थेरापीजस्तो कत्थक

आश्मा खड्का एक वर्षे बालककी आमा हुन् । केही समय अगाडिसम्म घर र जागिर सम्हाल्दा र बच्चाको हेरचाह गर्दा नै उनको दिन ढल्थ्यो । उनलाई आफ्नो ख्याल गर्ने समय निकाल्न कठिन थियो । बच्चा हुर्कँदै गएपछि भने उनले आफ्नो लागि केही समय पाउन थालिन् । त्यही मौकाको सदुपयोग गर्छु भन्ने सोचेर उनले जागिरबाट पनि समय निकालिन् अनि अनामनगरस्थित एस्थेटिक डान्स स्टुडियोमा कत्थक नृत्य सिक्न थालिन् । 

त्यहाँ जान थालेपछि उनको दैनिकी फेरिएको छ । बच्चा हुर्काउने क्रममा थिग्रिएर बसेका अनेकौँ शारीरिक र मानसिक पीडाहरूले विश्राम लिने ठाउँ पाएको जस्तो भएको छ । उनलाई आफ्नो जीउ नै हलुका लाग्न थालेको छ । उनी भन्छिन्, ‘मेरो लागि कत्थक नृत्य मात्रै होइन थेरापी जस्तै बनेको छ। जीवनमा आइपर्ने अनेक प्रकारका यातना भुलाउने साधन बनेको छ ।’

कत्थक सिक्नेक्रममा विभिन्न रागहरूको लयमा उनी शरीर चलाइरहेकी हुन्छिन् । शारीरिक चालमा बाहिरी सन्सारलाई भुलिरहँदा उनलाई आफू पहिलाभन्दा खुसी भएको महसुस हुन्छ । बल्ल आफ्नै लागि भनेर केही गर्दैछु भने जस्तो लाग्छ ।  उनको लागि कत्थक कक्षा आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्न चाहिने आवश्यक ‘सेल्फ-केयर’ को माध्यम पनि बन्न पुगेको छ । दिनदिनैको घरेलु काम र जागिरले थकित र दिक्क भएकी उनको एकोहोरो जीवनमा कत्थकले सकारात्मक परिवर्तन र नयाँ ऊर्जा ल्याएको छ। 

कुनै पनि प्रकारको नृत्यले व्यक्तिमा शारीरिक र मनोवैज्ञानिक फाइदाहरू अवश्य गर्दछ। कत्थकमा पनि स्वाभाविक रूपमा थेराप्युटिक फाइदाहरू छन् किनभने यसको चालमा भावनात्मक शक्तिलाई सुधार गर्ने र बढाउने क्षमता हुन्छ । यसको द्रुत खुट्टाको चालले मन र शरीरबाट तनाव र क्रोध हटाउन मद्दत गर्दछ। त्यति मात्र होइन, सुन्दर र मनोहर हातको चालले हाम्रा भावनाहरू व्यक्त गर्न र आफूभित्र सुन्दरता खोज्न सहयोग गर्छ।

आस्मा भन्छिन्, ‘हप्तामा तीन पटक हुने एक घण्टाको नृत्य कक्षा मेरो लागि धेरै आवश्यक समय बन्न पुगेको छ । कक्षाको समयमा, व्यक्तिगत र व्यावसायिक जीवनमा आइपरेका तनावहरू सबै भुल्ने गर्दछु ।’ 

उनको जस्तै अनुभव रमिला (नाम परिवर्तन) को पनि छ । उनी मानसिक रूपमा अस्वस्थ भएको कारणले मनोचिकित्साकहाँ सदैव जाने गर्थिन् । त्यसरी नियमित प्रयास गर्दा पनि मानसिक स्वास्थ्यमा सोचेजस्तो सुधार नआएपछि उनले कत्थक कक्षा पनि लिने बारेमा सोचिन् । त्यसरी एस्थेटिक डान्स स्टुडियोमा आइपुगेकी उनलाई कत्थकको कक्षा लिन थालेपछि  छुट्टै किसिमको आत्मविश्वास पलाएको छ । उनको कठोर  मानसिक अस्वस्थता पनि बिस्तारै सहज हुन थालेको छ ।  

