेशन अन्त्य, अध्यादेश मार्फत बजेट आउने
विराटनगर । कोशी प्रदेशको बजेट अधिबेशन अन्त्य भएकोे छ। बुधबार प्रदेश सभाबाट नीति तथा कार्यक्रम प्रस्तुत भएसँगै प्रदेश सरकारको सिफारिसमा कोशी प्रदेश सभाको बजेट अधिबेशन अन्त्य भएको हो ।
आगामी आर्थिक बर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले वाचन गरेर २० मिनेट स्थगित भएपछि बसेको प्रदेश सभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने भनिएको थियो । असार १ गते बजेट ल्याउने तयारी भईरहँदा कोशी प्रदेश सभाको बैठक अन्त्य भएको हो ।
नेकपा माओवादी केन्द्रले बजेट ल्याउनै लाग्दा सरकार छाडेपछि अलमलिएको नेकपा एमाले नेतृत्वमा रहेको हिक्मतकुमार कार्की नेतृत्वको सरकारले बजेट अधिबेशनको अन्त्य गरेको हो । बजेट अधिबेशनको अन्त्यसँगै कोशी प्रदेशमा अध्यादेशबाट बजेट आउने भएको छ ।
नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको छ। कोशी प्रदेश सरकारले आगामी असार १५ गतेसम्ममा विश्वासको मत लिईसक्नु पर्ने बाध्यात्मक ब्यवस्था रहेको छ ।
आगामी आर्थिक वर्षको बजेट असार १ गते भित्रै ल्याउनु पर्ने संबैधानिक ब्यवस्था अनुसार प्रदेश सभाको अधिबेशन अन्त्य गरि आगामी आर्थिक बर्षको बजेट अध्यादेश मार्फत सरकारले ल्याउन लागेको हो ।
सरकार अल्पमतमा परेपछि प्रदेश सभाबाट बजेट ल्याउँदा बजेट फेल हुने भयले सरकारले अध्यादेश मार्फत बजेट ल्याउन लागेको हो ।
कोशी प्रदेश प्रमुखको कार्यलयले एक विज्ञप्ती जारी गर्दै कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार मन्त्री परिषदको मिति २०८० जेठ ३१ गतेको सिफारिसमा आज मध्यराती १२ बजेदेखि प्रदेश सभाको चालु दोश्रो तथा बजेट अधिबेशन अन्त्य भएको उल्लेख गरिएको छ।