योजना छनोटको लागि मेल्लेख गाउँपालिका अध्यक्ष साउद वस्तिमा

अछाम । संघीय सरकार र प्रदेश सरकारले बजेट ल्याएसँगै मेल्लेख गाउँपालिका पनि बजेट पूर्व तयारीमा जुटेको छ । बजेट पूर्व तयारीसँगै चालु आर्थिक वर्षको अन्त्यमा आइपुगेकाले जनप्रतिनिधि चालु आवमा भएको कामको अनुगमन तथा समीक्षा पनि गरिरहेका छन् ।

स्थानीय तहहरूले १० असारमा बजेट ल्याइ सक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । १० असार अघि नै नीति कार्यक्रम ल्याउने छन् । त्यसै अनुसार मेल्लेख गाउँपालिकाका जनप्रतिनिधिहरू आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेका छन् । मेल्लख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद, उपाध्यक्ष नृपबहादुर खड्का, विषयगत शाखाका प्रमुखहरू वडामै पुगेर आगामी आर्थिक वर्षका योजनाको लागि छलफलमा जुटेका हुन् ।

दिगो विकासको लागि स्थानीय सहभागितालाई अनिवार्य शर्त राखेर वडामै पुगेर आगामी आर्थिक वर्षको लागि योजना छनोट गर्ने कार्य सुरु गरिएको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले जानकारी दिए । उनकाअनुसार जनताको आवश्यकताका आधारमा वडाबाट आएका योजनालाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण गरिनेछ ।  सबै वडाबाट योजना प्राप्त भएपछि प्राथमिकीकरण गरिने अध्यक्ष साउदको भनाई छ ।

स्थानीय तहले जनप्रतिनिधि पाएपछि नीति नियम अनुसार जनसहभागिता मूलक गराएर सुशासन र पारदर्शिता कायम हुने गरी योजना छनोट गरिने अध्यक्ष साउदको भनाई रहेको छ । उनले शुक्रबारबाट सुरु भएको भेलामा वडाका सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, पूर्व जनप्रतिनिधि लगायत सरोकारवालालाई सुझावको लागि आमन्त्रण गरिएको बताए । वडातहमा योजना छनौट र प्राथमिकीकरण काम सम्पन्न भएपछि त्यसैका आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयार गरिनेछ ।

आगामी आर्थिक वर्षका लागि खुद्रे भन्दा ठोस योजना ल्याउने अध्यक्षको रहेको छ । नागरिकबाट योजना छनोट गर्दा त्यस क्षेत्रको वास्तविक आवश्यकताका योजना छनोट हुने उहाँको भनाइ छ । जनताबाट अति आवश्यक पर्ने योजना छनोट गर्न लगाएर योजना ल्याइने बताए । यद्यपि, गत वर्षको तुलनामा बजेट कम आएको र स्थानीय तहमा विकासको चाहना र आवश्यकता बढी भएकाले त्यसको संयोजक गर्न कठिन देखिएको उनको भनाई छ ।

मेल्लेख गाउँपालिका वडा नं ४ कुष्कोटका वडा अध्यक्ष चन्द्र साउदले टोल भेलाबाट प्राथमिकिरण भएर आएका योजनालाई वडा भेलाले प्राथमिकता दिने जानकारी दिए । टोल, बस्तीमा पुगेर स्थानीयका योजना लिने काम वडाबाट सम्पन्न भएको उनको भनाई रहेको छ । उनकाअनुसार टोलमा भएको छलफलपछि आएका विकासका चासो आवश्यकता र बजेटको उपलब्धता अनुसार प्राथमिकतामा राखिनेछ ।

मेल्लेख गाउँपालिका निवर्तमान उपाध्यक्ष धनबहादुर शाहले गाउँपालिका अध्यक्ष आफै वस्तिमा आएर योजना छनोट गर्ने कार्य सह्रानीय रहेको बताए । उहाँले गाउँपालिका अध्यक्ष आफै बस्तीमा आउँदा जनताको आवश्यकताका आधारमा योजना छनोट हुने विश्वास व्यक्त गरे । यो कार्यले भनसुनबाट आउने परिपाटीको अन्त्य हुने समेत धारणा व्यक्त गरे

मेल्लेख गाउँपालिकाले शुक्रबार वडा नं ४ कुष्कोट र वडा नं ८ हात्तिकोटमा योजना तर्जुमा सम्बन्धी पूर्व तयारी वैठक सम्पन्न गरेको छ । शनिबार वडा नं १ गोपालेगाउँ र २ डाडांसिरी ऋषिदह, असार ३ गते ठाटी, असार ५ गते वडा नं ६ शोडषा र वडा नं ७ नन्देगडा र असार ६ गते वडा नं ५ विन्देवासिनीमा योजना तर्जुमा सम्बन्धी पूर्व तयारी वैठक आयोजना गरिने प्रमुख प्रशासकीय अधिकृत धु्रर्वप्रसाद सापकोटाले जानकारी दिए । विकासका विभिन्न चरणमध्ये योजना छनोटदेखि विकास योजनाको अनुगमनसम्म जनसहभागिता सुनिश्चित गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *