मकालु रिभ्यु

हामीले संवाद काट्नु भनेको फिल्म यही हो ? यही ?

२०८० सालमा हेरेकोमध्ये हालसम्मकै कमजोर फिल्म हेरेर भर्खरै घर आएँ ।

कमजोर फिल्मको बारेमा किन लेखौँ भन्ने पनि सोचेको हो । तर भित्र कतैबाट एउटा मानवता हुर्किएर आयो । सधैँ राम्रो लागेको फिल्मको बारेमा लेखिरहेको मलाई अचानक सामाजिक कार्य गर्न मनलाग्यो । यो फिल्म हेर्न जाने तयारी गरेकाहरूलाई आफूले भोगेको दुःख पोख्न मन लाग्यो ।

राम्रो चिज हेर्नु भनेजत्तिकै ठुलो काम नराम्रो चिज नहेर्नु भन्नु पनि हो । तर यी दुबैमा पढेर मूल्याङ्कन गर्ने अनि आफ्नो निर्णय गर्ने अधिकार पाठक दर्शकमा रहन्छ नै ।

फिल्म हेरिसकेपछि सोचेँ ‘के यही फिल्म हो जसको संवाद काट्नुपर्‍यो भनेर बालेनले सामाजिक सञ्जाल तताएको ?’ त्यो पनि नेपालको सेन्सरले काट्ने भनिसकेपछि ? उनले आवेगमा आएर लेखे कि कसरी लेखे उनी नै जानुन् । खराब प्रचार पनि प्रचार नै हो भन्ने जमानामा त्यसले सायद फिल्मलाई नै फाइदा भयो ।

तर उनले संवाद काट्नु भनेर जति पनि बहस आएको छ र त्यसले जतिलाई पनि सीता हाम्रै हुन् भन्ने बनायो लागेको छ त्यो केवल क्षणिक कुरा मात्र हो । हामीले पटक पटक देखेको कुरा हो हामी नेपालीको मात्र हैन दक्षिण एसियाकै पनि पब्लिक मेमोरी छोटो छ ।

हामीले कस्ता कस्ता ठूलाठूला विषय त बिर्सिएका छौँ, यो त सानो भावनात्मक कुरा न हो । खासमा सीता कहाँकी हुन् भनेर ठुलो आवाजमा भन्ने तरिका अर्कै छ । सीताको बारेमा गरिने अनेक विवेचना होलान् । उनको चरित्रको बारेमा गरिने अध्ययनहरू होलान् । ती अध्ययनहरू जसलाई विश्वले सुनोस् । उनी जन्मिए हुर्किएको ठाउँलाई विकसित बनाउने कुरा होलान् । त्यहाँ पुग्ने बाटो वा एयरपोर्ट बनाउने कुरा होलान् । सीताको गाउँमा अहिले पनि सीताकै जस्तो अवस्था भोगिरहेका अनेकौँ सीताहरू पो छन् कि ?

जसरी बुद्ध हाम्रोमा जन्मिएका हुन् भनेर भन्नुभन्दा पनि ठुलो काम बुद्धको सिद्धान्तलाई लागु गर्नुमा छ । उनले भनेको ‘लोभ’ र ‘क्रोध’ लाई कम गर्नुमा छ । उनले भनेको ‘दुःखको कारणहरू’ लाई निर्मूल पार्नुमा छ ।’

खैर यो विषयमा धेरै के लेखौँ । विचारक आहुतिले भनेको बरु सम्झिन मन लाग्यो । उनले कतै भनेथे ‘समाजलाई ज्योति मगरले फैलाएको अश्लीलताले भन्दा धेरै असर नारायण गोपालले गाएको ‘म मातिएको बेला’ गीतले गर्छ ।’ मैले लेख्न खोजेको विषय यो हैन । त्यसैले अहिलेलाई यति नै ।

रामायणमा आधारित यो फिल्म बन्दै छ भन्ने बेलादेखि नै म उत्साहित थिएँ । रामायण सानोमा हेरेको । त्यसका अनेक पात्रले प्रभाव पारेका थिए । त्यहाँ भएका विशिष्ट साहित्यले उ बेला धेरै नबुझ्दा पनि मनलाई हिर्काएको थियो । हुर्किँदै जाँदा रामायणका प्रसङ्ग पाठ्यक्रमहरूमा पनि आइपुगे । अहिले सोच्दा पाठ्यक्रममा पनि सीताको पतिव्रता धर्म जाँच गरिसकेर राम बालीकी श्रीमतीलाई पाठ पढाउन आएछन् । उनी मर्यादापुरुष हुन् उनी आउन पनि सक्छन् । हाम्रोमा पनि आधुनिक मर्यादापुरुषहरू पक्कै पनि टन्नै छन् ।

अहिलेका आधुनिक मर्यादापुरुषहरूसँग आफूलाई सच्याउने भन्दा धेरै अरूलाई सिकाउने कुरा हुन्छन् ।

ती सबैथोकबाट गुज्रिएको र धेरै थोरै कथा थाहा पाइसकेको मान्छेलाई त्यही विषयमा बनेको फिल्मले तान्ने के के तरिका हुन सक्छन् ? त्यो अहिलेको समयमा यो फिल्म बनाउनुको सान्दर्भिकता हुनसक्छ । वा त्यहाँ भएका चरित्रहरूको कुनै फरक प्रकारको विवेचना हुनसक्छ । वा त्यही कुराको पनि रोचक प्रस्तुतीकरण हुन सक्छ । वा नयाँ प्रविधिमा बनेको भएर त्यसले दिने नयाँ नयाँ सर्प्राइजहरू हुन सक्छ ।

तर फिल्म हेरिसकेपछि म ती सबै कुराबाट विमुख भएँ । एकाध स्थानमा अत्यधिक लाउड भए पनि संझनलायक पार्श्व ध्वनि अनि एकाध रोचक दृश्यहरू बाहेक फिल्ममा नयाँ केही पनि छैन । भिएफएक्स हेरौँ भने त्यो लगभग युद्धमा बनेका धेरै सिरिजहरूले देखाइसकेको कुरा हो । भारतमै पनि ‘बाहुबली’ फिल्मले जुन मानक बनाएको छ त्यही मानकको आधाउधि पनि यो फिल्म पुगेको छैन । (बाहुबलीमा उड्ने आगोको गोला यहाँ पनि बेलाबेला उड्छन् ।)

फिल्मको सबैभन्दा कमजोरी भनेकै यसको लेखन हो । प्रविधि हेर्दा यो अहिलेको समयको कथा जस्तो लाग्छ । संवादले पनि त्यही छनक दिन्छ । तर कथामा फेरी त्यही भइरहेको छ जुन सत्ययुगमा भएको हो भनेर हामी मान्छौँ ।

त्यही राजा । त्यही राजाको छोराको त्याग । त्यही महिलाको कमजोर चित्रण । त्यही राक्षसको एकोहोरो राक्षसीकरण । अनि उसको लागि लडाई लडिदिन तयार बानरसेना । उही हनुमान । (कस्तो रोचक भने अहिले पनि रामहरू छन् अनि हनुमान त हुने नै भए ।)  अझ हुँदाहुँदा रावणलाई त यति क्रूर देखाइएको छ कि मानौँ उसले गर्दा नै पृथ्वीमा सबै थोक खराब भएको हो ।

हाम्रो समाजले यतिबेला एउटालाई विशिष्ट हिरो र अर्कोलाई विशिष्ट भिलेन खोजेको छ । एउटालाई प्रशंसा गर्नलाई अर्कोलाई गाली गर्नुपर्ने । कस्तो बिचरा प्रशंसा अनि कस्तो लाचार गाली । भारतीय जनता पार्टीको उदयपछि भारतले पनि पटक पटक कसैलाई हिरो अनि कसैलाई भिलेन खोजिरहेको छ । हिरो खोज्नेहरूले भिलेनलाई यति भयानक भिलेन बनाउन खोजेका छन् कि भनेर साध्ये नै छैन । नेपालमा पनि हिरो बनाउनलाई भिलेन खोज्ने क्रम जारी नै छ । अहिलेको सन्दर्भमा आदिपुरुष पनि त्यही हिरोको खोजीको निरन्तरता हो ।

