हिसान एडुफेयर आजबाट सुरु, सभामुख घिमिरेले गरे उद्घाटन
काठमाडौँ । कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौँ संस्करण बिहीबारबाट सुरु भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले एक समारोहका बीच उक्त मेलाको उद्घाटन गरेका छन् ।
भृकुटीमण्डप प्रदर्शनी हलमा शुरु भएको मेलामा एसईई र कक्षा १२ को परीक्षा दिई नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरिएको आयोजक संस्थाले जनाएको छ ।
आयोजनकका अनुसार असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहनेछन् । मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताएका छन् ।
उनले अहिले संसद चालु रहेकाले सरकारले छिटो ढंगबाट संघीय शिक्षा ऐन ल्याउने आशा गरेको बताए । सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भुमिका निर्वाह हुनुपर्ने बताए ।
उनले देशमै विद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरु महत्वपूर्ण हुने बताए । उनले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरु आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उल्लेख गरे ।