मनसुन भित्रिएको पाँच दिन नबित्दै पूर्वमा वितण्डा
काठमाडौँ । मनसुन भित्रिएको पाँच दिन नबित्दै पूर्वमा बाढी पहिरोले वितण्डा मच्चाएको छ । बाढी र पहिरोमा सङ्खुवासभा, ताप्लेजुङ र पाँचथारमाधनजनको क्षति भएको हो ।
त्यहाँ अहिलेसम्म ३१ बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख अन्जनी पोखरेलकाअनुसार सङ्खुवासभामा २२ जना ताप्लेजुङ्मा ४ जना र पाँचथारमा ५ जना बेपत्ता भएका हुन् । सङ्खुवासभाको हेवाखेलामा गएराति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ ।
गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा-१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ-७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम-४ हेवाखोलाबाट एक जना रहेका छन् । ताप्लेजुङमा एकैघरका ३ सहित चार जना बेपत्ता भएका छन् ।
नेपालमा यहि १४ तारिखका दिन मनसुन भित्रिएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको हो ।