रामायण कृतिका आफैँमा धेरै समस्या छन् । त्यहाँ महिला र पुरुष प्रतिको धेरै कुरा असमान छन् । हामीले सीता हाम्री छोरी हुन् भनेर भनिरहँदा गर्न छोडेको एउटा बहस यो पनि हो । रामायणमा सीताको भूमिकाको नयाँ नयाँ कोणबाट विवेचना । सीता सधैँ किन अपहरणमा पर्छिन् । उनले किन अग्निपरीक्षा दिनुपर्छ । उनले किन आफूलाई पटक पटक प्रमाणित गर्नुपर्छ । उनको कथालाई उनको कोणबाट पुनर्लेखन कहिले गर्ने ?

यो फिल्मलाई यी सबै कुरामा मतलब छैन । बरु उनलाई मनपरेको भनेर खेद्न पठाएको हरिण खेद्न गएको दृश्यलाई धेरैबेर देखाउनु छ । यही सन्देश दिन कि सीता त महिला हुन् । उनलाई लोभलाग्दो हरिणले नै तानिरहन्छन् । 

हामीले शिक्षा तथा स्वास्थ्यमा लगानी नगरी केवल भ्युटावरहरूमा पैसा खन्याएको जस्तै भएको छ यो फिल्मको प्रविधिमा खन्याइएको पैसा । यही उदाहरणमा धेरै नेपाली फिल्महरूलाई पनि जोड्न मिल्छ जो एउटा गीत सुटिङको लागि भनेर लाखौँ खर्च गरेर देश विदेशका लोकेसनमा पुग्छन् तर त्यही फिल्मको फितलो कथा अनि संवादलाई बनाउन लेखकलाई केही लाख दिन भने कन्ज्युसाँई गर्छन् । जुन कुरा गुदी हो त्यसमा लगानी नगर्ने अनि जुन बोक्रा हो त्यसलाई चिल्याइरहने समस्याबाट यो फिल्म पनि मुक्त छैन । 

फिल्मका संवाद निरश छन् । कतिपय त झर्को लाग्ने पनि छन् । पुरानो रामायणमा बरु उनीहरूले पाएका हरेक शक्तिको पृष्ठभूमि खुल्थ्यो । कुनै शक्ति किन छ भनेर कारण थाहा हुन्थ्यो । त्यो शक्तिले अर्को शक्तिसँग किन भिड्छ वा कुनै नराम्रो शक्तिले राम्रो (यो राम्रो पनि विषयगत कुरा हो) शक्तिसँग किन हार्छ को तर्क पनि हुन्थ्यो । चरित्रहरूको पृष्ठभूमि हुन्थ्यो । त्यसले तीनको सम्बन्धलाई बुझ्न मद्दत गर्थ्यो । तीनको द्विविधालाई बुझ्न सघाउँथ्यो । 

यहाँ त्यस्तो केही हुँदैन । आफ्नै भाइ मरेको बेलामा पनि रामको चरित्रलाई खासै केही हुँदैन । यस्तो लाग्छ कि रामलाई हनुमानले पहाड उठाएर सञ्जीवनी ल्याउँछन् भन्ने थाहा छ । अनि हनुमान सञ्जीवनी बुटी लिन जाँदा ‘ला भेट्छन् कि भेट्दैनन् होला’ भन्ने अलिकति पनि लाग्दैन । 

चरित्रहरूको शक्तिको आँकडाबारे धेरै थाहा नहुँदा युद्धका धेरैजसो दृश्यहरू कमजोर छन् । एक त सङ्ख्याको आँकलन पटक पटक फरक पर्छ । त्यसपछि चरित्रहरूको साइज कस्तो छ भन्ने कुरामा पनि निरन्तरता भेटिँदैन । 

अब कति लेखौँ ? 

यति लेखिसक्दा पनि मलाई अझै लागिरहेको छ के हामीले यो फिल्मको संवाद काट्न लगाएर सीता नेपालकी हुन् भनेर लडाई लड्यौँ ? यही फिल्म ? 

@SurajWritesNP

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *