१८ औँ रोपाइँ महोत्सव डुम्रीबोटमा
पोखरा । १८ औँ संस्करणको रोपाइँ महोत्सव पोखरा १३ स्थित डुम्रीबोटमा हुने भएको छ । पोखरा सबै मौसमका लागि भन्ने नारा सहित पोखरा पर्यटन परिषद्ले हरेक वर्ष १५ असारमा रोपाइँ महोत्सव गर्दै आएको छ । खेतीयोग्य जमिन संरक्षण गर्दै लैजाने तथा कृषकलाई आफ्नो पेसाप्रति उत्प्रेरित गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागेको आयोजकले जनाएको छ ।
महोत्सवले कृषि पर्यटनमा प्रवर्द्धन गर्नुका साथै धानखेतीमा किसानलाई आकर्षित गर्न सहयोग पुग्ने अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । यसपालि ५ सय जनाभन्दा बढी विदेशी पर्यटक रोपाई महोत्सवमा उतार्ने लक्ष्य रहेको उनको जिकिर छ । महोत्सव सफल पार्न पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको १४ उपसमिति गठन गरिएको छ भने ४७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
महोत्सवमा हलगोरुको दौड, विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समाप्ने प्रतियोगिता लगायत प्रतिस्पर्धा हुने महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिए । यस्तै, नेपाली पुरुष, नेपाली महिला, विदेशी पुरुष, विदेशी महिला, पत्रकारको छुट्टाछुट्टै हिले दौड प्रतियोगिता हुनेछ । महिला र खुला इभेन्टमा रस्साकस्सी एवं हिलोमा घैँटो फुटाउने प्रतियोगिता समेत राखिएको सिग्देलले सुनाए ।