मैतीदेवी काठमाडाैँमा बस्ने २८ वर्षीय आस्मा पौडेल पेसाले शिक्षिका हुन् । उनी पनि बालपनको कलिलो उमेर देखि नाच्न भनेपछि हुरुक्कै हुन्थिन् । स्कुल पढ्दादेखि नै उनले आफूलाई अगाडि बढाएर जसरी भए पनि नृत्य प्रस्तुत गर्नै पर्छ भन्दै प्रेरित गर्थिन् । विद्यार्थी जीवन टुङ्गिएपछि पौडेलमाथि घर, परिवार र कामको जिम्मेवारी बढ्दै गयो। पहिलाको जस्तो नृत्यमा खासै सामेल भइनन् । जीवनमा केही कुराको अपुग नभए पनि कहीँ नपुगे नपुगे जस्तो भयो । 

लकडाउनको समय थियो । फुर्सदको कमी थिएन । यसै खाली समयमा पौडेलले पनि कत्थक कक्षा सुरु गरिन् । घुङरुको आवाज एकदम मनपर्ने उनले कत्थक सिक्दै आफ्नो नृत्यप्रतिको लगाव पुनः जीवित पारिन् । बिहान ८ देखि दिउँसो ३ बजेसम्म पढाएर उनी कत्थक नृत्य कक्षा पुग्थिन् । त्यसपछि साँझमा फेरि १/२ घण्टा होम ट्युसन पढाउँथिन । घर र कामको व्यस्तताका बावजुद पनि कत्थक नृत्य सिक्ने अठोटलाई उनले मर्न दिइनन् ।

भन्छिन्, ‘कत्थकले मेरो जीवनमा पूर्णता दिएको छ। नृत्य कक्षामा बिताएको समय मलाइ आफ्नो लागि आफ्नो आत्मसन्तुष्टि र  आत्म-हेरचाहको लागि केही गर्दैछु जस्तो लाग्छ । यसले मलाइ भावनात्मक रूपमा सन्तुलित पनि बनाएको छ । कत्थक नाचको  माध्यमबाट म अनेक प्रकारका माया, क्रोध, करुणाका भावना व्यक्त गर्न सफल भएकी छु ।’ 

कत्थक कक्षा लिइरहेकी कामना राईको पनि उस्तै अनुभव छ । ‘कत्थक नृत्य गर्दा दैवी नारी शक्तिसँग पुनः जोडिएको महसुस भएकाे छ,’ उनी भन्छिन्, ‘मेरो नारी पक्षलाई प्रज्वलित गर्न, म कत्थक नृत्य कक्षामा प्रवेश गरेँ ।’ 

उनी आफैँमा फ्रीस्टाइल नृत्य शिक्षिका हुन् । तर एक घण्टाको कत्थक नृत्य कक्षाले उनलाई सकारात्मक माहौल दिन्छ ।

‘कत्थक नृत्यका द्रुत फुटवर्क (तत्कार), हात इशाराहरू (हस्त-मुद्रा), र द्रुत चक्करहरू बारम्बार अभ्यास गर्दा गहिरो ध्यान केन्द्रित गर्नुपर्ने हुनाले कत्थक नृत्य मलाइ ध्यान गरेझैँ महसुस हुन्छ ।’ 

‘तत्कार, हस्त मुद्रा र चक्कर  कत्थक नृत्यका महत्त्वपूर्ण पक्षहरू हुन् जसले कत्थकमा थेराप्युटिक मूल्य थप्छन् । कत्थकका विभिन्न इशाराहरू, नजरहरू, अभिव्यक्तिहरू र शारीरिक चालहरू द्वारा मानिसलाई आफ्ना विभिन्न प्रकारका भावना व्यक्त गर्न सक्षम बनाउँछ । मेरो हृदयभित्र गहिरो जरा गाडेर बसेका दुःख र क्रोधका भावनाहरू बिस्तारै तत्कार, शारीरिक चाल र अनुहारको हाउभाउ मार्फत शरीरबाट बाहिर बहन्छन् । यस कारण कत्थक नृत्य कक्षा पश्चात मलाई पनि भित्रैबाट शान्त र हल्का महसुस हुन्छ,’ कामना बताउँछिन् ।

कत्थक, उत्तरी भारतमा उत्पत्ति भएको भारतीय शास्त्रीय नृत्य हो । द्रुत फुटवर्क (तत्कार), हात इशाराहरू (हस्त-मुद्रा), र द्रुत गोलाकार गोलहरू (चक्कर) यसका विशेषता हुन् । मनोहरता, इशारा, चाल र रूपद्वारा कत्थक नृत्यले मन, शरीर र आत्माको सुन्दर संयोजन गराउँछ ।

‘कत्थक शास्त्रीय नृत्य भएकाले घुङरु लगाएर फिल्मी गानामा नाच्दैमा कत्थक नृत्य हुन्छ भन्न मिल्दैन,’ नृत्य आँगन झम्सिखेलकी गुरु सुबिमा श्रेष्ठ भन्छिन्, ‘आध्यात्मिक मान्यता बोकेको हुनाले कत्थकलाई बुझ्न निकै गहिराइमा जानुपर्छ। जति यसको चिन्तन मनन गर्दै अभ्यास गरिन्छ, त्यति यसको गहिराइमा पुग्न सहज हुन्छ ।’

कत्थकले थेरापीको काम गर्छ कि गर्दैन भन्नेमा आफूले स्पष्ट भन्न नसके पनि यसले भावनात्मक अभिव्यक्तिलाई मद्दत गर्ने भएकाले त्यसले मानिसलाई सहज बनाउने उनको ठम्याइ छ । 

यो नृत्य गर्दा दुवै खुट्टामा लगभग एक एक किलो तौल हुने सयौँ घुङरुका दाना बाँधेर खुट्टामा लगाइन्छ जसले डान्सरहरूको शरीरलाई सन्तुलनमा राख्न प्रभावकारी भूमिका खेल्छ । घुङरुको झनझन र मनमोहक आवाजले डान्सरहरूलाई सङ्गीतको धुनमा रहन, लयमा रहन, नाचलाई बढाउन र यसको भव्यता थप्न मद्दत गर्छ ।

कामना भन्छिन्, ‘जब म मेरो कत्थक कक्षामा गएर सयौँ घुङरु, अनारकली, झुम्का र चुरा लगाएर कत्थक सिक्छु, तब म आफ्नो नारीत्वमा एकदमै शक्तिशाली र सुन्दर महसुस गर्छु ।’

आत्म-हेरचाहको अर्थ स्वार्थी हुनु पक्कै होइन । डब्लुएचओले, स्वास्थ्य कार्यकर्ताको सहयोगमा वा सहयोगबिना स्वास्थ्य प्रवर्द्धन गर्न, रोग रोक्न, स्वास्थ्य कायम राख्न र रोगसँग लड्न व्यक्ति, परिवार र समुदायको क्षमताको रूपमा आत्म-हेरचाहलाई परिभाषित गर्दछ । विभिन्न पृष्ठभूमिका महिला र पुरुषहरू एकसाथ जम्मा भएर कत्थक सिकिरहँदा अनि स्टुडियोमा रचनात्मक र सकारात्मक वातावरणमा रहिरहँदा त्यसले पक्कै पनि सकारात्मक ऊर्जा प्रदान गर्छ नै । अनि सँगै भएर स्टुडियोमा बिताएका पलहरूले सबैलाई कोलाहल, अराजकता र तनावबाट मुक्त भएर छट्टै आयाममा प्रवेश गरेको जस्तो महसुस गराउँछ। त्यसको फाइदा नाच्नेलाई मात्र नभएर सिकाउनेलाई पनि हुन्छ । 

‘कत्थक कक्षाद्वारा मेरा विद्यार्थीका जीवनमा आएका सकारात्मक प्रभाव देख्न र सुन्न पाउँदा मलाई एकदमै सुकुन महसुस हुन्छ। बिहान, दिउँसो र बेलुका निरन्तर कक्षामा सिकाइरहँदा पनि मलाइ कत्ति पनि थकान महसुस हुँदैन । मेरा विद्यार्थीका ऊर्जा र जीवनमा आएका सकारात्मक प्रभाव देखेरै ममा पनि उर्जा थपिन्छ ।’

एस्थेटिक डान्स स्टुडियोकी सञ्चालक नम्रता केसी बताउँछिन् ।

सबै फोटो क्रेडिट: सन्तोष बिसुन्खे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *